पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

  काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाए । अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन् । दसैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ–पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ । बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ । तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् । उसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकुल मानिन्छ । दसैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्ररुपमा पर्यटन क्षेत्रमा उत्साहजनक रहेको बताए । “पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहवद्र्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ”, उनले भने । पछिल्लो समय होटलका रुमको सङ्ख्या ढेका छन् । तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बौं लगानी भएका छ । यद्यपि ‘सप्लाइ’को तुलनामा माग कम भएकाले यो क्षेत्रलाई थप गतिशिल बनाउन नसकिएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, ‘पर्यटकीय पूर्वाधारमा लगानी धेरै भइसक्यो । लगानीको प्रतिफलका लागि व्यापार चाहिन्छ, छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक ल्याउन नीतिगत र संरचनागत सुधार जरुरी छ ।’ अध्यक्ष शाहले अहिले आइरहेका पर्यटकभन्दा तीन गुणा सङ्ख्यालाई सेवा दिन सकिने गरी पूर्वाधार तयार भइसकेका छन् । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको उनको भनाइ छ । उनले पर्यटकीय याममा तारे होटलमा चहलपहल बढे पनि साना होटलको व्यवसाय भने अझै फष्टाउन नसकेको उल्लेख गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र अबका दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षण गर्न थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुनुपर्ने, गन्तव्य पुग्ने सडक स्तरोन्नति गरिनुपर्नेमा व्यवसायीको जोड छ । बढे पर्यटक, बढ्यो आम्दानी नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो पर्यक आँकडा हेर्दा मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बताए । उनले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आगामी दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालले कोभिड महामारीपछि पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको बताए । उनले भने, “समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाई सन्तोषजनक बनाउन सकिएको छैन ।” पर्यटन व्यवसायी दाहालले आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीगिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गरे । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गरे । पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारका काम जरुरी भएको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५१ दशमलव तीन प्रतिशतले बढेर रु १७ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ अर्ब २४ करोड थियो । आर्थिक समृद्धिको आधार पर्यटन एशियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिका दरिलो आधार रहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रमा प्रशस्त लगानी र अवसरको सम्भावना औँल्याए । गत कात्तिक २३ र २४ गते काठमाडौँमा आयोजित एशियन बैंकर सङ्घको सम्मेलनमा उहाँले पर्यटन नेपालको अर्थतन्त्रको महतवपूर्ण क्षेत्र भएको उल्लेख गरेका थिए । एशियाका १८ देशका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधि सम्मिलित सो सम्मेलनका दौरानमा भएका विभिन्न छलफलमा सहभागी विदेशी बैंकलगायत क्षेत्रका विज्ञहरुले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गरेका थिए । त्यसैगरी अर्थमन्त्री डा प्रकाशशरण महतले राजधानीमा हालै आयोजित एक कार्यक्रममा पछिल्ला दिनमा पर्यटनको सङ्ख्या उल्लेख्य वृद्धि भएकाले यसले आर्थिक वृद्धिमा टेवा पुग्ने धारणा राखेका थिए । उनले विस्तारै अर्थतन्त्रले सकारात्मक बाटो लिएको, बाह्य सूचकाङ्क बढेको, विप्रेषण, घरजग्गा कारोबार बढेको, पर्यटकको सङ्ख्या ऐतिहासिकरुपमा वृद्धि भएकाले यसबाट अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि एक महिनामै एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिनु समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको र यसले अर्थतन्त्रको सवलीकरण हुने उल्लेख गरेका थिए । ‘समग्र अर्थतन्त्रका सूचक सकारात्मक छन्’, उनले भने, ‘विदेशी पर्यटक आगमन ऐतिहासिकरुपमा बढेको छ । यसले भोलिका लागि बाटो खुलेको छ । पर्यटन क्षेत्रका लागि प्रशस्त पूर्वाधार बढिरहेकाले मुलुकको समग्र अर्थतन्त्र राम्रो हँुदै जानेछ ।’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै गरेको नेपाल भ्रमणले विश्वबजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । चारदिने गुटरेसको नेपाल भ्रमणका दौरानमा नेपालका प्रख्यात पर्यटकीय गन्तव्यको भ्रमणले नेपालको पर्यटन विश्वबजारमा प्रवद्धन भएको व्यवसायीको बुझाइ छ । महासचिव गुटेरेसले चर्चित सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पर्यटकीय नगरी पोखरा, प्रसिद्ध भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्दै उत्सुकतापूर्वक जानकारी लिएका थिए । महासचिव गुटेरेसको गतिविधि संसारभरका सञ्चारमाध्यमले सम्प्रेषण गर्ने भएकाले उक्त भ्रमणले नेपाल गन्तव्यको प्रभावकारी पर्यटन प्रवर्द्धन भएको र यसबाट बढीभन्दा बढी विदेशी पर्यटकको नेपाल आगमन हुने पर्यटन व्यवसायीको विश्वास छ । रासस

चितवनमा आन्तरिक पर्यटकको घुइँचो, नेपालीमा घुम्ने प्रवृत्तिको विकास

  चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । नेपालीहरुमा घुम्ने चलन थिएन । नेपालीमा घुम्ने प्रवृत्तिको विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयलाई हिजोआज नेपालीले भरपुर उपयोग गर्ने गरेका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएका थिए । पर्वका अवसरमा धार्मिक पर्यटकीय स्थलसँगै प्राकृतिक सौन्दर्य स्थलमा पनि पर्यटकको उस्तै घुइँचो थियो । दसैँदेखि छठसम्म जिल्ला र वरपरका पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका थिए । मनकामना दर्शनका लागि गत शुक्रबार साँझ मन्दिर पुगेका धेरैले सुत्ने कोठा पाएनन् । मन्दिरको दर्शनका लागि पुगेका पत्रकार प्रकाशमणि ज्ञवालीका अनुसार मन्दिरका पेटी, होटलका बरण्डामा समेत कतिपयले रात बिताउनुपरेको थियो । होटल सञ्चालकले आफूले प्रयोग गर्ने कोठा पनि पाहुनालाई दिएको उनको भनाइ थियो । ज्ञवालीले त्यसरात मन्दिर क्षेत्रमा दुई हजारभन्दा बढी मानिसले मन्दिरका पेटी, होटलका वरण्डामा दुःखसुख गरेर रात बिताएको बताए । गत शनिबार १० हजार ५२ जनाले केबलकार यात्रा गरेकफ मनकामना दर्शन प्रालिका नायक महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म केबलकार चलाउनुपरेको थियो । यसका अतिरिक्त गाडी, मोटरसाइकल र पैदल यात्रा गरेर पनि मनकामना दर्शनका लागि पर्यटक मन्दिर पुगेका उनले बताए । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहामा पनि तिहारको समयमा पर्यटकले कोठा पाउन नसकेका क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले बताए । उनका अनुसार गत बिहीबार र शुक्रबार कोठा पाउन नसकेर कतिपय आन्तरिक पर्यटक फर्किनुपरेको थियो । हात्ती, डुंगा र जिप चढ्न दसैँयता धेरैले समय नपाएको थपलियाको भनाइ थियो । निकुञ्ज प्रवेशका लागि टिकट लिन बिहान ४ बजेदेखि लाइन बस्नुपरेको उनले बताए । उनका अनुसार ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन् । यससँगै व्यवसायीमा उत्साह थपिएको उनले बताए । पश्चिम चितवनको पटिहानी र जगतपुर क्षेत्रका होटल पर्यटकले भरिएका छन् । होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेलका अनुसार अक्टुबरयता पर्यटक आगमन राम्रो छ । उनका अनुसार त्यसमा पनि चाडपर्वका समयमा आन्तरिक पर्यटक बढ्ने भएकाले होटल भरिने गरेका छन् । चाडपर्वसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् । केबलकार सञ्चालनमा आएपछि मन्दिर दर्शनका लागि आउनेको संख्या विगतको भन्दा बढेको मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिग्राम सापकोटाले बताए । उनका अनुसार दसैँको समयमा दैनिक चार हजार भक्तजन मन्दिर पुगेका थिए । तिहारमा यो संख्या तीन हजार हाराहारी थियो । यो संख्या विगतको तुलनामा २५ प्रतिशत बढी भएको सापकोटाले जानकारी दिए । मौलाकाली केबलकार प्रालिका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार केबलकार सञ्चालनमा आएसँगै भक्तजनको संख्या बढेको हो । उनका अनुसार ज्येष्ठ र अशक्तसमेत केबलकार चढेर सहज रुपमा मन्दिर जाने गरेका छन् । दिउँसोको समयमा मन्दिर पुग्नेहरु अधिकांश केबलकारबाटै जाने गरेका पौडेलले बताए । अरुबेलाको तुलनामा चाडपर्वको समयमा यात्रु निकै बढेको उनको भनाइ थियो । चाडपर्वको समयमा लाग्ने मेला, जात्राले पनि पर्यटकीय चहलपहल बढाएको छ । नारायणी नदी किनारमा आइतबार छठ पर्वका लागि हजारौँको संख्यामा भक्तजनसँगै पूजा हेर्नेहरुको भिड लागेको थियो । तराई सामुदायिक सेवा समितिका सल्लाहकार राजकुमार गुप्ताले ३० हजारभन्दा बढीले छठ पर्व मनाउनुका साथै अवलोकन गरेको बताए । नारायणी नदी किनार व्यवस्थित बनेपछि छठको पूजा गर्ने र हेर्नेको घुइँचो लागेको थियो । छठका लागि नदी किनारलाई व्यवस्थित गरिएको जनाउँदै नदी किनार व्यवस्थित भएसँगै छठ मनाउन आउनेको संख्या निकै बढेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन् । आफूसमेत शुभकामना दिन आइतबार साँझ नदी किनार पुगेको भन्दै उनले नदी किनारको रौनकता यसअघिका वर्षमा भन्दा यस वर्ष बढेको बताइन् । विगत तीन वर्ष अघिसम्म छठ पर्वमा सामान्य मानिस आउने गरेकामा व्यवस्थित भएसँगै संख्या निकै बढेको दाहालको भनाइ थियो । पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रम सहयोगी हुने उनले बताइन् । चाडपर्व सुरु भएसँगै चौकीडाँडा, उपरदाङगढी, गोलाघाट, बीसहजार ताल, देवघाट, गणेशधामलगायतका यहाँका पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । मुख्य रुपमा बिदाको दिनमा पारिवारिक रुपमा घुम्न जानेको संख्या बढी हुने पर्यटन व्यवसायीको भनाइ छ । रासस

एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ : पर्यटनमन्त्री

पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र  सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गरेका छन् । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उनले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गरे  । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ”, मन्त्री किरातीले भने । पूर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उनले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द्व सिर्जना गर्ने खालको नभएको उनले बताए । समाजलाई विज्ञानको सापेक्षताअनुसार  विकास गर्न नसक्नु नै हामीले दुःख पाउनु हो भन्ने धारणा व्यक्त गर्दै मन्त्री किरातीले संवादका माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय तथा सहकार्य आवश्यक भएको उल्लेख गरे । विसं २०६२/२०६३ मा भएको एतिहासिक परिवर्तनको प्रसङ्ग निकाल्दै मन्त्री किरातीले संवादका माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा पुगिएको र जनतासँग संवाद गर्दै संविधानसभाका माध्यमबाट संविधान निर्माण गरिएको चर्चा गरे । उनले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको छ भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकाले केही समयका लागि टिकटक बन्द गरिएको बताए । मन्त्री किरातीले भने, “टिकटक बन्द हुँदा केहीका सिर्जनात्मक कुरा म¥र्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैलाउने काम भएको  र यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकाले टिकटक बन्द गरिएको हो ।” सो अवसरमा फिलिपिन्सकी प्राध्यापक मिरियम कोरोनेल फेररेर र  युनेस्कोका देशीय प्रतिनिधि माइकल क्रोफ्टलगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए । नेपाल संवाद पहलका संयोजक राम तिवारीले सन् २०१८ देखि क्रियाशील भई हरेक वर्ष हुँदै आएको नेपाल संवाद महासम्मेल असमझदारीलाई संवादका माध्यमबाट सहजीकरण गरेर दिगो शान्ति काम गर्नेतिर केन्द्रीय भएको बताए । आजदेखि सुरु भएको महासम्मेलन तीन दिनसम्म चल्नेछ ।