यात्रुले हवाईजहाजको ‘इमरजेन्सी ढोका’ खोलेपछि….

काठमाडौँ । यात्रुले हवाईजहाजको इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलि दिएका छन् । आज बिहिबार बिहान विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् । यात्रुले ढोका खोलिदिए पछि उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ । विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर खोलेका घटना सार्वजनिक भएका थिए । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिन नेपालगञ्जबाट काठमाडौं उडानमा रहेको एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका थिए । जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । जहाज विराटनगर विमानस्थलमा हुँदा इमरजेन्सी ढोका यात्रुले खोलेका हुन्। जहाजलाई बुध्द एयरको टेक्निकल टिमले थप चेकजाँच गरिरहेको जनाइएको छ । आपतकालिन ढोकाको प्रयोगबारे विमानका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी दिएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ । हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको छ ।

फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो । लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको हो । निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जीप चल्ने गर्दछन् । कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुईवटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जीप सफारी हो । अन्य गतिविधि डुङ्गा सफारी, चरा हेर्ने (बर्ड वाचिङ्) लगायतका गतिविधि भने सबै समय खुल्ला हुने गर्दछ । सफारी पर्यटनका लागि नेपालको महत्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । सफारी गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए । यद्यपि पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए । पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । उनले भने, ‘अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।’ पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए । २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए । रासस