मनकामना केबुलकार २६ वर्षमा प्रवेश, यस वर्ष १२ लाखले यात्रा गर्ने सम्भावना

काठमाडौं । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको छ । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नविन साेच, आँट र लगानी तथा माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्न सफल भएको कम्पनीले जनाएको छ । केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ । मनकामना दर्शन प्रालि २०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । प्रालिले २०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी २०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौं चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो । मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो । सुरुका २/४ वर्ष अपेक्षाअनुरुप यात्रु नआए पनि अविचलित सेवालाई निरन्तरता दिएको कम्पनीको भनाई छ । २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको अवसरमा हाम्रो परियोजनामा ऋण लगानीको अगुवाइ गर्ने नेपाल बैंक लिमिटेड तथा अन्य लगानीकर्ता राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकको योगदानलाई पनि कम्पनी स्मरण गरेको छ । सेवा सुरु गरेको ६ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेकोमा तत्कालीन विषम परिस्थितिका कारण ऋण चुक्ता गरिसक्न ७ वर्ष लागेको कम्पनीले जनाएको छ । २५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग  प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट  भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ/असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरीरहेको छ । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुनेछ । साथै, सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । हाम्रो भगिनी संस्था रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उक्त रिसोर्टमा लगानी करिब ५५ करोड रुपैयाँ हुने अनुमान छ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने पनि प्रबन्ध निर्देशक श्रेष्ठले बताए । मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ ।

पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन सम्मानित

काठमाडौं । मनकामना दर्शन पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए । प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ ।

पुरानै लयमा मुस्ताङको व्यवसाय, एक महिनामै ८० हजार पर्यटकले गरे भ्रमण

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार ८७९ स्वदेशी र ५ हजार ५०४ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार ९०१ सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए । ६ हजार ४०८ मोटरसाइकल, ६ हजार २८९ कार–जिप तथा ७५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले अधिकतम दैनिक चारदेखि ५ हजार ५ सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएका बताए । बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए । ‘विगतका वर्षमा दसैँतिहार याममा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि धेरै दुःख पाए, यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे,’ उनले भने । शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन् ।