लेकसाइड २४ घण्टा खुला गर्न दिन उच्च अदालतको आदेश
पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीरः जमुना वर्ष शर्मा, रासस काठमाडौं । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएका थिए । बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश गरिएको हो । अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीलाई आग्रह गरेको छ । रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गरेका थिए ।
बागमती प्रदेशले २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने
काठमाडौं । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए । बैठकले सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा (अधिकृतस्तर एघारौँ तह) बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सवलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तामन्त्री श्रेष्ठले जानकारी दिए ।
पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग
काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रुपैयाँ सङ्कलन भएको रकम जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम पच्चीस लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर दश लाख रुपैयाँ रहेका छन् । त्यस्तै क्यासिनो मोजाङ पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौं पाँच लाख, क्यासिनो वेलिज काठमाडौं पाँच लाख, क्यासिनो प्राइड काठमाडौं पाँच लाख, क्यासिनो प्यालेस काठमाडौ पाँच लाख, क्यासिनो प्यालेस झापाले पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।