माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

काठमाडौं । अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसले बजार पुँजीकरणका आधारमा माइक्रोसफ्टलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एनभिडिया माइक्रोसफ्टलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी पनि बनेको छ । यसपछि अमेरिकाकै प्रविधि कम्पनीका रूपमा परिचित बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट र एप्पलको भने स्तर खस्किएको छ। यी तीन कम्पनीबीच विश्वबजारमा कडा प्रतिस्पर्धा छ। मंगलबार एनभिडिया कर्पको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । उता माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर छ । केहि दिन अघिसम्म शीर्ष स्थानमा माईक्रोसफ्ट नै थियो । यी दुई कम्पनीको बजार पूँजीकरण ०.०२ ट्रिलियन डलर फरक छ । रोयटर्सका अनुसार एआई कम्पनीको सेयर ३.२ प्रतिशतले बढेर १३५.२१ डलर पुगेको छ । मंगलबार एनभिडिया कर्पको सेयरमूल्य ३.५१ प्रतिशत बढेर प्रतिकित्ता १३५.५८ डलरमा अन्तिम कारोबार भएको थियो । यस वृद्धिसँगै कम्पनीको बजार पूँजीरकण ३.३३ ट्रिलियन डलर पुगेको छ । सोही दिन माइक्रोसफ्टको सेयरमूल्य ०.४५ प्रतिशत घटेर प्रतिकित्ता ४४६.३४ डलरमा अन्तिम कारोबार भएको थियो । एनभिडिया कर्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरका लागि आवश्यक पर्ने कम्प्युटर चिपहरू बनाउने गरेको छ । उसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केही वर्षयता यसको बिक्री र नाफा पनि उकालो लागेको छ । त्यस्तै, तेस्रोमा आईफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण ३.२९ डलर छ । उक्त कम्पनीको सेयर पनि १.१० प्रतिशत घटेर २१४२९ डलर कायम भएको थियो । यसअघि गत जुन ५ मा एनभिडिया एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको थियो । १० मूल्यवान कम्पनीको शीर्ष स्थानमा ८ वटा अमेरिकी कम्पनीको आधिपत्य छ । जसमा अधिकांश प्रविधिमा आधारित कम्पनी छन् । १० शीर्ष स्थानमा साउदी अराम्को पनि छ । उक्त कम्पनी भने छैटौं स्थानमा १.७८ ट्रिलियन डलरका बजार पुँजीकरणका साथ कायम छ । एजेन्सी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाको उम्मेदवारी, एनटीसी भित्रकै तीन जना भिड्दै

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् ।  यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएकाे सञ्चार तथा सूना प्रविधि मन्त्रालयले जनाएकाे छ । सूचनाअनुसार आवेदन दिनेहरूमा टेलिकमका तीन जना निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, अनिल कुमार झा र शालिग्राम पराजुली छन् । यसैगरी बिमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, वुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालको पनि आवेदन परेको छ । आवेदनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो ।

एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । योजनाअन्तर्गत मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सकिने एनसेलले जनाएको छ । एनसेलका अनुसार चाहे जन्मदिन, सहयात्रीलाई पहिलोपटक भेटेको दिन, सवारीसाधनको नम्बर वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बरलाई सधैँका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी अन रहन सकिने छ। प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सकिनेछ । योजनाको मोबाइल नम्बर ९७०५ रेन्जबाट सुरु हुनेछ । जसलाई प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने एनसेलले बताएको छ । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्ने एनसेलले जनाएकाे छ । हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता भएकाे कम्पनीकाे भनाइ छ । योजनाअन्तर्गत ९७०५ रेन्जबाट नम्बर छनोट गर्न ९ लाख बढी मोबाइल नम्बर उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बर वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’अन्तर्गत ५९९ देखि १,४९९ रूपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने एनसेलले जनाएको छ । एनसेलका अनुसार ‘सधैँ अन’ योजनाका प्लानअन्तर्गत ग्राहकले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । ८१२३३ डायल गरेर ‘सधैँ अन’ प्लानहरू सञ्चालन गर्न सकिने छ । बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ सेन्टरमध्ये कुनैमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकामा कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । एनसेलका अनुसार बुकिङ गराएको नम्बर सात दिनभित्र नलिए उक्त नम्बर बुकिङको सूचीबाट स्वतः हट्नेछ । त्यसपछि उक्त नम्बर अरू ग्राहकले पनि लिन सक्ने एनसेलले जनाएको छ ।