एनसेल फाउन्डेसनले गर्‍यो पलेशा र अन्य पारा खेलाडीहरूलाई सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशालाई सम्मान गरेकाे हाे । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो । पलेशासँगै अन्य ४ सदस्यीय टोलीलाई पनि सम्मान गरिएकाे छ । पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पारा खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए । सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्‍याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ । पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा विभिन्न अफरहरू ल्याएको छ । कम्पनीका अनुसार यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ । ‘यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीको भनाई छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । सो अफर बुधबार (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने कम्पनीले बताएको छ ।

एनसेलले मनायो १९ ‍औं वार्षिकोत्सव, २० करोड योगदान गर्ने प्रतिबद्धता

काठमाडौं । एनसेलले १९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एनसेलले सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब भन्दा बढीको योगदान गरेको कम्पनीले जनाएको छ । ‘हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हाैं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउन र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउने बताएको छ । एनसेल फाउन्डेसनको उद्देश्य नेपालमा डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियाे ।साथै आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रही रहन कम्पनीले ग्राहकहरूलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो । काेभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी रहेको एनसेलले बताएको छ । गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्‍याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । साथै भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयका कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । त्यसैगरी, २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरू राहत तथा उद्धारका लागि प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेकाे थियाे । १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । एनसेलले सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेराे माेबाइल) ले आफ्नाे सेवा सञ्चालनमा ल्याएकाे थियाे । नेपालकाे एक ठूलाे करदाताकाे रूपमा  आफ्नाे स्थापनाकालदेखि आजसम्म ३२० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्क  बुझाइसकेकाे एनसेलले जनाएकाे छ ।