रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धि जरूरी

काठमाडौं । पुनस्थापनात्मक पर्यटन ‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धिसँगै ज्ञान र सीपसहित यसतर्फ आकर्षण गर्ने उद्देश्यले एक अन्तरक्रिया गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम (बिटिटिएम) का पाँचौँ सत्रका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिए ।  नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझाले कार्यक्रमले युवा पर्यटनकर्मीलाई आगामी दिनमा पर्यटन क्षेत्रमा व्यावहारिक रूपमा लागू गर्न तथा पर्यटनको अनुसन्धान र सरकारी नीति निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले कुनै पनि मुलुकले दिगो पर्यटनलाई प्राथमिकता दिए पनि रिजेनेरेटिभ पर्यटनबारे खासै ध्यान नदिइएको सन्दर्भमा नेपालमा आगामी दिनमा नीतिगत रूपमा सुधार गर्न सहयोग पुग्ने बताइन् ।  ‘सस्टेनेबल टुरिजम टू रिजेनरेटिभ टुरिजम’ शीर्षकमा विशेष वक्ता सोसियल टुर्सका संस्थापक राज ज्ञवालीले रिजेनेरेटिभ टुरिजमको अवधारणा र भविष्यको पर्यटनबारे प्रस्तुति दिए । छलफल सत्रमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव युबिका भण्डारी, कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत सीईओ) विजय अमात्य र पर्यटन अनुसन्धानकर्ता राक्सित बहादुर खड्का सहभागी थिए ।  ज्ञवालीले पर्यटनलाई दिगो बनाउन गुणस्तरीयतामा ध्यान दिनुपर्ने खाँचो औंल्याए। पर्यटनलाई नयाँ ढङ्गले पुनःस्थापना गर्न युवापुस्तालाई यसप्रति प्रोत्साहन र दक्षता अभिवृद्धि गर्न रिजेनेरेटिभ टुरिजम अपरिहार्यता भएको बताए । पर्यटनमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिएको खण्डमा मात्रै दिगो पर्यटन सार्थक हुने उनको धारणा छ । नाट्टाका महासचिव युबिका भण्डारीले समयक्रमसँगै रिजेनेरेटिभ टुरिजम ट्रेन आएको भन्दै पर्यटनलाई नयाँ तौर तरिकाले विकास र यसको पहुँच स्थानीयस्तरमा जोड्नका लागि महत्वपूर्ण रहेको बताइन् ।  उनले भनिन्, ‘नेपालले विगतमा पनि रिजेनेरेटिभ टुरिजममा काम गर्दै आएको छ । संरक्षण क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । हामीले दिगो पर्यटन मात्रै ध्यान दिएको भए अहिलेको अवस्थामा आउन कठिन हुने थियो । पर्यटनले प्रकृतिलाई कसरी अपडेट गर्छ अहिलेको पुस्ताले पर्यावरण मैत्री पर्यटनलाई सँगै लैजान पनि ध्यान खिच्छ ।’  कोरा टुर्सका सीईओ विजय अमात्यले रिजेनेरेटिभ पर्यटनको अवधारणामा विश्वमा विगत १० वर्षदेखि आएको र नेपालले पछिल्ला वर्षहरूमा यसको आवश्यकता र सान्दर्भिकता बारे बहस गरिरहेको भन्दै नेपालको सन्दर्भमा यो अपरिहार्य भएको बताए ।  पर्यटन प्रशिक्षक डम्बरराज भट्टले दिगो पर्यटनमा भएका कामलाई पुनः नयाँ सोच र अवधारणाका साथ लैजान उदाहरणका रूपमा लोप भइसकेका संस्कृतिलाई पुनर्जागृत गर्ने, वन वन्यजन्तु र वातावरण संरक्षणसँगै पर्यटन अगाडि बढाउने नयाँ अवधारणाका रूपमा रिजेनेरेटिभ टुरिजमको अवधारणा विकास भएको उल्लेख गरे ।  यस कार्यक्रमले नेपालको पर्यटन उद्योगको भविष्यका बारेमा सोच र अवधारणा तयार गर्नका साथै दिगोबाट पुनरूत्थानात्मक पर्यटनमा सरेर, नेपालले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण मात्रै गर्दैन, वृद्धि गर्ने जिम्मेवार पर्यटन गन्तव्यका रूपमा आफ्नो स्थिति बलियो बनाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा नेपाली वास्तुकला, माटोको कला, बाँसका सामग्रीहरू प्रदर्शनी गरिएको थियो । 

विश्वकै उत्कृष्ट ४४ औं क्लबमा एलओडी

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् ’लर्ड अफ द ड्रिङ्क्स् विश्‍वकै उत्कृष्ट क्लबमध्ये ४४ औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडीलाई ४४ औं स्थानमा छानेको हो ।  म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्नेगर्छ । एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भूपेन कुँवरले बताए । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी  थिए । ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओड छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’ सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ । विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए । मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए । कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४ औं स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट पारे ।

हिमाल आरोहणबाट साढे २४ करोड आम्दानी, ४१ समूहका ३८१ जनाले लिए अनुमति

काठमाडौं । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन् ।  पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण-१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि मात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् । यस्तै अन्नपूर्ण-१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।