बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी
काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले हवाई टिकटको मूल्य बढाएका हुन् । दुई दिनअघि मात्रै काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका छन् । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् । योसँगै काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रशित बढेको छ । हवाई सञ्चालकले एकतर्फी रूपमा भाडा बढाएपछि अहिले चौतर्फी रूपमा आलोचना भइरहेको छ । बाढीको समयमा ठूलो धनजनको क्षति भइरहेको बेला हवाइ सञ्चालकले हवाइ टिकट बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो । वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरेको बताएको छ । हवाइ भाडाको मूल्य बढाएको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै एयरलाइन्सका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको बुझिएको छ । बाढीसँगै अब दशैं सुरु हुन पनि केही दिनमात्रै बाँकी छ । हवाइ सेवा सञ्चालकहरूले दशैंमा पनि टिकटको मूल्य बढाउने गरेका छन् । अहिले पनि सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ । विगतमा पनि दशैंको समयमा काठमाडौंदेखि धनगढीसम्मको टिकट मूल्य १७ हजार पुग्ने गरेको थियो ।
नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ सम्पन्न, २ सयभन्दा बढी सहभागी
काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन टेवा दिने उद्देश्यका साथ काठमाडाैंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ– २०२४ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको यस कन्क्लेभमा आतिथ्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी सहभागी थिए । उनीहरूले हस्पिटालिटी क्षेत्रको वर्तमान चुनौती, अवसर र रणनीतिहरूमाथि घनिभूत छलफल गरेका थिए । यसै छलफलको आधारमा निकट भविष्यमै तयार गरी कार्यान्वयनको लागि पर्यटन मन्त्रालयसमक्ष पेश गरिने बृहत स्वेतपत्रले नेपालको आतिथ्यता क्षेत्रको वृत्तिविकासमा योगदान गर्ने आयोजकहरूले विश्वास लिएका छन् । बिनस्टक एसिया नेपालले वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना गरेको यस कार्यक्रममा होटल एसोसिएसन नेपालको सहकार्य रहेको थियो । नेपाल सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र विसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजित यस कन्क्लेभले सरकारको घोषणालाई कार्यान्वयनमा ल्याइ हस्पिटालीटी क्षेत्रको सम्भावनालाई थप गर्ने उद्देश्यका साथ यस क्षेत्रको नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ, नयाँ गन्तव्यकाे विकास र प्रवर्द्धन, दिगो पर्यटन, लगानी, नीतिगत सुधार तथा अन्तरउद्योग साझेदारीलगायत विविध विषयमाथि रहेर करिब १० वटा सामूहिक छलछल एवं अन्तरक्रिया चलाएको थियो । कन्क्लेभलाई यूएसएडअन्तर्गतको ट्रेन्ड एण्ड कम्पिटेटिवनेस लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय निजी कम्पनीहरूको सहायता रहेको थियो । कन्क्लेभको समापन समारोहलाई सम्बोधन गर्दै यूएसएड नेपालकी सहायक मिसन निर्देशक करेन वेल्चले यूएसएड नेपाल सरकार, स्थानीय समुदाय तथा निजी क्षेत्रका व्यवसायीहरूलगायतसँग साझेदारी गरी नेपालको पर्यटन क्षेत्रको सुदृढिकरणमा प्रतिबद्ध रहेको जानकारी दिइन् । बिनस्टक एसिया नेपाल लगायतका संस्थाहरूसँग सहकार्य गरी यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजनामा हातेमालो गरी नेपाली आतिथ्यता र समग्र पर्यटन क्षेत्रको विकासमा योगदान गर्न पाउँदा गौरव महसुस भएको होटल एसोसियन नेपालका अध्यक्ष विनायक शाहले बताए । कन्क्लेभका प्रमुख योजनाकार तथा बिनस्टक एसिया नेपालका सहसंस्थापक सुबोध थापाले कन्क्लेभले आउँदा दिनमा पनि यस क्षेत्रको विकास तथा वृद्धिको लागि आवश्यक विषय र मुद्दाहरूको उठान गर्दै सोको समाधानका लागि नेपाल सरकार सरोकारवाला निकायहरूसमक्ष पैरवी गरिरहने जानकारी दिए ।
यी हुन् दशैं-तिहार बिदामा घुम्न जान सकिने भारतका पर्यटकीय गन्तव्य
काठमाडौं । सेप्टेम्बर–अक्टोबर महिनालाई भ्रमणका लागि उत्तम मानिन्छ । किनभने यस समयमा न त धेरै गर्मी हुन्छ न त धेरै जाडो । यो रमाइलो मौसममा घुम्न पाउँदा बेग्लै आनन्द हुन्छ । सेप्टेम्बर–अक्टोबर महिनामा सुन्दर र प्रख्यात ठाउँमा मौसम अनुकूल हुने भएकाले घुम्नुको रमाइलो चार गुणा बढी हुन्छ । तसर्थ, यी महिनामा मानिसहरू आफ्नो परिवार, साथीसँग यात्रा गर्ने योजना बनाउँछन् । नेपालीहरूको महान चाड दशैं–तिहार नजिकिँदै छ । चाडबाडका बेला अफिसदेखि लिएर विद्यालयसम्म बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै देश बाहिर घुम्न जान चाहनेका लागि छिमेकी देश भारत पनि उपयुक्त पर्यटकीय गन्तव्य हुन सक्छ । भारतका यी पर्यटकीय गन्तव्यहरूमा तपाईं घुम्न जान सक्नुहुन्छ । मुन्नार, केरल मुन्नार, भारतको केरल राज्यमा अवस्थित एक सुन्दर पर्यटकीय गन्तव्य हो । यो विशेषगरी चिया बगान, हरिया पहाड, र शान्त वातावरणका लागि प्रसिद्ध छ । मुन्नार पश्चिमी घाटमा अवस्थित छ, जहाँ पर्यटकहरूले प्राकृतिक सौन्दर्य र शान्त वातावरणको आनन्द लिन सक्छन् । मुन्नारको प्रमुख आकर्षणहरू चिया बगान, एराविकुलम राष्ट्रिय निकुञ्ज, अनामुडी चोटी कुंडला ताल अट्टुकड झरना लगायत छन् । यहाँ विभिन्न ट्रेकिङ मार्गहरू, जस्तै अनामुडी र राजमला, साहसिक गतिविधि प्रेमीहरूको लागि उत्कृष्ट छन् । यस्तै, एराविकुलम राष्ट्रिय निकुञ्जमा जङ्गली जनावर र चराचुरुंगीहरूको अवलोकन गर्न सकिन्छ । यहाँका बजारमा स्थानीय उत्पादन विशेषगरी चिया, मसला, र हस्तकला सामान किन्न सकिन्छ । जिरो भ्याली, अरुणाचल प्रदेश जिरो भ्याली अरुणाचल प्रदेशको एक अत्यन्तै सुन्दर र शान्त पर्यटकीय गन्तव्य हो । यो क्षेत्र सुन्दर परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध छ । समुद्र सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा अवस्थित यो जिरो भ्याली पहाडहरूको बीचमा अवस्थित छ, जहाँ हरियाली, बाँसका वन र धान खेतहरूले अद्भूत दृश्य प्रदान गर्छन् । यहाँको मौसम वर्षभरि नै शीतल हुन्छ । यस भ्यालीमा बसोबास गर्ने प्रमुख जनजाति अपातानी हो । उनीहरूको सांस्कृतिक परम्परा र जीवनशैली पर्यटकहरूका लागि आकर्षणको केन्द्र हो । यहाँका धान खेतहरू निकै प्रसिद्ध छन्, जहाँ पारम्परिक सिँचाइ प्रणालीको प्रयोग गरिन्छ । यहाँ पानीको संरक्षण गर्ने विशेष प्रणाली छ, जसले यस भ्यालीलाई पर्यावरणीय दृष्टिकोणले पनि महत्त्वपूर्ण बनाएको छ ।। भ्याली अफ फ्लावर्स, उत्तराखण्ड भ्याली अफ फ्लावर्स उत्तराखण्ड राज्यको चमोली जिल्लामा अवस्थित एक सुन्दर राष्ट्रिय निकुञ्ज हो । यो स्थान आफ्नो विशाल फूलको बगैंचा, विभिन्न प्रकारका फूलहरू र प्राकृतिक सौन्दर्यका लागि विश्वभर प्रसिद्ध छ । भ्याली अफ फ्लावर्स युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ । यो स्थान प्राकृतिक प्रेमी र ट्रेकिङ पारखीहरूको लागि एउटा उत्कृष्ट गन्तव्य हो । भ्याली अफ फ्लावर्समा विभिन्न प्रजातिका रंगीन र दुर्लभ फूलहरूको अवलोकन गर्न पाइन्छ । यहाँ मनमोहक ब्रह्मकमल, ब्लु पोपी, कोबरा लिली, र अनेका प्रकारका वनस्पतिहरू पाइन्छन् । यहाँको फूलहरू विशेषगरी वर्षायाममा (जुनदेखि अक्टोबर) सम्म फूल्न थाल्छन्, जसले उक्त भ्यालीलाई रंगीन बनाउँछ । यस भ्यालीमा तपाईंले विभिन्न प्रकारका दुर्लभ वनस्पतिहरूका साथै हिमालयन काला भालु, हिमचितुवा, नीलगाई, र हिमाली कस्तुरीजस्ता वन्यजन्तुहरू देख्न पाउनुहुने छ । यहाँ पंक्षी अवलोकन गर्ने चाहनेहरूले पनि विभिन्न प्रजातिका हिमाली चरा देख्न पाउनेछन् । भ्याली अफ फ्लावर्सको यात्रा रोमाञ्चक ट्रेकिङ अनुभवका लागि पनि प्रसिद्ध छ । पर्यटकहरूले गोविन्दघाटबाट यात्रा सुरु गर्छन्, जसको रुट गोविन्दघाट – घांघरिया – भ्याली अफ फ्लावर्सको हुन्छ । गोविन्दघाटबाट घांघरिया गाउँसम्म करिब १३ किलोमिटरको ट्रेकिङ गरिन्छ र त्यसपछि ४ किलोमिटरको अतिरिक्त यात्रा गर्दा भ्याली अफ फ्लावर्स पुगिन्छ । काल्पा, हिमाचल प्रदेश काल्पा, हिमाचल प्रदेशको किन्नौर जिल्लामा अवस्थित एक सुन्दर र शान्त गाउँ हो । यो ठाउँ यसको अद्वितीय प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध छ । जहाँ तपाईंले हिमालय पर्वत श्रृंखलाहरू, विशेषगरी किन्नर कैलाशको दृश्य देख्न सक्नुहुनेछ । काल्पा आफ्नो स्याउका बगैंचाहरू र शुद्ध वातावरणका कारण पनि चर्चित छ । काल्पामा नेपाली र हिमाचली परिकारहरूको स्वाद लिन पाइन्छ । यहाँका स्थानीय खाना, विशेष गरी स्याउको परिकार, पर्यटकहरूका लागि विशेष आकर्षण हुन् । किन्नर कैलाश पर्वतलाई धार्मिक दृष्टिकोणले विशेष मानिन्छ, किनकि यो स्थान भगवान शिवको निवासस्थल मानिन्छ । काल्पामा प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र हिमालयको नजिकबाट अनुभव गर्न सकिन्छ । यो ठाउँ ट्रेकिङका लागि लोकप्रिय छ र प्रकृति प्रेमीहरूका लागि विशेष गन्तव्य हो । काल्पामा नेपाली, तिब्बती, र हिमाचली संस्कृति मिसिएको छ । यहाँका मठहरू (बौद्ध गुम्बाहरू) र हिन्दू मन्दिरहरूले यस ठाउँको धार्मिक र सांस्कृतिक विविधता देखाउँछन् । राक्छम मठ र चण्डिका मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक स्थल हुन् । एजेन्सी