मार्च महिनामा हिमाल आरोहीबाट संकलन भयो १० करोडभन्दा बढी रोयल्टी

काठमाडौं । सन् २०२५ को मार्च महिनामा १० करोड १७ लाख ६६ हजार ७४ रोयल्टी जम्मा भएको छ । मार्च महिनाभरिमा विभिन्न हिमालमा १८ जना आरोहीबाट सो रकम बराबरको रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै ७ करोड ६७ लाख ९२ हजार ६५० रोयल्टी उठेको छ । मार्चमा सगरमाथा आरोहणका लागि ५१ जना आरोही समूह त्यसतर्फ गएका छन् । सगरमाथामा चार समूहले आरोहण अनुमति लिएका छन् । अन्नपूर्णबाट एक करोड ६३ लाख ९६ हजार ९०२ रोयल्टी उठेको छ । उक्त हिमाल आरोहणको लागि ६६ जना आरोही पुगेका छन् । त्यसैगरी उक्त हिमालमा जानको लागि ६ समूहले अनुमति लिएका छन् । अन्य हिमालहरुमा लोत्सेबाट ३६ लाख ९४ हजार ९५०, मकालुबाट ३६ लाख ९६ हजार तीन सय, पोखार खाङबाट एक लाख ३९ हजार पाँच सय, थोराङ पिकबाट तीन लाख १३ हजार ६५०, सार्फुबाट ३४ हजार ८७५ रोयल्टी संकलन भएको विभागको तथ्यांक क छ । लोत्से र मकालुले समान एक-एक समूहले आरोहण अनुमति पाएकोमा १५-१५ जना उक्त हिमालमा पुगेका छन् । त्यस्तै पोखार खाङ, थोरङ पिक, सार्फु र लोत्सेले पन एक समूहले मात्रै आरोहण अनुमति पाएका छन् । मार्च महिनामा १० हिमालमा १७२ जना आरोही पुगेका छन् । जसमध्ये १८ समूह, १३२ पुरुष र ४० जना महिला छन् ।

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने, सुरक्षा र उडान क्षमतामा सुधार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोमबारदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरेको हो । गत कात्तिक २३ गतेदेखि विमानस्थलको सञ्चालन अवधि घटाएर दैनिक १४ घण्टा मात्र राखिएको थियो । तर, अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे खोलिने विमानस्थल राति १२ बजे बन्द हुने छ । यसअघि सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र थियो । विमानस्थल कार्यालयका अनुसार धावनमार्गसँग जोड्ने लिंक वे निर्माण कार्य सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार विमानस्थल सञ्चालन गर्न सकिने अवस्था बनेको हो । विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै सुरक्षा तथा उडान क्षमतामा सुधार आएको छ । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढ्ने अपेक्षा गरिएको छ । हालको नयाँ समय तालिका भने कात्तिक २३ अघिको भन्दा केही छोटो छ । स्तरोन्नति अघि विमानस्थल राति २:३० बजेसम्म सञ्चालनमा रहन्थ्यो भने बिहान ६ बजेभन्दा अघि नै खुल्थ्यो । तर, नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा तथा बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार अब यही समय तालिका स्थायी रूपमा कायम रहने सम्भावना छ । नयाँ सञ्चालन अवधिले हवाई यातायातको सुचारुता बढाउने विश्वास गरिएको छ ।

सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

काठमाडौं । सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ । चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ । पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे । हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान सुरु गरिसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले यसको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा ‘कनेक्टीभिटी’को भूमिका हुने बताउँदै उनले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्सको प्रशंसा गरे । उनले भनृ, ‘चुनौती बाँकी रहे पनि, सरकारी सहयोगले तिनीहरूलाई सम्बोधन गर्न सकिन्छ । गण्डकी सरकार पोखरामा हिमालय एअरलाइन्स्को सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान सुरु भइसकेका अवस्थामा पर्यटकलाई पोखरा आउँ आउँ लाग्ने वातावरण बनाउनुपर्ने बताए । हिमालय एअरलाइन्स्ले पोखरा–ल्हासा मार्गमा साप्ताहिक उडानको सफलतापूर्वक स्थापना गरेको बताउँदै उहाँले आगामी दिनमा एअरलाइन्स्को उडान सञ्चालनलाई विस्तार गर्ने दिशामा लाग्न शुभकामना व्यक्त गरे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडानलाई नियमित गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताए । पोखराबाट पहिलो निर्धारित तालिका, उडान सेवा र १४औँ अन्तरराष्ट्रिय उडान प्रदान गरेकामा हिमालय एयरलाइन्स् प्रति धन्यवाद व्यक्त गर्दै उनले ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत पुग्ने बताए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुुन्दर नगर पोखरामा सुरु भएको व्यवसायिक उडानले निरन्तरता पाउने विश्वास व्यक्त गरे । नेपाल र चीन बीचको ७० वर्षको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्ने उनले विश्वास व्यक्त गरे । पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिदै उनले निर्धारित अन्तरराष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको उल्लेख गरे । हिमालय एयरलायन्सका अध्यक्ष झोउ एनयोङले ऐतिहासिक उडान हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि ठूलो सफलता भएको बताए । यसले पोखरालाई प्रमुख अन्तरराष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवर्द्धन गर्ने उनको भनाइ छ । यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण पहल भएको उनको धारणा छ । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले हिमालय एअरलाइन्स्लाई पोखराबाट उद्घाटन र निर्धारित उडान दुवै सञ्चालन गर्ने पहिलो एअरलाइन्स् भएकोमा बधाई दिए । उनले पोखराका पर्यटन व्यवसायी र सरोकारवालाहरूलाई पोखरा–ल्हासा मार्गलाई सफल बनाउन सहयोगको अनुरोध गरे । हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए । हिमालय एअरलाइन्स्ले सधैँ चीनमा नयाँ गन्तव्यहरू खोज्दै आएको र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको उल्लेख गर्दै उनले यो नयाँ रुटको सुरुवातसँगैै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको बताए ।