स्तरोन्नतिमा १५ अर्ब खर्च र ५ महिना समय लाग्ने त्रिभुवन विमानस्थल कस्तो बन्दैछ ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबाबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो । प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम थालनी गरेको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरुप विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा काम थलनी गरेको बताए । विमानस्थल स्तरोन्नतिले विमास्थलको क्षमता अभिवृद्धि अर्थात रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुने बताए । एअर ट्राफिक कन्ट्रोलरहरुलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने उल्लेख गरे । विमानस्थलको मुख्य धावनमार्गसँगै समानन्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको बताए । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरु सञ्चालन गर्न सकिने जानकारी दिए । नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवन्धक विपिन बज्रचार्यले विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्ने बताए । उनले विमानस्थलमा हुने विमान डिले, ट्याक्सी वेमा हुने डिले समेत कम हुने उल्लेख गरे । एअर ट्राफिकहरुले सहज रुपमा एअर ट्राफिक कन्ट्रोल गर्नसक्ने अवस्था आउने जानकारी दिए । उनले प्राधिकरणले गर्न लागेको विमास्थलको क्षमता अभिवृद्धिले एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरुलाई बढी फाइदा रहेको उल्लेख गरे । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा पनि फाइदा हुने उल्लेख गरे । विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायुसेवा सञ्चालकहरु भने असन्तुष्टि जनाइरहेका छन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुन्छ । तर, विमानस्थल बिस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । विमानस्थल बन्द भएपनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्ने विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ । प्राधिकरणले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ । जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ । अहिले भन्दा एयर ट्राफिक व्यवस्थापन गर्न एअर ट्राफिक कन्ट्रोलरहरुलाई धेरै सहज हुने बताइएकाे छ । ‘सुरक्षाको स्तर अभिवृद्धि हुन्छ । वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको मात्रको दूरीमा रहेको निर्माणाधिन समानान्तर ट्याक्सी वे रनवे १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड परिपालना हुन्छ । निर्माणाधिन १८ वटा पार्किङ एप्रोनहरु तयार भएपछि विमानहरु आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ,’ ज्रचार्य भने । ७ महिना अघि विमानस्थल मर्मत गर्ने निर्णय विमानस्थलमा विमान गुड्ने मार्ग ट्याक्सि वे र विमानस्थलमा यात्रु वा मालसामान चढाउने,उतार्ने,इन्धन भर्ने,पार्किङ र मर्मतसम्भार गर्ने क्षेत्र एप्रोन बनाउने कार्य गर्नको लागि विमानस्थल बन्द गर्ने निर्णय करिव ७ महिना अघि नै वायुसेवा कम्पनीहरुलाई समेत जानकारी लिएर एयर एआईपी सप्लिमेण्ट प्रकाशन समेत गरेको थियो । विमानस्थलको महत्वपूर्ण ग्राहक भनेको वायुसेवा सञ्चालक कम्पनीहरु हुन् । विमानस्थलको आम्दानीको प्रमुख स्रोत भनेकै वायुसेवा सञ्चालक कम्पनीहरुबाट प्राप्त हुने भएकाले वायुसेवा सञ्चालक कम्पनीहरुसँग परामर्श गरी उक्त कार्य अघि बढेको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरुसँगैका छलफल परामर्श गरी लिखित सहमतिका आधारमा निर्माण कार्य अघि बढेको हो । विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्याधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रुपमा क्षमता बिस्तार गर्ने लागेको छ । जसअनुसार रनवेको लम्बाई बराबर हुनेगरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे तथा ट्याक्सी वेहरु,अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोनहरु,विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरु निर्माण गर्ने योजना छ । अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनमा रुपान्तरण गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षमता १ करोड यात्रु प्रतिवर्ष, (३५०० यात्रु प्रति घण्टा) निर्माण गर्ने योजना छ । एशियाली विकास बैंकको ऋण सहयोगमा रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र रनवेको पूर्वतर्फ ह्यांगर,एप्रोन र एक्जिट ट्याक्सी वेहरु निर्माण गर्नेछ । प्राधिकरणको लगानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण कार्य हुनेछ । विमानस्थल सञ्चालनको समयमा निर्माण कार्य सम्भव नभएकाे बताइएकाे छ । विमानस्थल सञ्चालनको क्रममा निर्माण कार्य गर्नु भनेको जोखिम र चुनौतीपूर्ण कार्य हो । आईकाओको मापदण्डअनुसार विमानस्थल भित्र विभिन्न क्षेत्रलाई संवेदनशिल क्षेत्रका आधारमा वर्गिकरण गरिएको हुन्छ । रनवेको केन्द्रबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशिल क्षेत्रमा पर्छ । पर्यटनको सिजन भएपनि विकास निर्माणको कार्य गर्ने उपयुक्त समय भएकाले प्राधिकरणले अहिलेको समय रोजेको बताएकाे छ ।
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज
काठमाडौं । तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि आज प्राधिकरण, अन्तरमन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालन गर्न छलफल गरी निर्णय गरेको छ । जसअनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाईपछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गर्ने निर्णय भएको छ । अब सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको पालना गर्नुपर्नेछ । सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ । यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौतिभएपछि एयरलाइन्सहरूले महँगो हवाईभाडा लिएको गुनासो आइरहेको छ । त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिनेगरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ । बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी थिए ।
कालापत्थरको रोमाञ्चाक यात्रा र हिमालले भोगिरहेको गम्भीर चुनौती
काठमाडौं । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए । सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो । हाम्रो टोलीका ८ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस पुगिसकेका थिए । दोस्रो उडानमा म र राजेन्द्र लुइँटेल पुगेका थियौँ । हामीलाई त्यहाँसम्म लैजाने सत्यकला तामाङ र फुर्बाग्याल्बो मोक्तान तथा लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा र नारायण अधिकारी हामीभन्दा पछिको उडानमा आउँदै थिए । ‘हाइ अल्टिच्युड’का कारण गोरकसेपसम्मको उडानमा हेलिकप्टरले दुई जनाभन्दा बढी यात्रु नबोक्ने भएकाले हामीलाई त्यहाँसम्म पुग्न चारवटा उडानको भर पर्नुपरेको थियो । सगरमाथा आरोही तथा आधार शिविरसम्म पुग्नेका लागि होटल पाउने अन्तिम स्थान गोरकसेप भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लै थियो । गोरकसेपको खोँचमा ढुङ्गैढुङ्गाले बनाएको गोलाकार थुम्को (हेलिप्याड) मा हेलिकप्टरबाट ओर्लँदै गर्दा ‘अल्टिच्युड सिकनेस’ले गम्भीर एक जनालाई स्ट्रेचरमा हेलिकप्टरतर्फ ल्याउँदै गरेको देख्दा मन भारी भयो । कतै हाम्रो अवस्था पनि यस्तै त हुने होइन भन्ने मनमा डर लाग्न थालिसकेको थियो । हेलिकप्टरबाट ओर्लनेबित्तिकै हामीलाई मोबाइलबाट तस्बिर लिनै हतार भइसकेको थियो । अघिल्लो उडानमा आएका मिङ्मा र प्रसाईँसँग भेट भयो । मिङ्माले मलाई हामी वरपरका सबै हिमाल एक–एक गर्दै चिनाइदिए । बाँकी साथी आउँदै गर्छन् हामी हाम्रो गन्तव्य कालापत्थरको उचाइतर्फ जाऔँ न त भन्ने भयो । यत्तिकैमा मेरो शरीर एक्कासी लुलो भएझैँ भयो । रिङ्गटा लागेजस्तै टाउको भारी भयो । एकैछिन अघिसम्म ऊर्जाले भरिएको शरीरबाट कसैले शक्ति खिँचेजस्तो गरी रित्तिएझैँ भयो । पछि थाहा भयो अरु साथिहरुलाई पनि मलाई जस्तै भएको रहेछ । २ हजार ८६० मिटर उचाइको लुक्लाबाट १५ मिनेटमै ५ हजार १८० मिटर उचाइको गोरकसेपमा पुगेका हामीले भोगेको समस्या मिङ्माले बुझिहाले । कैयौँपटक त्यही बाटो हुँदै सगरमाथाको टुप्पोसम्म पुग्नुभएका उनले हामीलाई विस्तारै होटलभित्र पुर्याए । उनले सुरुमा तातोपानी दिए । त्यसपछिको चियापत्ती मात्र हालेको चिनीबिनाको चिया औषधिजस्तै भयो । उनले लसुन र टिमुर हालेको चाउचाउको झोल पनि ल्याए । र जसरी पनि खानुपर्छ भन्दै उर्दी जारी गरे । चाउचाउको झोलले शरीर तात्न थाल्यो । मेरो शरीरले अलिक बिसेक मान्यो । एकमनले त यहाँसम्म आइहालियो, अब कालापत्थर नचढौँ कि भन्ने पनि भयो । लेक लागेर (अक्सिजन अभाव) सिकिस्तै भएका पर्यटकलाई एकैछिन अघि हेलिकप्टरमार्फत उद्धार गरेको देखेकाले पनि होला आत्मबल घट्दो थियो । तर मिङ्मा र कमल प्रसाईँले यो सामान्य हो भन्दै सम्झाए। उनीहरुको परामर्शपछि अलिकति आत्मबल बढेझैँ भयो । तलमाथि भइहाल्यो भने उनीहरु छन् भन्ने सोचले हौसला मिल्यो । होटलभित्र झण्डै आधा घण्टा बिताएपछि हामी कालापत्थर आरोहणका लागि तयार भयौँ । गोरकसेप सगरमाथाको प्रवेशविन्दु हो । गोरकसेपको नाम चराबाट लिइएको रहेछ । शेर्पाहरू राभेन चरालाई गोरक भन्दा रहेछन् । कुनै शेर्पाले यस क्षेत्रमा मरेको गोरक देखेकाले यस ठाउँको नाम गोरकसेप रहन गएको भन्ने जनविश्वास रहेछ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि यस क्षेत्रको लोकप्रियता र व्यापकता विश्वभर फैलिएको मानिन्छ । पर्यटकहरू गोरकसेपमा विश्राम गरेर कालापत्थर, सगरमाथा आधार शिविर हुँदै विश्वको सर्वोच्च शिखरसम्म पुग्छन् । लुक्लाबाट नाम्चे हुँदै गोरकसेप पुगेपछि चोला पास र गोक्योसम्म जाने पनि यही भेटिन्छन् । गोरकसेपबाट कालापत्थर र आधार शिविरतर्फ शेर्पाका साथमा लामबद्ध विदेशी पर्यटकले त्यतिबेलाको माहोल ‘गुल्जार’ बनाएको थियो । पिठ्युँमा ब्यागप्याक र दुवै हातमा ट्रेकिङ पोलका साथमा विभिन्न गन्तव्यतर्फ पाइला चालिरहेका पर्यटकहरूको पङ्क्ति निकै लोभलाग्दो थियो । हाम्रो गन्तव्य भने कालापत्थरको चुचुरो थियो । कालापत्थरको चुचुरोबाट जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबारे पत्रकार सम्मेलनमार्फत विश्वको ध्यानाकर्षण गराउनु थियो । हेर्दा नजिकैजस्तो देखिए पनि गोरकसेपबाट त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने रहेछ । तर मिङ्माजस्ता आरोहीका लागि भने आधा घण्टा नै काफी हुने रहेछ । वरिपरि सेताम्मे हिमाल भएर पनि कालापत्थर मात्र भएकाले यसको नाम कालापत्थर रहन गएको हो । यद्यपि कालापत्थरको उचाइमा हिउँको केही अंश भने बाँकी नै थियो । कालापत्थरबाट देखिने सगरमाथाको दृश्य अविष्मरणीय थियो । किनभने यसअघि माउन्टेन फ्लाइटलगायतबाट सगरमाथाको शिरमात्र देखेका मेरा आँखाले झण्डै पूर्ण आकारको सगरमाथा देख्नु ‘बकेट लिस्ट’ कम गर्नु थियो । सगरमाथाको पश्चितर्फ उभिएको नुप्त्से (शेर्पा भाषामा पश्चिम चुचुरो) र दक्षिणतर्फको ल्होत्से हिमाल (शेर्पा भाषामा दक्षिण चुचुरो) तथा कालापत्थरसँगै शिरको पुमोरीलगायतका हिमालको पानारोमिक भ्यूमा हेर्न पाउनु जति रोमाञ्चक र सुन्दर छ त्यतिनै सङ्घर्ष त्यहाँसम्म पुग्नमा रहेछ । पुमोरीको अर्थ शेर्पा भाषामा अविवाहित छोरी भनिने रहेछ । कतिपयले यसलाई सगरमाथाको छोरीका रूपमा पनि अर्थ्याउने रहेछन् । कालापत्थर पुग्ने हाम्रो योजना दसैँ अगाडि नै बनिसकेको थियो । तर पर्यटकीययाम भएकाले विदेशी पर्यटकको बाक्लो उपस्थितिका कारण जहाजको टिकट र हेलिकप्टर पाउनै मुस्किल हुनेरहेछ । काठमाडौं–लुक्लाका लागि विमानको टिकट नपाएपछि हामी काठमाडौंबाट गाडीमा रामेछाप पुग्यौँ । प्रतिकूल मौसमका कारण विमान मन्थली–लुक्ला–मन्थली विमान र हेलिकप्टर नचल्दा हामीभन्दा अगाडि नै करिब पन्ध्र सय पर्यटक मन्थलीमै रोकिएका रहेछन् । त्यति नै सङ्ख्यामा लुक्लाका होटलमा रहेछन् । मन्थलीमा तीन दिन कुर्दा पनि मौसम अनुकूल नभएपछि हामी काठमाडौं फर्कन बाध्य भयौँ । तर काठमाडौं फर्केको एकाध दिनमा मौसम खुल्यो । मौसमसँगै हाम्रो मन पनि उज्यालियो । काठमाडौंबाट रामेछापसम्म गाडीमा र त्यहाँबाट विमान चढ्ने हाम्रो योजना बने पनि संयोगले काठमाडौं–लुक्लाको उडानको टिकट मिल्यो । अक्टोबर २५ तारिखमा तीन जना र भोलिपल्ट दुई जना विमान तथा एक जना हेलिकप्टरमार्फत हामी लुक्ला पुग्यौँ । दुई जना भने पहिले नै लुक्ला पुगिसकेका थिए । हामी लुक्लामा छँदा त्यहाँका प्रायः सबै होटल पर्यटकले भरिएका थिए । पर्यटन व्यवसायीका लागि ‘पिकआवर’ थियो । प्रायः सबै खालको सुविधा प्राप्त हुने लुक्ला सगरमाथा क्षेत्रका लागि प्रवेश विन्दु हो । यहाँसम्म पुग्नका लागि हवाई उडान एकमात्र विकल्प हो । त्यसो त केही पर्यटक सल्लेरी हुँदै पदयात्रामार्फत पनि पुग्ने रहेछन् । यद्यपि अब लुक्लालाई मोटरेबल सडकको पहुँचले जोड्ने काम पनि भइरहेको रहेछ । विमानस्थल नजिकै बसपार्क निर्माणका लागि जग्गा पनि छुट्याइएको रहेछ । लुक्लासम्म सामान ढुवानीका लागि मानिसबाहेक विमान, हेलिकप्टरका साथै खच्चर र घोडा प्रयोग गरिन्छ भने त्यसभन्दा माथि हेलिकप्टर, खच्चर र घोडाले बोक्छन् । खच्चरलाई नाम्चेभन्दा माथि लैजान पाइँदैन । दुई दिन अगाडि नै लुक्ला पुगेका हामी तीन जनाले लुक्लाको गाउँ र बजार घुम्न पायौँ । स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले सुच्या र अमेरिकानोको स्वाद चखाउँदै पासाङल्याह्मु शेर्पाको सङ्ग्रहालयसहित लुक्ला बजार घुमाए । स्थानीय जनप्रतिनिधि, व्यापारीलगायतसँग भलाकुसारीसहित गुम्बालगायतका ऐतिहासिक सम्पदा पुग्ने मौका पनि जुर्यो । कालापत्थर जानुभन्दा अघिल्लो दिन मेरापिक जाने बाटोतर्फ पदयात्राको छोटो–मीठो ‘रिहर्सल’ पनि गर्न पायौँ । गोरकसेप जानका लागि अक्टोबार २७ तारिखको बिहान साढे ६ बजे नै हेलिप्याड बोलाइएको थियो । हामी त्यहाँ पुग्दा हेलिकप्टर उडान र अवतरण भइरहेको थियो । विदेशीहरू आउने र जाने क्रम चलिरहेकै थियो । यत्तिकैमा हाम्रो पनि पालो आयो । लुक्लादेखि पाक्दिङ, नाम्चेबजार, पाङबोचे, दुक्ला हुँदै विभिन्न हिमशृङ्खला र हिमताल हेर्दै निमेषभरमै गोरकसेप पुगेको पत्तै भएन । गोरकसेपबाट कालापत्थरको उचाइसम्मको दूरी धेरै होइन । समथर भए १० मिनेट र पहाडमा भए करिब ३० मिनेट । तर उच्च उचाइको उक्त क्षेत्रमा पाइला अघि बढाउनै मुस्किल हुनेरहेछ । हामी त्यसै पनि दुई घण्टामा ५ हजार १८० मिटरबाट ५ हजार ६५३ मिटरको उचाइमा पुग्दै थियौँ । पाइलैपिच्छे अल्टिच्युड बढ्ने भएकाले प्रत्येक पाइला चाल्दा मात्रै शरीरमा बोझ थपिएजस्तो हुनेरहेछ । हामी प्रत्येक १०–१५ पाइलापछि थकाइ मेट्थ्यौँ । सबैभन्दा अगाडि मिङ्मा र पछाडिबाट नाम्गेल शेर्पाले टोलीलाई सम्हाल्दै अगाडि बढाइरहेका थिए । फुर्बाले समयसमयमा चकलेटको टुक्रा र त्यसलाई निल्न तातोपानी दिँदै शरीरमा ऊर्जा थपिरहेका थिए । कमल प्रसाईँ तस्बिर र श्रव्यदृश्य कैद गर्दै अगाडि बढेका थिए । कालापत्थरको चुचुरोमा पुगेपछि मिङ्माले हिमालबारेको अनुभव साटे । ‘तपाईँहरूले देखेको सगरमाथा, नुप्त्से र ल्होत्से पहिलेजस्ता छैनन्, १७ वर्षअघि मैले यस क्षेत्रमा काम गर्दा हिमालमा बाक्लो हिउँ हुन्थ्यो, तर अहिले कालापहाडजस्तै बनेका छन्, कतैकतै मात्रै बाक्लो हिउँ देखिन्छ अन्यत्र पातलो छ,’ उनले भने । उनका अनुसार यो जलवायु परिवर्तनको असर हो । यही कारणले खुम्बु क्षेत्रकै थोमेमा केही समय अगाडि बाढीपहिरो गयो । दुईवटा हिमताल फुट्दा पर्यटकीय गाउँ थामेको पहिचान मेटिएको उहाँको बुझाइ छ । पर्यटन व्यवसायी नाम्गेलले पनि त्यस्तै अवस्था सुनाउनुभयो । सगरमाथाको पारिपट्टिको चीनमा भएका ठूला औद्योगिक क्षेत्रबाट उत्पन्न हुने कार्बन उत्सर्जनको असर हाम्रो हिमालमा देखिएको उनको बुझाइ थियो । त्यसो त गत वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले खुम्बु क्षेत्रमै आएर जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत जनाएका थिए । जलवायुको असर खुम्बु क्षेत्र हिमाल हेर्न रहर गर्नेका लागि जति रहरलाग्दो छ, त्योभन्दा बढी पीडा जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबाट यहाँका स्थानीय पीडित छन् । एसियाली विकास बैंकले केही दिनअघि प्रकाशित गरेको ‘द रुफ अफ द वर्ल्ड इज मेल्टिङ’ शीर्र्षकको लेखमा जलवायु परिवर्तनका कारणले एसियाका हिमनदी तीव्रगतिमा पग्लन थालेकाले यसले स्थानीयमा जोखिम बढाएको उल्लेख छ । हिमनदी पग्लन थालेपछि खानेपानीका लागि हिमनदीमा आश्रित एसियाका दुई अर्बभन्दा बढी व्यक्ति प्रभावित भएको समेत उल्लेख छ । त्यतिमात्र होइन, हिमालबाट बग्ने उक्त पानी खानका लागि मात्र नभई विद्युत् उत्पादन, सिँचाइ, पशुपक्षी तथा माछापालन र कृषिमा समेत महत्वपूर्ण मानिएकाले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख छ । खुम्बुमात्र होइन, नेपालसहितका आठवटा देशमा फैलिएको विश्वको तेस्रो महत्वपूर्ण ‘वाटर टावर’ भनिने हिन्दुकुश हिमालय क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा प्रभावित छ । हिन्दुकुश हिमालय क्षेत्रलाई अत्यधिक ‘आइस रिजर्भ’का कारण पनि पृथ्वीको तेस्रो पोल पनि भन्ने गरिन्छ । एसियाली विकास बैंकको अध्ययनअनुसार यस शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रमा जलवायु परिवर्तनका कारण जम्मा भएको हिउँको ७५ प्रतिशत पग्लनेछ । यसले बाढीपहिरो बढाउनुका साथै खानेपानी, सिँचाइ, कृषि, जलविद्युत््लगायतका लागि खानेपानीको अभाव सुरु हुनेछ । कुल तीन हजार पाँच सय किलोमिटर हिमाली क्षेत्रमा फैलिएको यो क्षेत्र नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानसम्म फैलिएको छ । यो क्षेत्रबाट निस्कने प्रमुख नदीमा अमु दर्या, ब्रह्मपुत्र, गङ््गा, हिन्दुस, एरावती, मेकोङ, सलविन, तारिम, याङते र यल्लो नदी छन् । जसमा यस क्षेत्रको ठूलो जनसङ्ख्या आश्रित छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । त्यसैले हिमालमात्र होइन, यससँग आश्रित तराईसम्मको पारिस्थितिक प्रणाली जोगाउनका लागि पनि जलवायु परिवर्तनले पारेको असरबारे गम्भीर हुनुपर्ने समय आइसकेको छ ।रासस