भारतको फ्लिपकार्टमा गुगलको २ अर्ब लगानी

काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५ करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब ९ करोड ७० लाख भारु लगानी गरेको छ । गुगलले यो लगानी हालै फ्लिपकार्टले १ अर्ब डलर हासिल गर्न गरिरहेको फन्डिङ राउन्डमा गरेको हो । फ्लिपकार्टले यो राउन्ड सन् २०२३ मा सुरु गरेको थियो । यससँगै यो फ्लिपकार्टको साझेदार बनेको छ । अब अमेजन, मीशो, जियो मार्ट र टाटा डिजिटलले भारतीय ई–कमर्स क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्न सक्छ । फ्लिपकार्टले वर्तमान राउन्डमा कोष जुटाउन १ अर्ब डलर उठाउँदैछ । फ्लिपकार्टले आफ्नो मूल कम्पनी र अमेरिकी रिटेल विशाल वालमार्टबाट ६० करोड डलरको वित्तीय सहयोगको आश्वासन पनि प्राप्त गरेको छ । लगानी सर्तबारे जानकारका अनुसार यो लगानी राउन्डमा फ्लिपकार्टको मूल्य ३५–३६ अर्ब डलर छ, जुन गत वर्ष फोनपे समूहबाट अलग भएपछि ३३ अर्ब थियो । अमेरिकी रिटेल विशाल वालमार्ट, जसको भारतीय ई–रिटेलरमा ८५ प्रतिशत हिस्सेदारी छ । गत वर्ष सुरु भएको कोष अभियानमा ६० करोड डलर लगानी गरेको छ । ‘गुगलको प्रस्तावित लगानी र क्लाउड सहकार्यले फ्लिपकार्टलाई आफ्नो व्यवसाय बढाउन र देशभरिका ग्राहकहरूलाई सेवा दिन यसको डिजिटल पूर्वाधारलाई आधुनिकीकरण गर्न मद्दत गर्ने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

टेलिकमको पीएसटीएन सेवा विस्थापीत, एफटीटीएच सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्ण रुपमा स्तरोन्नति गरेको छ । शुक्रबार टेलिकमको कार्यालय, पाटनमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी हुन् । सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गर्ने कार्य कम्पनीको प्रगतिको कदम भएको उल्लेख गर्दै यस कार्यका लागि अथक प्रयास र प्रयत्न गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरीन् । उनले नेपाल टेलिकम पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि भित्र्याउने लक्ष्य प्राप्तिमा लागेकोे समेत बताईन् । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख प्राविधिक अधिकृत झविन्द्र लाल उपाध्याय, बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र दूरसञ्चार कार्यालय, पाटनका कार्यालय प्रमुख निरज न्यौपाने लगायत विभिन्न वक्ताहरुले कम्पनीले समयक्रम अनुसार नयाँ प्रविधि अवलम्बन गर्ने क्रममा कम्पनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका पुरानो प्रविधि विस्थापित गरिरहेको बताए । उनीहरुले कम्पनीले आधुनिक प्रविधिलाई सदैव आत्मसात गर्ने कार्यलाई जारी राख्ने बताए । कपर प्रविधिको पुरानो जे–र्याक एक्सचेन्जको क्षमता करिव ३६ हजार रहेकोमा हाल पाटन कार्यालयमा एफटीटीएच नेटवर्कको लागि जडान रहेको ओएलटीको क्षमता ५३ हजार ४ सय र सक्रिय ग्राहक २० हजार भन्दा बढी रहेका छन् । त्यसैगरी दूरसञ्चार कार्यालय, सैंवुमा ३ हजार भन्दा बढी ग्राहक छन् । एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रुपमा भइरहको छ र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने कम्पनीले बताएकाे छ ।

कृषि विकास बैंकका सूचना टेलिकमले सेवा प्रदायकलाई पठाउने

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ ।