नयाँ गाँउ रिसोर्टको तिहार अफर, ३५०० रूपैयाँमा कपलका लागि ‘फूलबोर्ड प्याकेज’
काठमाडौं । पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको हो । उक्त अफर अन्तर्गत जोडीका लागि ३ हजार ५०० रूपैयाँमै डिनर, ब्रेकफास्ट र नाइटस्टे प्याकेज ल्याएको छ । एक व्यक्तिका लागि भने २ हजार ५०० रुपैयाँमा उक्त प्याकेज पाइने छ । त्यस्तै, रिसोर्टमा नाइटस्टे गर्ने गेस्टहरूका लागि विभिन्न एड्भेन्चर एक्टिभिटीमा ५० प्रतिशत भन्दा धेरै छुट दिनेछ । उक्त रिसोर्टबाट साराङकोटको प्राकृतिक सौन्दर्यसहित मनमोहक हिमश्रृंखला, फेवाताल, पोखरा उपत्यका, फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ । करिब २०० रोपनी क्षेत्रफलमा फैलियको रिसोर्टमा एग्रो टुरिजम तथा एड्भेन्चर गतिविधिको आनन्द लिन सकिन्छ । अग्र्यानिक खानाको साथै रिसोर्टमै पालेको कालिज, लोकल कुखुरा, खसीबोका, खरायो लगायतको मासुबाट बनेको उत्कृष्ट परिकार पाइन्छ । साथै, स्थानीय गाईभैँसीको दही, घिउ, महीको स्वाद लिन सकिने छ भने रिसोर्टको फर्ममै उत्पादन भएको मह समेत खान सकिन्छ । ९ वटा छुट्टा छुट्टै भिल्ला, रेस्टुरेन्ट, टी–हाउस रहेको रिसोर्टमा ५० जनासम्म सजिलै बास बस्न सकिनेछ । रिसोर्टको अन्य आकर्षणको रूपमा सिंगल स्वीङ, एरोप्लेन स्वीङ, स्काईट्री वाक, रेन्बो ब्रिज जस्ता एड्भेन्चर कार्य गर्न सकिन्छ । बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क समेत रहेको उक्त रिसोर्टमा प्राकृतिक रूपमा बनेको एड्भेन्चर गुफा, बाघको ओडार लगायत अवलोकन गर्न सकिन्छ ।
भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताए। बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो ।
बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा
तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो । बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ । दूध र चीजका लागि पछिल्लो समय कृषकबाट सानन जातका बाख्राको माग अत्यधिक भइरहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । बाख्राको दूधबाट बनेको चीज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ । सानन जातको बाख्रा तनहुँसहित बत्तीस जिल्लामा निर्यात र करिब बाइस जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको सो कार्यक्रमले जनाएको छ । पोखराको लेकसाइड र काठमाडौँका होटलमा चीजको राम्रै माग भइरहेको कार्यक्रम संयोजक राजु कँडेलले जानकारी दिए। याक र गाईबस्तुको दूधबाट बनेको चीजको तुलनामा बाख्राको दूधबाट बनेको चीज गुणस्तरिय र मिठो हुने भएकाले बाख्राकै दूधबाट बनेको चीज खोज्ने गरेको उनले बताए । पछिल्लो समय बाख्राको दूध र चीज प्रयोग गर्ने सर्वसाधारणकोसमेत सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एकपटकमा चार लिटरसम्म दूध दिने क्षमताको हुन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएको छ । उक्त दूध सङ्कलन गरी चीज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको हो । कार्यालयले विसं २०७१ मा ५० माउ र सात बोका अष्ट्रेलियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान सुरु गरेको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानका लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सयको हाराहारीमा बाख्रा छन् । रासस