कञ्चनजङ्घा आरोहणको ७० वर्ष पूरा, शेर्पा गाईड, अनुसन्धनकर्ता र पर्वतीय अभियान्तालाई सम्मान गरिने

काठमाडौं । कञ्चनजङ्घा हिमाल हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले तीन दिने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले उक्त कार्यक्रमको नाम ७०औँ वार्षिक उत्सव (के७०) दिएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम आगामी वैशाख २०८२ साल वैशाख ५ देखि ७ गते (अप्रिल १८ देखि २०) ताप्लेजुङ्गको फक्ताङ्लुङ गाउँपालिका–५, लेलेपमा हुनेछ । कार्यक्रममा समृद्ध पहाड र नेपाल पर्वतारोहण संघलले समेत सहकार्य गर्नेछन् । आरोहणको ७० वर्ष पूरा भएको अवसरमा इतिहासमा विशेष योगदान पुर्‍याएका पर्वतारोहीहरू, शेर्पा गाईड, अनुसन्धनकर्ता र पर्वतीय अभियान्ताहरुलाई सम्मान गरिनेछ । यस कार्यक्रमले स्थानीय समुदाय, विभिन्न संघसंस्था र विभिन्न सरोकारवाला निकायलाई एकसाथ जोडिन मद्दत पुग्ने आयोजकले जनाएको छ । पर्वतीय पर्यटनको प्रवद्र्धन, हिमालको संरक्षण, ऐतिहासिक उपलब्धिको कदर, स्थानीय समुदायको समृद्धि, र दिगो पर्वतारोहण प्रचार–प्रसार एवं रणनीतिक विकास जस्ता उद्देश्य यो कार्यक्रमको रहेको समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेले बताए । उनका अनुसार यस उत्सवले कञ्चनजङ्घा क्षेत्रको अलौकिक सुन्दरता, जैविक विविधता एवं पर्वतीय पर्यटनको सम्भावनालाई विश्व समुदाय समक्ष पुर्‍याउन मद्दत पुग्नेछ । हिमाली परिस्थिति प्रणालीको संरक्षण, जलवायु परिवर्तनले कञ्चनजङ्घा हिमाल र आसपासका क्षेत्रहरूमा पारेका असरबारे सचेतना जगाउने, शेर्पा, लिम्बू, राई लगायतका स्थानीय समुदायको पर्वतीय पर्यटनमा योगदानलाई सम्मान गरी स्थानीय परम्परा एवं साँस्कृतिक महत्वलाई प्रचार–प्रसार गरिने उनले बताए । कञ्चनजङ्घा आरोहणका विविध आयामहरुको नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी अन्तर्राष्ट्रिय पर्वतारोहीहरुका लागि सुरक्षित, दिगो, उत्तरदायी र आकर्षक बनाउने रहेको आयोजकको दाबी छ । न्यौपानेका अनुसार अप्रिल २४ मा काठमाडौंमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ । उक्त कार्यक्रममा प्रथम नेपाली पुरुष आरोही आङ फुर्बा शेर्पा, प्रथम नेपाली महिला आरोही निमा जाङमु शेर्पा, मिङ्मा डेभिड शेर्पा, अभिनेत्री तथा समाजसेवी मनिषा कोइरालगायतको उपस्थिति रहनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल सरकारका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, पर्वतारोहीहरू, सञ्चारमाध्यमहरू, तथा निजी क्षेत्रका साझेदारहरूको सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रममा ऐतिहासिक आरोहण तथा संरक्षण प्रयासहरूको दुर्लभ तस्बिरहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । जुन विश्वकै तेस्रो अग्लो हिमाल हो ।

पोखरामा दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन सुरु, ३० विश्वविद्यलायका १५० जना सहभागी

काठमाडौं । ‘दीगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ । कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यलाय एवं क्याम्पसबाट १५० जनाको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आर्थिक विकास र दीगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताए । उनले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषयका भएको उल्लेख गर्दै स्वदेशमा नै उनीहरूको उपयोग हुने वातावरण तयार निर्माणको खाँचो औँल्याए । कालिका बहुुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । क्याम्पस प्रमुख वीरञ्जी गौतमले गुणस्तर सुनिश्चित तथा प्रत्यायन (क्युएए) प्राप्त क्याम्पसद्वारा गरिएको यस किसिमको कार्यक्रम पोखराको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको धारणा राखे । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैभव पौडेललगायतले पाठ्यक्रम र व्यवसायबीचको तालमेल हुनु जरुरी भएको धारणा राखे । ओटिएस एकेडेमी युकेको सह आयोजना एवम् विश्वविद्यलाय अनुदान आयोग, व्यवस्थापन सङ्काय त्रिभुवन विश्वविद्यालय, पोखरा महानगरपालिका र केसी ग्रुपको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न प्राध्यापक एवम् अनुसन्धाताका विषयगत प्रस्तुतीसँगै विभिन्न विषयमा समूहगत छलफल रहने आयोजकले जनाएको छ ।

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

काठमाडौं । नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्यटन प्रवर्द्धनका लागि गुरुङ समुदायको परम्परागत नृत्य, झ्याउरे नाच, घाँटु नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछन् । साथै पर्यटकलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे (घरबास) भ्रमण गराइनेछ । घलेगाउँलाई ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिँदैछ । वातावरणमैत्री प्रविधि, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा डिजिटल पूर्वाधार विकासमा ध्यान दिइनेछ । उनका अनुसार कार्यक्रमअन्तर्गत ग्रामीण पर्यटनको भविष्य, आवश्यक नीतिगत सुधार, सार्वजनिक-निजी साझेदारीका अवसरबारे छलफल गरिनेछ । समारोहमा फुटसल, म्याराथन दौड, साइक्लिङ, साहसिक खेल आयोजना गरिनेछन् । विजेतालाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । फुटबल प्रतियोगितामा एमएससी क्लब बालिया (भारत), त्रिवेणी युवा क्लब बेँसीसहर, नाल्मा ११, बिवाइसी भोटेओडार, भूइँखेल फुटबल क्लब, अभिषेक चर्च, फ्रेण्डसिप युथ क्लब, गुन्नी फुटबल क्लब, सीवाईसी नेपाल तुरतुरे, रड्स रामपुर, एन्फा मनाङ र बँसीसहर युथ सोसाइटी सहभागी हुनेछन् ।