मनाङमा ६ महिनामा नौ हजारभन्दा बढी पर्यटक
मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् । असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उनले जानकारी दिए । गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए । ‘यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ’, उनले भने । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् । आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ’, उनले भने, ‘आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।’ बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको गुरुङको भनाइ थियो । ‘बाह्य पर्यटकले पहिले नै बुकिङ गरेका हुन्छन् । जसले गर्दा उहाँहरुलाई सहज रुपमा बस्ने स्थानको निश्चित भइसकेको हुन्छ । आन्तरिक पर्यटकले यहीँ आएर मात्रै होटल खोज्दा समस्या हुने गरेको छ’, उनले भने, ‘यस सिजनमा मनाङ आउँदा पहिलेदेखि नै होटल बुकिङ भइसक्ने भएकाले होटल तथा अन्य व्यवस्थासम्बन्धी जानकारी लिएर आउन न आग्रह गर्दछु ।’ अहिलेको मौसममा अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ देखिँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीहरु प्नि घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढे्का गुरुङले बताए । आन्तरिक पर्यटकको तथ्याङ्क नराखिए पनि दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले जानकारी दिए । दैनिक रुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताए । पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा बन्द भएका व्यापारव्यावसायमा उत्साह थपिएको उनको भनाइ थियो । ‘हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुआतको समय गरी दुई सिजनमा मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी यहाँ पर्यटक आउने गर्दछन्’, व्यवसायी गुरुङले भने, ‘पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै यहाँबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् ।’ अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरेको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । रासस
१० महिनामा ८ लाख पर्यटक भित्रिए
काठमाडौं । सन् २०२३ को १० महिनामा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर १ लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा १ लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९११, फ्रान्सबाट ५ जहार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका थिए ।
करोडौंको लगानीमा बन्यो ‘मिस यू पार्क रिसोर्ट,’ ४ रोपनी क्षेत्रफलमा सिनेमा हलदेखि फिटनेसको सुविधा
संखुवासभा । स्वदेशी तथा विदेशी पाहुनालाई उत्कृष्ट आतिथ्य सत्कार उपलब्ध गराउन संखुवासभा खाँदबारी नगरपालिका–३ सुमनचोकमा आधुनिक डिजाइनको ‘मिस यू पार्क रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । आधुनिक र सुविधासम्पन्न उक्त मिस यू पार्क रिसोर्ट सञ्चालक कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुर्याएपछि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन लागेको हो । निर्माणको सबै काम पूरा गरेर पार्कसहितको रिसोर्टलाई आगामी ६ महिनाभित्र पूर्णक्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको मिस यू पार्क रिसोर्टका सञ्चालक गजेन्द्र राईले जानकारी दिए । यो रिसोर्टको ‘प्रि–ओपनिङ’ भने गत असारमै भएको थियो । ‘रिसोर्टको अधिकांश संरचना तयार भइसकेको छ, फिनिसिङका काम बाँकी छन्। यसलाई ६ महिनाभित्र सकेर ग्रान्ड ओपनिङ गर्ने तयारी गरिरहेका छौं,’ सञ्चालक राईले विकासन्युजसँग भने । रिसोर्टका लगानीकर्तामा सञ्जय देवान, गजेन्द्र राई र अजयराज सुमार्गी छन् । रिसोर्ट सञ्चालक राईका अनुसार मिस यू पार्क रिसोर्ट निर्माण कोभिड–१९ प्रकोप सुरु हुनुभन्दा अगाडिदेखि भएको थियो । यो रिसोर्ट तीनतारे स्तरको हुनेछ । रिसोर्ट निर्माण गर्न हालसम्म करिब १८ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘हाम्रो यो परियोजना ३ करोडदेखि ५ करोड रुपैयाँको थियो, तर बनिसक्दा १८ देखि २० करोड रुपैयाँ खर्च हुने अनुमान पनि गरेका थियौं,’ राईले भने, ‘निर्माण गर्दै जाँदा लागत पनि बढ्दै गयो, धेरै विषय थप हुँदै गए। रिसोर्टको सबै काम सक्दा करिब २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।’ मिस यू पार्क रिसोर्टले करिब ४ रोपनी क्षेत्रफल ओगटेको छ । रिसोर्टमा लिफ्टसहितको ४१ कोठा, दुई स्विट रुम, १ सय सिट क्षमताको सिनेमा हल, मार्ट, फिटनेस हल, गेम जोनलगायत हुनेछन् । रिसोर्ट सञ्चालक कम्पनीले योसँगै तुम्लिङटारमा ६ करोड रुपैयाँ लगानीमा मिस यु होटल सञ्चालन गर्न भवन पनि खरिद गरेको छ । यी दुवैको उद्घाटन एकैपटक गर्ने योजना रहेको राईले बताए । के छन् सुविधा ? गत असारबाट आंशिक सञ्चालनमा आएको मिस यू पार्क रिसोर्टमा स्वदेशी र विदेशी पाहुनासँगै स्थानीयहरु पनि आउने गरेका छन् । त्यहाँ गएर बर्थडे सेलिब्रेशन, अफिसियल मिटिङ, विवाह, गोष्ठी, तालिमलगायत आयोजना गर्न सकिन्छ । यस्ता किसिमका कार्यक्रम गर्नेहरूका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्य हो । बालबालिकाका लागि पर्याप्त खेल्ने ठाउँ हुनुका साथै पारिवारिक डिनरका लागि पनि रिसोर्ट गजबको गन्तव्य हुने देखिन्छ । रिसोर्टमा अर्गानिक खानेकुरा उपलब्ध हुने सञ्चालकको भनाइ छ । जसका लागि सञ्चालक टिम आफैंले सयौं रोपनी जग्गा भाडामा लिएर खेती तथा पशुपालन सुरु गरेको छ । पार्क घुम्न आउने ह्वात्तै बढे पूर्णक्षमतामा सञ्चालन नहुँदै मिस यू पार्क रिसोर्ट घुम्न आउनेको घुइँचो दिनहुँ बढ्दो छ । यहाँ दैनिक ३ सय बढीले भ्रमण गर्ने गरेको रिसोर्टका अर्का सञ्चालक सञ्जय देवानले बताए । रिसोर्ट रहेको स्थानबाट वरपरका डाँडा तथा नजिकैका हिमशृङ्खला नियाल्न सकिने भएकाले मानिसहरू त्यहाँ पुग्ने गर्छन् । सहर नजिक रहेका पहाडी भूभागलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडेल देखाउन रिसोर्ट निर्माण गरिएको देवानले जानकारी दिए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई संखुवासभामा आकर्षित गर्न थप एक गन्तव्यका रूपमा मिस यु रिसोर्ट हुने बताए । देवानका अनुसार हाल रिसोर्टमा १३ जनाले रोजगारी पाएका छन् । रिसोर्ट पूर्णक्षमतामा सञ्चालनमा आएपछि ५० भन्दा बढीले रोजगारी पाउनेछन् । ‘यहाँ विभिन्न ठाउँबाट मानिस आइपुग्छन् । सबैका लागि प्रवेशमा सहज पहुँच भएकाले बढी नै भीड देखिन्छ,’ उनले भने, ‘खाँदबारीमा रिसोर्टले एउटा नयाँ आयाम थपेको छ । आर्थिक र पर्यटकीय हिसाबले पनि खाँदबारीलाई एकखालको मद्दत पुग्ने विश्वास छ ।’