टेलिकम एमडीमा दरखास्त आह्वान, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पद (एमडी) का लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो । गत साताको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद र शैक्षिक योग्यता हेरफेर गर्नुका साथै बर्खास्तीको प्रावधान पनि थप गरेको छ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि टेलिकम निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक (डेपुटी एमडी) संगीता पहाडी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । यस पदका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । प्रबन्ध निर्देशकका लागि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा १२ वर्षको कार्यअनुभव र व्यवस्थापकीय पदमा काम गरेको हुनुपर्ने छ । इच्छुक नागरिकले १५ दिनभित्र आवेदन बुझाउनु पर्नेछ ।

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुभारम्भ, १ अर्ब ७ करोड पुग्यो चुक्ता पुँजी

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरु भएको छ । एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितीमा नेपाल क्लियरिङ्ग हाउसले नेप्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुभारम्भ गरेको हो । एनसीएचएलले नेप्सलाई २८ रुपैयाँमा खरिद गरेको हो । सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) अनुसार नेप्सको १ सय कित्ता बराबर एनसीएचएलको २८ कित्ता हुनेछ । एकीकृत कारोबारपश्चात् कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) कायम रहनेछ । साथै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साविक एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधान बनेका छन् । नेप्सलाई प्राप्तिपश्चात् एनसीएचएलको हालको सञ्चालक समिति र व्यवस्थापन टिम नै यथावत रहनेछ । दुई कम्पनीबीच गत चैत २२ गते मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो भने वैशाख १३ गते सम्पन्न विशेष साधारण सभाले एकीकृत कारोबारको मिति तय गरेको थियो । नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ४५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीमा कर्मचारीको संख्या १३२ जना, प्रडक्ट ९ वटा, सदस्य बैंक तथा वित्तीय संस्था ५३ वटा, अन्य सदस्य १ सय बढी पुगेका छन् । साथै, कम्पनीको ट्रान्जिक्सन भ्यालू ११.३० ट्रिलियन र ट्रान्जिक्सन भोलुम १३१ मिलियन पुगेको छ ।

सेयर लगानीकर्तालाई नासाको अफर, एनसेलका ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवा उपभोग गर्न सक्नेछन् । यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो । समझदारीका अनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरोसेयरमा दर्ता हुनका लागि ५० रुपैयाँ लाग्ने गरेको छ । यसरी कुल १५० रुपैयाँको काम ५५ प्रतिशत छुटले गर्दा ६७.५० मा नै गर्न सकिने एनसेलले जनाएको छ । एनसेल एपको माध्यमबाट ग्राहकले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासा भए राख्न सक्नेछन् । ‘हामी हाम्रा ग्राहकलाई युज केसहरू अवसरको रूपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने । आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैं सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरू उत्साहीत रहेको उनले बताए । एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० भन्दा बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरी सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने एनसेलले जनाएको छ । ‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरणमा’ भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरू रहेको पनि उनले बताए । यस सहकार्यमा एनसेलले आफ्नो एपमार्फत नासा सेक्युरिटिजमा पहुँचमात्र सुनिश्चित गरेको उनको भनाइ छ ।