प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किराँतीले माफी मागे
फाइल फोटो काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् । बिहीबार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले माफी मागेका हुन् । उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखि आज गन्तव्यमा पुर्याएको बताए । उनले भीभीआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए । उनले भने ‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ । ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन् । आज धरै छापिएको छ । मेरो पनि नाम छापिएको छ, ठिकै छ । २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो । हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो । तर भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ । संसारमा जहाँ पनि सार्नुपर्छ । फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौँ । फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ । उतैबाट टिकट काटेर आएकाहरु छुट्नुभयो । उहाँहरुसँग सम्बन्धित निकायले माफी पनि मागेको छ । मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु । नियमअनुसार नै उहाँहरुलाई होटलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौँ ।’ मन्त्री किराँतीले युरोपियन युनियनको कालो सूचिमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचिबाट हट्ने बताए ।
बागमती नगरपालिकाले १ अर्ब लगानीमा पार्कसहितको रिसोर्ट बनाउँदै
काठमाडौं । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–११ मा बन्दै गरेको ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ को काम अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त रिसोर्टको काम अन्तिम चरणमा पुगेसँगै अर्को वर्ष (२०८१) बाट सञ्चालन तयारी थालेको हो । बागमती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेलले आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र आन्तरिक तथा वाह्य पर्यटन भित्त्र्याउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरपालिकाले उक्त रिसोर्ट निर्माण गरेको हो । नगर विकास कोषसँग सहकार्य गरी बागमती नगरपालिकाले अगाडि बढाएको उक्त आयोजनाले नगरको आर्थिक वृद्धिमा मदत पुर्याउने विश्वास लिइएको छ । ‘यो करिब १ अर्ब रुपैयाँको प्रोजेक्ट हो,’ उनले भने, ‘तर नगरपालिकाले ठेकेदार कम्पनीलाई फेजवाइज ठेक्का लगाएको छ । दोस्रो फोजसम्मको ठेक्का भइसकेको छ । १ अर्ब रुपैयाँ सबै खर्च भने हुँदैन ।’ पोखरेलले पार्क बनाउँदा सबै रकम एकैपटक खर्च नहुने बताउँदै अहिले महत्त्वपूर्ण काम सकेर पार्कबाट आम्दानी हुन थालेपछि थप कामहरू गर्दै जाने बताए । उनका अनुसार पार्क र रिसोर्ट निर्माण गर्दा अहिले करिब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । ठेकेदार कम्पनी धुलिखेल–जेवीले उक्त पार्क र रिसोर्टको ठेक्का पाएपश्चात् आर्थिक वर्ष २०७८/७९ बाट उक्त रिसोर्ट निर्माण कार्य सुरु भएको थियो । करिब ७ रोपनी क्षेत्रफलमा पार्क र रिसोर्टको काम भइरहेको पनि पोखरेलले बताए । धुलिखेल–जेवी कम्पनीका इन्जिनियर रविन रेग्मीले पार्क र रिसोर्ट निर्माणको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको बताए । उनका अनुसार फिनिसिङको काम पनि तीव्ररूपमा गर्ने योजना छ । उक्त पार्क र रिसोर्टको काम सक्दा करिब ६० देखि ७० करोड रुपैयाँ खर्च हुने रेग्मीले जानकारी दिए । के–के छन् सुविधा ? आधुनिक डिजाइनबाट बनाउन खोजिएको ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ बागमती नगरपालिकाको गौरवको आयोजना हो । यो आयोजना बनिसकेपछि नगरभित्र पर्यटक आगमन बढ्ने र नगरको आन्तरिक आम्दानीमा वृद्धि हुने बताइएको छ । साथै, पार्क र रिसोर्टभित्र धेरै रोजगारी पाउने पनि नगरपालिकाले बताएको छ । नगरको वडा नम्बर ११ मा बनिरहेको यो रिसोर्ट र पार्क बागमती खोला नजिकै छ । खोला नजिकै भएकाले सोही ठाउँबाट बोटिङ गर्न पनि सकिने छ । उक्त एरियाभित्र केटाकेटी खेल्ने ठाउँ, हल, फोटोबुथ, रिसोर्ट, स्विमिङ पुल, पार्किङका साथै विभिन्न किसिमका पसल पनि हुनेछन् । रेग्मीका अनुसार रिसोर्ट ४० जना मान्छे बस्न सक्ने क्षमताको हुनेछ । आकर्षक पार्क साथै सेवा सुविधाले भरिपूर्ण यो पार्क धेरैको केन्द्रमा पर्ने नगरको विश्वास छ । पार्कबाट नगरको ७ करोड आम्दानी ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ एक वर्षपछि सञ्चालनमा आउँदै छ । सञ्चालनमा आएपछि पार्कभित्र नगरले प्रवेश शुल्क पनि निर्धारण गर्नेछ । रिसोर्टमा पर्यटन बस्ने साथै र्याफटिङ गर्नेहरू आउने भएकाले पार्क र रिसोर्टबाट आम्दानी हुनेछ । उक्त पार्क र रिसोर्ट सञ्चालन भएपछि वाषिर्क ७ करोड रुपैयाँ नगरलाई आम्दानी हुने अधिकृत पोखरेलले बताए ।
पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट
काठमाडौं । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । ‘विशेषरूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।’ विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस