पर्यटन आवागमनको चहलपहल उच्च, पुनहिलमा मात्रै १२ हजारभन्दा बढी पर्यटक
काठमाडौं । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ । घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए । उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ । पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् । घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए । ‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ’, होटल व्यवसायी गर्वुजाले भने । त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन् । रासस
पर्यटक तान्दै शालिग्राम सङ्ग्रहालय
बागलुङ । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४, कुँडुले फेदी सुनसान थियो । बागलुङ बजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर, अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरूङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् । मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका मुस्ताङको मुक्तिनाथ आउने हजारौँ पर्यटक अहिले सङ्ग्रहालयमा पुग्न थालेका छन् । धार्मिक महत्त्वका संरचनाको प्रचारप्रसारसँगै यहाँ आउने पर्यटको सङ्ख्या हरेक वर्ष बढ्दो छ । सुरूङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गर्ने गर्छ । अझ बढी त शालिग्राम वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले लोभ्याउने गर्छ । बागलुङ(बेनी सडक खण्डको केही माथिपट्टि रहेको सङ्ग्रहालय बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा पर्छ । पैदल यात्रामार्फत १५ मिनेट र गाडीमा पाँच मिनेटमा पुग्न सकिन्छ । मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ला १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको बेलामा अझ बढी पर्यटक आउने गरेका छन् । खासगरी दक्षिण भारतका पर्यटक बढी आउने गरेको शालिग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्रामको अवलोकन गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म २५ हजारभन्दा बढी पर्यटक यहाँ आउने ऋषि प्रपन्नचार्य बताउँछन् । धर्मप्रति बढी आस्था राख्ने पर्यटक शालिग्रामको दर्शन गर्न आउने उनको भनाइ छ । तीव्र प्रचारप्रसारको कारण पर्यटक आउने क्रम बढेको प्रपन्नचार्य बताउँछन् । ‘परारभन्दा पोहोर धेरै पर्यटक आउनुभयो, पोहोरभन्दा यस वर्षभन्दा बढी आउने सम्भावना देखिएको छ, साउनदेखि यता २५ हजारभन्दा बढी पर्यटकले यहाँको अवलोकन गर्नुभएको छ, मुक्तिनाथ, कालीगण्डकी र बागलुङ कालिकाको सेरोफेरोमा शालिग्राम सङ्ग्रहालय रहेको हुँदा आगन्तुकलाई पायकपर्ने गरेको छ,’ ऋषि प्रपन्नचार्यले भने, ‘अझै बढी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, यहाँ अझै धेरै संरचना बन्दैछन्, धेरै दाताहरूले सहयोग गरेरै अहिले हामीहरू यो ठाउँमा छौँ, यो साल पोहोरभन्दा दोब्बर बढी पर्यटक ल्याउने सकिने अपेक्षा गरेका छौँ ।’ भारतबाट दर्शनका लागि आएका मुक्तिदेव हरिदासले शालिग्रामको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने हुँदा चार दिन लगाएर यहाँ आएको बताए । मुक्तिनाथ पुग्ने मुख्य सडकमै शालिग्रामको दर्शन गर्न पाउँदा खुशी लागेको उनी बताउँछन् । हरिदासले अहिलेसम्म आफूले एउटा पनि शालिग्राम दर्शन गर्न नपाएको सुनाउँदै एकै पटक सवा लाख देख्दा दङ्ग परेको बताए । सङ्ग्रहालयभित्र बनाइएको आकृति अझ बढी उकृष्ट लागेको उनी बताउँछन् । हरिदासले भन्छन्, ‘संसारमा कतै पनि एकै ठाउँमा यति धेरै शालिग्राम पाइँदैन होला, हाम्रो मुख्य गन्तव्य मुक्तिनाथ थियो, पोखरा आउने बेला यहाँको बारेमा सुन्यौँ र मुक्तिनाथभन्दा पहिला शालिग्रामको दर्शन गर्न आयौँ, हाम्रो २६ जनाको टोली छ, गाडीमै सिधै आउन सकिने रहेछ, तल कालिका मन्दिर, माथि पञ्चकोट र यहाँ शालिग्राम कस्तो रमाइलो रहेछ, एकै ठाउँमा आउँदा धेरैको दर्शन गर्न पायौँ, फेरि अर्को पटक पनि आउने छौँ, यस्तो पवित्र स्थानको प्रचार अलिक कम भएको जस्तो लाग्यो, हामीलाई थाहा थिएन, बाटोमा आउँदा बल्ल जानकारी पायौँ, उतै हुँदा थाहा हुन्थ्यो भने उहीँ ‘प्लान’ बनाएर आउथ्यौँ ।’ शालिग्रामवरपर रङ्गविङ्कटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले शालिग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा राखेका छन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यहाँका बारेमा सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए । धार्मिक पर्यटकलाई लक्षित गरी सूचना बोर्डहरु राख्ने, पर्यटक सहायता कक्षा स्थापना गर्नका लागि पर्यटन विकास समितिले तयारी थालेको उपप्रमुख खड्का बताउँछन् । ‘हामीसँग स्रोत साधान निकै कम हुन्छ, एक्लै गर्न सकिँदैन, यद्यपि क्षमताले भ्याएसम्म पर्यटन प्रवद्र्धनका लागि जुटिराखेका छौँ, पर्यटन बोर्डसँग पनि सहकार्य गर्नेछौँ,’ उनले भने, ‘मुक्तिनाथ जाने सबै पर्यटकलाई यहाँ ल्याउनका लागि केही प्रयास गरिरहेका छौँ, सबै पालिका, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर पर्यटकको आगमनलाई बढाउँछौँ, पहिलेको तुलनामा शालिग्राम सङ्ग्रलहायसहित अन्य पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।’ रासस
जलेश्वर धाममा ४ लाख पर्यटक भित्र्याउने तयारी
झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा ४ लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१औं वार्षिक अनुष्ठानको आयोजना गरी ४ लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । विसं २०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । मङ्सिर १७ देखि २५ गते (बालाचतुर्दशीका दिनसम्म) नौ दिवसीय श्रीमद् देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताए । यस वर्षको मेलामा नेपाल, भारत र भूटानका ४ लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा रहेको छ । सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार मन्दिरको तस्वीरलाई सरकारले हुलाक टिकटमा संकेत अंकित गरिसकेको छ । ‘महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेकाबेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरूको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रूपमा यस धामलाई मानिएको छ,’ अध्यक्ष गट्टानीले भने, ‘विराट राजाको गाई हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरू पुनःफर्काएर ल्याएका भन्ने भनाइ प्रख्यात छ ।’ उनका अनुसार अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ । बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रूपमा आउने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । उनका अनुसार आचार्य बालकृष्णसहित पतञ्जली योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर छ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ । धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ थियो । उनका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । ‘धामको स्थापना खडेबाबा नामका एक साधुले गरेका कारण उहाँको स्मृतिमा धाम परिसरमा शालिकसहितको एउटा पार्क निर्माण गरिएको हो,’ उनले भने । धामका मूल अर्चक आचार्य अग्नि सिग्देलले यस वर्षको धार्मिक अनुष्ठान क्रममा गङ्गा आरती, यज्ञ अनुष्ठान, योग साधना र सतबीज छर्नेलगायत प्रमुख आकर्षण रहने बताए । उनका अनुसार यहाँ सञ्चालित गुरुकूल र अन्नदाता अक्षयकोष वृद्धिका लागि धाम समितिले दातासँग स्वेच्छिक सहयोगको आह्वान गरेको छ । धामका प्रचार संयोजक रमेश त्रिखत्रीका अनुसार अन्नदाता र गुरुकूल अक्षयकोष सञ्चालनका लागि १ करोड रुपैयाँका दरले दुई अलगअलग अक्षयकोष बनाउने लक्ष्य रहेको छ ।