वर्षाले हवाई उडान प्रभावित; टर्किस र एयर इन्डियाको विमान भारत ‘डाइभर्ट’

काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाले  मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि सारिएको  विमानस्थलले जनाएको छ । वर्षा रोकिएसँगै भिजिबिलिटीमा सुधार आएपछि अहिले विमानस्थलबाट हुने उडान नियमित  सञ्चालन भइरहेको महाप्रबन्धक निरौलाले बताए । आन्तरिक उडानमा केही ढिलाइ भए पनि नियमित विमान गन्तव्यमा उडिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पर्यटनमन्त्रीको कार्यतालिका : बुधबार महाशाखासँग छलफल गर्ने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत उनले एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका बनाएका छन् । पर्यटनमन्त्री पाण्डेले मन्त्रालयले निर्धारण गरेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए । आगामी भदौको पहिलो बुधबार अर्थात् ५ गते संस्कृति महाशाखा, भदौ १२ गते पर्यटन महाशाखा, भदौ १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरी तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिए । मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सम्बन्धमार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गरे । आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरेका छन् ।

नेपालले पायो बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशनको उपाधि

काठमाडौं । नेपालले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि प्राप्त गरेको छ । विभिन्न देशहरुको नोमिनेशनबाट नेपालले ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधी प्राप्त गरेको हो । ट्राभल वल्र्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते आयोजना गरेको कार्यक्रममा नेपाललाई ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को रूपमा सम्मान गरेको हो । नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यो सम्मानले नेपाल पर्यटनकका लाागि सुरक्षित र पर्यटकमैत्री गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए । ुसाथै अवार्डले नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । ‘यो अवार्ड पाउँदा हामी गौरवान्वित भएका छौं । नेपाल पर्यटन बोर्ड यस उपलब्धिमा योगदान पु¥याउने सबै साझेदारहरू र सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै हामी पर्यटकहरूलाई नेपालको विविधतायुक्त पर्यटनको अनुभव र नेपाली आतिथ्यताको लागि आमन्त्रण गदैछौं,’ उनले भने । अवार्ड समारोहमा पर्यटन उद्योगमा उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । जसअन्तगर्त बेस्ट वेलनेस रिसोट कैराली (आयुर्वेदिक उपचार गाउँ) भारत, उत्कृष्ट इनबाउन्ड अपरेटरमा क्रिएटिभ ट्राभल भारत, सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बोर्डमा श्रीलंका पर्यटन प्रवद्र्धन ब्यूरो, उत्कृष्ट उदीयमान पर्यटन गन्तव्य (अन्तर्राष्ट्रिय) अजरबैजान पर्यटन, बेस्ट डोमेस्टिक टुर अपरेटरमा सदर्न ट्राभल भारत,उत्कृष्ट दिगो राज्यमा मध्य प्रदेश पर्यटन बोर्डलाई सम्मान गरिएको थियो ।