काठमाठौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ वटा होटल कम्पनी सूचीकृत छन् । सूचीकृत ६ वटा होटल कम्पनीमध्ये २ वटा होटलले मात्रै आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने घोषणा गरेका छन् ।
हालसम्म ओरियण्टल होटल्स र सोल्टी होटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् भने तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरी हिल्स, कालिञ्चोक दशर्न र सिटि होटलले घोषणा गर्न बाँकी छ ।
ओरियण्टल होटल्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
कम्पनीको असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।
यस्तै, सोल्टी होटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९२ करोड ८९ लाख ५३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।
साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।