यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । ‘विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ,’ महानिर्देशक अधिकारीले भने । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले स्पष्ट पारेको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे । नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको जनाउँदै प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । टीआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् । पटक–पटक विमानस्थल विस्तार र मर्मत देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै ४ महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत (कालोपत्रे) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।
उडान समय घटेपछि बुद्ध एयरले जारी गर्यो ६ बुँदे निर्देशिका
फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । कात्तिक २३ गते शुक्रबारदेखि करिब ५ महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हुँदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुध्द एयरको विश्वास छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् । विमानस्थल विस्तारपछि एयरलाइन्सको उडान व्यवस्थापनमा पनि सहजता हुने भएकाले अहिलेको निर्धारित मर्मतको समय सान्दर्भिक रहेको प्रवक्ता कर्णले बताए । इन्ट्रुमेन्ट फ्लाईट राडर ‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भए पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैगरी भिजुअल फ्लाइट रुल्स ‘भीएफआर’ गन्तव्यहरूमा भिजिविलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ । अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ । कम्पनीले जारी गरेको ६ बुँदे निर्देशिकामा समयमै उडान भर्न पर्याप्त विमानहरू रहे पनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको उल्लेख छ । उपयुक्त कारणहरुले टिकटमा तोकिएको समयभित्रै विमानस्थल ‘चेक–इन’ काउण्टरमा रिर्पोटिङका लागि पुग्न पनि कम्पनीले यात्रुलाई अनुरोध गरेको छ । उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ । खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने कम्पनीले उल्लेख गरेको छ । उडान रद्द भएका टिकटलाई ‘रिफण्ड प्रोसेसिङ’ गरिने र त्यसका लागि तीनदेखि चार दिनको समय लाग्नेछ । एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध नगराइने कम्पनीले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरूले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने एयरले जनाएको छ ।
१० महिनामा ९ लाखभन्दा धेरै पर्यटक भित्रिए, भारतीय र चिनियाँ घट्दा अमेरिकी बढे
काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकी महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ,’ उनले भने । भारतीय र चिनियाँ घटे बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका सात हजार सात सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट छ हजार छ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ । अमेरिकी पर्यटक बढे अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी, अष्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् । मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एकसय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।