ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’, खानामा १५ परिकार स्वाद
काठमाडौं । पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न भोजनालय विस्तारको काम तीब्र रूपमा भइरहेको छ । यहाँ पर्यटकलाई लक्षित गरी स्वादिष्ट भोजनका लागि विभिन्न ब्राण्डहरू खुलिरहेका छन् । यसैक्रममा पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामोसमय पर्यटन र सेवा उद्योगमा क्रियाशील ‘अर्थ बाउण्ड एक्सपेडिसन’ का राजन सिंखडा, मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो । नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने र सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय सिम्खडा तथा मोहन लम्सालले बताए । सिम्खडाले नेपाली खानाको परम्परागत शैलीलाई प्राथमिकता दिइएको बताए । ‘नेपाली खानाको आधार नै अचार हो । सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने छन् । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने प्रयास गरिएको छ । हाम्रो यहाँ मासुसहित विभिन्न १५ परिकार समावेश छन्,’ उनले भने । गोल्डेन थालीमा विभिन्न परिकार विकल्पका रूपमा छन् । यहाँ मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल रुचिअनुसार छनोट गरेर खान पाइन्छ । ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको सञ्चालक लम्सालले जानकारी दिए । यहाँ एकैपटक एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता रहेको उनले बताए । ‘हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म सेवा दिइरहेका छौँ । हामीले शाकाहारी भोजनका लागि ५५० रुपैयाँ र मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लिने गरेका छौँ,’ उनले भने । द गोल्डेन थालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनु ढकालले थरिथरीका नेपाली पाक-अनुभव बोटल्न सकिने स्थानका रूपमा विकास गर्दै जाने योजना रहेको बताइन् ।
ठमेलमा पर्यटक आए, बढेन व्यापार
काठमाडौं । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज(मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन । ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउँछन् । ‘पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्,’ ९ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने, ‘यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।’ ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू । व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् । पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ । ‘विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन,’ व्यवसायी थापाले सुनाए । ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ । यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक ५० हजार रुपैयाँदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले १० हजार रुपैयाँ कमाइ हुने गरेको बताए । कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताउँछन् । शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् । फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् । ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन । ‘यसपटक मान्छे ९विदेशी पर्यटक० छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्,’ उनले भने । ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको बताउँछन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए । ‘यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो, यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्यो,’ उनले भने । विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए । ‘यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन,’ उनले भने । शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो । यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनको भनाइ छ । यतिखेर मुख्य पर्यटकीय सिजन सकिने सङ्घारमा छ । ठमेलको पर्यटकीय चहल–पहल पनि विस्तारै पातलिँदै गएको छ । विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।
हवाइ भाडा बढ्यो, कुन गन्तव्यको कति ? (मूल्यसूची)
काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो । क्यानका अनुसार काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं-विराटनगर ५० रुपैयाँ, काठमाडौं-पोखरा ३० र काठमाडौं-भैरहवा ४० रुपैयाँले बढेको हो । हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ । [pdf id=526469]