पर्यटनमन्त्रीले गरे त्रिभुवन विमानस्थलमा निर्माणाधीन पूर्वाधार निरीक्षण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायतका पूर्वाधारको अवलोकन गरेका छन् । पर्यटनमन्त्रीसहितको टोलीले आज विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गतका कामको अवलोकन गर्नुका साथै प्रगतिबारे जानकारी लिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको छ । निर्माणाधीन पूर्वाधार अवलोकन गर्दै मन्त्री पाण्डेले हाल भइरहेका काम सन्तोषजनक रहेको बताए । उनले निर्धारित समयमै निर्माण सम्पन्न भइ उडान सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले तोकिएकै समयमा काम सम्पन्न गर्न तीन वटा ठेक्का सम्झौता गरेर काम भइरहेको जानकारी दिए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्ने छ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।
माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउँदै होटल संघ, यस्ता छन् अन्य कार्यक्रम
काठमाडौं । होटल संघ नेपाल (हान) ले आगामी माघ २ गते ‘नेपाल सत्कार दिवस २०२५’ मनाउने भएको छ । हानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो दिवस मनाउनेबारे जानकारी गराएको हो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्दै आएको छ । यसअघि पनि संघले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०२४ आयोजना भइसकेको छ । होटल संघका अध्यक्ष विनायक शाहका अनुसार सत्कार दिवस होटल क्षेत्रले वर्षैभरि भोगेका अवस्था र विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषय प्रस्तुति रहनेछन् । यो वर्ष आयोजना हुन लागेको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक २०२४ विमोचन हुने कार्यक्रम रहेको छ । साथै सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनालाई सत्कारस्वरूप प्रस्तुत गरिने पनि संघका अध्यक्ष शाहले जनाएका छन् । उक्त अवसरमा विभिन्न विधाका प्रायोजकद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्ष मुख्य आकर्षण रहने अध्यक्ष शाहले बताए । साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कृत गरिने जनाइएको छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्ने प्रायोजकहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि संघले जनाएको छ । देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ । उक्त दिन पर्यटन क्षेत्रमा भएका ऐन, कानुनलाई संशोधन गरेर धेरैभन्दा धेरै पर्यटकलाई भित्र्याउने उद्देश्यले सत्कार दिवस मनाउन लागेको संघका महासचिव साजन शाक्यले बताए । शाक्यका अनुसार पर्यटन क्षेत्रले मात्रै देशको आर्थिक क्षेत्रमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई उत्थान गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने जनाए । अहिले होटलहरुले ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भइसकेको हुँदा त्यसअनुसार पर्यटक भित्र्याउन सके नेपालबाट विदेश पलायन हुने जनशक्तिलाई रोक्न सक्ने शाक्यले बताए ।
आन्तरिक उडान ठप्प हुँदा अलपत्र यात्रु, काटेको टिकट के हुन्छ ?
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुन सकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौं बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौंबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुन नसकेको जानकारी दिए । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए । उनका अनुसार उडान समयमै हुन नसकेपनि यात्रुले काटेको टिकटमा आजै वा अर्को दिन पनि यात्रा गर्न सक्ने बताए । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । ‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,’ मौसमविद् महर्जनले भने, ‘बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।’ उनले पश्चिमी न्यून चापीय प्रणालीको बढी प्रभाव सोमबार र मंगलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताए ।