सौराहामा ४५ करोडमा बनेको बनबास रिसोर्ट सञ्चालनमा, जोडीलाई एक दिनको १० हजार रुपैयाँ
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएको छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका-१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले नौ वर्षअघि रिसोर्ट निर्माणको सुरु गरेका थिए । बन्दै गर्दा संविधानसभा सदस्य एवं व्यवसायी उमेश श्रेष्ठ पनि जोडिएका थिए । यससँगै नेपालमा हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ ग्रुपसमेत यसमा जोडिएर रिसोर्ट सञ्चालनमा ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित सात वटा होटल विसं २०६८मा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकामा यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ । सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । उनका अनुसार ग्रुपका होटल, रेष्टुरेन्ट, बेकरी क्याफे, होटल व्यवस्थापनजस्ता हस्पिटालिटी क्षेत्रमा ३० वटा शाखा सञ्चालनमा छन् । न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यो होटल सहयोगी बन्ने बताए । रिसोर्ट निर्माणमा ४५ करोड खर्च भएको जानकारी दिँदै बनबास चितवन प्रालिका अध्यक्ष वासु ढङ्गानाले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताए । तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । ‘भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन् । सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ । रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ,’ उनले भने । रिसोर्टमा दुईवटा सभा कक्ष रहनाका साथै नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुराँ पनि छ । यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि चार सय डलरसम्म तिर्नुपर्छ । यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन् । आन्तरिक पर्यटक एक जोडीलाई १० हजार रुपैयाँमा एक रात बसाइँ र ब्रेकफास्टको सुविधा रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए । होटल आइतबार घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । रासस
भएका जहाज व्यवस्थापन गर्न नसक्ने मन्त्री किराती किन गर्दैछन् १० जहाज थप्ने स्टन्ट ?
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी जहाज बिग्रिएपछि नियमित उडान गर्दै आएको गन्तव्यका उडानहरु डिले तथा रद्द हुँदै आएका छन् । चाडपर्वको समयमा जहाज ग्राउण्डेड नै भएर उडान तालिका बिग्रिरहेका बेला विभागीय मन्त्रीका रुपमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती भने थप जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । विदेशी वायुसेवा कम्पनीले धमाधम उडान थप गरेर व्यापार गरिरहँदा विभागीय मन्त्रीले उडान व्यवस्थापनमा कुनै ध्यान नै नदिई स्टन्ट देखाउन नयाँ जहाज खरिद गर्ने गरेको निगमका अधिकारीहरु बताउँछन् । ‘निगमलाई कसरी हुन्छ नाफामुखी बनाउनु पर्ने जिम्मेवारी मन्त्रीको पनि हो, संकटको समयमा व्यवस्थापनमा कुनै चासो नदेखाएर बाहिर स्टन्टबाजी मात्रै गर्न थाले’, निगमका एक कर्मचारीले भने । गत सोमबार काठमाडौं–नारिता उडान गरेर फर्किएपछि निगमको (अन्नपूर्ण) एयरबस ३३० जहाज ग्राउण्डेड भएको छ । रुटिङ इन्फेक्सन (उडान साइकल) सकिनै लागेको भन्दै काठमाडौं–नारिता मात्रै उडान गर्दै आएको जहाज ६ दिनदेखि ग्राउन्डेड भएको हो । जहाजमा जडान गरिएकाे इन्जिनकाे ब्लेडहरूकाे रुटिङ इन्फेक्सन समयमै गर्न नसक्दा उडान साइकलमा सिमित बनेकाे थियाे । ६ दिनदेखि ग्राउन्डेड भएकाे उक्त वाइडबडी जहाजमा जडान गरिएकाे इञ्जिन निकालेर मर्मतको काम भैरहेको भन्दै ३/४ दिनमा उडान गर्ने निगमले जनाएको छ । निगमका एक क्याप्टेनले अहिले प्राविधिकले इन्जिन निकालेर अध्ययन गरिरहेको भन्दै छिट्टै उडान गर्ने आशा व्यक्त गरे । ‘विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान संख्या थपिरहेका छन्, भएका जहाजले नियमित उडान गर्न समेका छैनन्, ती क्यापटेनले भने, ‘एउटा जहाज बिग्रिँदा उडान सेड्युल नै प्रभावित भएर यात्रुलाई होटलमा राख्नुपर्दा खर्च मात्रै बढेको छ, भएका जहाज व्यवस्थापन गर्न सकिएको छैन, यसमै थप जहाज थप्ने विषय स्टन्ट मात्रै हो ।’ भएका जहाजलाई समयमै मर्मत गरेर चाडपर्वको सयममा नियमित उडानको तयारी गर्नुपर्ने समयमा विभागीय मन्त्री भने स्टन्टवाजीमा लागेको उनको भनाइ छ । ‘मन्त्रीलाई निगमको कुनै वास्ता नै छैन, किन जहाज उडेन भन्नेतर्फ मन्त्रीको ध्यान छैन, गर्ननसक्ने ठूला कुरामात्रै गरेर निगमलाई झन डुबाउने खेलमा मन्त्री लागेको देखिन्छ,’ उनले भने । पर्यटनमन्त्री किरातीले निगमले यसै वर्षभित्र थप १० वटा जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले निगमले १० वटा जहाज खरिद गर्ने उद्घोष गरेका हुन् । उनले नयाँ जहाज खरिदको प्रक्रिया दशैं अअघि नै सुरु गर्ने भन्दै छिट्टै निगमले थप नयाँ जहाज पाउने जानकारी गराए । मन्त्री किरातीले जहाजको संख्या कम हुँदा भाडा घट्न नसकेको र जहाज थप गर्दा भाडा घट्ने बताए । सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नु पर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको बिसंगतिलाई ्हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । पर्यटनमन्त्री किरातीको निगमले नै जहाज थपेर भाडा घट्ने भन्ने तर्क भने हास्यास्पद छ । निगमले भने मन्त्री किरातीले भनेजस्तो १० वटा जहाज खरिदको विषय जानकारी नभएको बताएको छ । ‘सुरुवाती चरणमा तीन वटा जहाज ल्याउने गरी निगमले तयारी अगाडि बढाएको छ, मन्त्रीले भनेजस्तो यसै वर्षभित्र थप १० वटा जहाज खरिदको प्रक्रियामा अहिलेसम्म कुनै जानकारी भएको छैन’, निगम स्रोातले भन्यो, ‘माथिल्लो निकायमा भएको होला, तर अहिलेसम्म आधिकारीक रुपमा कुनै जानकारी आएकोे छैन ।’ निगमका प्रवक्ता रमेश पौडेल आन्तरिक उडानका लागि निगमको आन्तरिक स्रोतबाट ३ वटा जहाज खरिद प्रक्रिया सुरु भैसकेको जानकारी दिए । ‘हाम्रो तयारी सुरुवाती चरणमा ३ वटा जहाज खरिद गर्ने थियो, सोही तयारी अनुसार आन्तरिक स्रोतबाट जहाज खरिद गर्नेगरी हामीले तयारी अगाडि बढाइसकेका छौं, हाम्रो तयारी यसै वर्षभित्र ल्याइसक्ने हो’, उनले भने ।
काठमाडौं–दिल्लीको भन्दा काठमाडौं–धनगढीको हवाई भाडा महँगो
सुदूरपश्चिम । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा सात हजार नौसय रुपैयाँबाट वृद्धि गरी सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, ‘काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा सत्र हजार रुपैयाँभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।’ चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए । ‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ’, उनले भने, ‘चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडाँै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।’ भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौँ–धनगढीको भाडादर १४ हजार सातसय एक रुपैयाँदेखि १७ हजार एकसय ८६ रुपैयाँ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम सात हजार नौ सय रुपैयाँ छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडाँैमा चारसय र धनगढीमा पाँच सय रुपैयाँ तोकिएको छ । धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । रासस