एनसेल फाउन्डेसनले गर्यो गोदाबरीका बाढीपहिरो पीडितलाई राहत वितरण
काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेकाे छ । एनसेल फाउन्डेसनले सोमबार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन् । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडामा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू पनि सञ्चालन गरिरहेको छ । एनसेलले हाल देशभरका १ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्दै आइरहेकाे छ ।
अब एकैदिन ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने
काठमाडौं । अब एकैदिनमा ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकले अस्थायी रूपमा रकम जम्मा गर्न पाउने संख्या बढाएकाे हाे । भुक्तानी सेवा प्रदायकहरूका वालेटमा यसभन्दा अगि एकदिनमा १० पटकसम्म मात्र जम्मा गर्न सकिने व्यवस्था थियाे । दशैं-तिहार र छठ पर्वकाे अवसरमा राष्ट्र बैंकले दिनमा ३० पटकसम्म रकम जम्मा गर्न मिल्ने व्यवस्था गरेकाे हाे । असाेज २१ गतेदेखि कार्तिक १ र कार्तिक १५ देखि २२ सम्म वालेटमा ३० पटकसम्म जम्मा गर्न सकिने राष्ट्र बैंकले जारी गरेकाे परिपत्रमा उल्लेख छ । काराेबारकाे संख्या र काराेबारकाे रकम नियमित रूपमा खुलाउनसमेत राष्ट्र बैंकले निर्देशन दिएकाे छ ।
जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमा टिकट खुला
काठमाडौं । मोबाइल वालेट तथा भुक्तानी सेवाप्रदायक खल्तीले ‘जुबिन नौटियाल लाइभ इन नेपाल’ च्यारिटी कन्सर्टको टिकटिङ खुल्ला गरेको छ । ‘एन् अटिजम केयर फाउन्डेसन’सँग सहकार्य गर्दै याे च्यारिटी कन्सर्ट गर्न लागिएकाे हाे । कन्सर्टमा जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ । कन्सर्ट डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुनेछ । कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूकाे हितमा प्रयाेग गरिने जनाइएकाे छ । सन् २०१७ देखि सञ्चालनमा आएको खल्तीबाट अनलाइन र मोबाइलबाट विभिन्न किसिमका वस्तु तथा सेवाको भुक्तानी गर्न सकिन्छ ।