पोखरा-छेन्दु उडान निरन्तर गर्न सबैको सहयोग आवश्यक
काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताए । पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै उनले उक्त उडानसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावना बढेको बताए । पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङछिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै उनले सिचुवान एयरलाइन्सको धेरै देशमा रहेको सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिए । चीनको माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएमा त्यसले यहाँको अर्थतन्त्रलाई थप महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानमा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दुु र छोङछिङमा गरिएका ‘बिटुबी’ तथा ‘सेल्स मिसन’ले यहाँको पर्यटनमा योगदान पुर्‍याएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा चीनको सम्बन्धलाई थप उजागर गरेको बताए । परिषदका महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारी लगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत अनुकरणीय रहेको धारणा राखे ।
क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौंको सहयोग, जाकिया रेष्टुरेन्ट सञ्चालनमा
काठमाडौं । क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौंले आर्थिक सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताइन् । उनले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राखिन् । ‘यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ,’ अभिनेत्री कोइरालाले भनिन्, ‘होटल मक्र्योर काठमाडौंले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।’ सञ्चालक बस्नेतले अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गरे । बस्नेतले भने, ‘अन्तरराष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ उनले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताए । क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताए । ‘आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ,’ उनले भने । विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ । जाकियाको शुभारम्भ सोही अवसरमा अभिनेत्री मनिषा कोइरालाले होटलमा भारतीय भोजनालय जाकियाको शुभारम्भ गरेकी छिन् । भारतीय पाककलाको संस्कृति नेपालमा भित्र्याउने उद्देश्यले जाकिया रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक विजय नम्मारन एसले बताए । ‘भारतीय भोजनप्रेमी, नयाँ स्वाद मन पराउने तथा विशेष किसिमका परिकारमा रुचि राख्नेलाई लक्षित गरी जाकिया सञ्चालनमा ल्याइएको हो, रेष्टुरेन्टमा मुर्ग शहजहानी, नल्ली निहारील र कसुन्दी झिन्गालगायत परिकार विशेष छन्,’ उनले भने ।
नेपाल-चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
काठमाडौं । चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्या लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिइन् । 'आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौं,’ अध्यक्ष तामाङले भनिन् । कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गरिने कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए । उनले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिए । ‘कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए ।