आज सेयरधनी बने सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश पाइने

काठमाडौं । सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मसिर १२ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ ।

 १८ औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु

काठमाडौं । पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औं हात्ती तथा पर्यटन महोत्सव-२०८१ आगामी पौष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताए । उनले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताए । उनले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत हुने अध्यक्ष गिरीले बताए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

लुक्लामा दैनिक १ सय उडान, ५ दिन अघिदेखि बुकिङ गर्दापनि टिकट पाउन मुस्किल

सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा २ हजार ४ सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते २२३ जना भित्रिँदा ३६२, ५ गते ११९ भित्रिँदा ३२० र ६ गते ८० भित्रिँदा ३७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा ३०३, ८ गते ५३ पर्यटक भित्रिँदा ४८१ जना, ९ गते १३६ भित्रिँदा ३०३ जना र १० गते १३२ पर्यटक भित्रिँदा २५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ । चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उनको भनाइ छ । दर्नालले भने, ‘पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।’ नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उनको अनुमान छ । लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो ‘सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौं र रामेछापबाट जहाजहरू खाली आउछन् । तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ,’ प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले भने । उनका अनुसार काठमाडौं तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् । लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ । यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरू बताउँछन् । लुक्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन ४/५ दिन अघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाले बताए । विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको उनको भनाइ छ । लुक्लाबाट काठमाडौंका लागि विदेशी पर्यटकलाई २९ हजार ४८० रुपैयाँ र नेपालीलाई ११ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ । जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौं फर्किने गरेका छन् । लुक्ला विमानस्थलमा अहिले झण्डै १ सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ । फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । ‘सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, ४ हजार ४१० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज १ हजार ८ सय मिटरदेखि ८ हजार ८४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।