पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले तीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिए ।

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् । रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् । मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।

पाहुनालाई  स्थानीय घोंगीका परिकारले सत्कार

राँझा । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे०मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । ‘अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने गरेको छ’, उनले भने, ‘दसैँ मनाउन कोहलपुर, नेपालगञ्जलगायत गाउँघरमा आएका आफन्तजन यहाँ घुम्न आउने गर्नुभएको छ ।’ थारू र मुगाली समुदायद्वारा सञ्चालित ‘गाभर भ्याली होमस्टे’मा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । वर्षात्मा सुनसान हुन पुगेको उक्त घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीले बताए । बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए । आन्तरिक पर्यटकलाई लक्षितगरी मिनी गाभरमा भर्खरै सञ्चालनमा आएको बिसौनी ग्रिनरी रिसोर्ट पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । प्राकृतिक सुन्दरता र आकर्षक पूर्वाधारकाले दसैँको माहोलमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको महाप्रबन्धक केशव चालिसेले बताए । उनका अनुसार मिनी गाभरमा रहेका होमस्टेमा बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा पाहुना घुम्न आउने गरेका छन् । मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । ‘यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्’, बिसौनीका महाप्रबन्धक चालिसेले भने, ‘दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका व्यक्ति समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।’ दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ घरबासका अध्यक्ष मंगल थारूले बताए । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले घरबासको आनन्द लिन आफूकहाँ आउने गरेको उनले बताए । उनले भने, ‘दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरिएको छ ।’ रासस