नेक्सजेन म्यानेजमेन्ट र अर्कबो टेकबीच व्यापारिक साझेदारी 

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स र अर्कबो टेक (आइटी कम्पनी) बीच व्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । नेक्सजेन म्यानेजमेन्टको मैतिदेविस्थित कर्पोरेट कार्यालयमा सोमबार सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र अर्कबो टेकको तर्फबाट संस्थापक र सञ्चालक भुषण गिरीले हस्ताक्षर गरे । सम्झौता पश्चात अर्कबो टेकको व्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ । यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ । अर्कबो टेकले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरी दुबै कम्पनी बीच साझेदारी भएको अर्कबो टेकका सञ्चालक भुषण गिरीले बताए । सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर अर्कबो टेक्नोलोजीको सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई व्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ । ‘पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले सञ्चालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । नेपालभित्र पनि विभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, सञ्चालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उद्योग र बैंकरबीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजनाअनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको अवगत गराउन चाहन्छौं’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुद्दतीमा लगानी गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा लगानी गर्न लागेको जनाएको हो । मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकले आफूले राख्न चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ३१ गते बेलुका ५ बजेसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी कोटेसन पेस गर्न सक्नेछन् ।

बिलिङ प्रणाली स्तरोन्नति गर्दै नेपाल टेलिकम, रिचार्ज र प्याकेज खरिद प्रभावित हुनसक्ने

काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुनसक्ने टेलिकमले जानकारी दिएको छ । त्यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुनसक्ने भन्दै उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ । मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवा भने यथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।