पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
फाइल फाेटाे काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो । गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । ‘विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ”, विमानस्थलका महाप्रबन्धक तिवारीले भने। अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै पाँच सय उडान भइरहेको बताए । उनले भने, ‘दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।’ विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले दुई हजार ६ सय ५१, श्री एयरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एयरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए । नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता छ । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ । नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो । उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गर्नुभएको थियो । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो । यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट शुरु भएको हो । रासस ।
दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र, निगमले पहुँचवालालाई मात्र टिकट दिने
कोहलपुर । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए । ‘टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु’ जेठाराले भने, ‘बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।’ स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् । निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । ‘यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो’, उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।’ यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताइन् । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । ‘एउटा उडानमा १७ सिट हुन्छ’, उनले भनिन्, ‘यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।’ रासस
यतीमा उड्ने यात्रुलाई उपहार नै उपहार, वासिङ मेसिनदेखि बाइकसम्म पाइने
काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विभिन्न उपहारहरु दिने घोषणा गरेको छ । यो योजना असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्म लागू हुने छ । यससँगै यो अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो । जुन पहिलो पुरस्कार हो । त्यस्तै, दोश्रो विजेताले जोडीलाई ब्याङ्कक एयर टिकेटस्, तेस्रो बिजेताले एलजी वासिङ मेसिन र चौथों विजेताले एसबीडी डायमण्ड एयर टप जित्ने एयरलाइन्सले जानकारी गराएको छ । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् । त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दशैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय-समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ । यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने समेत जानकारी गराइएको छ ।