क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ, जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, डिजिटल साक्षरता प्रवर्द्धन, र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। क्यान नुवाकोटको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले नारायणकुमार घलेलाई एक गतिशील नेतृत्वकर्ता भन्दै, स्थानीय स्तरमा आईसीटी विकास, डिजिटल साक्षरता, र युवा केन्द्रित गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिए । पद हस्तान्तरण कार्यक्रमका क्रममा क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल र निवर्तमान अध्यक्ष पवन नेपालले नवनिर्वाचित पदाधिकारीहरूलाई टिका, खादा, र प्रमाणपत्र प्रदान गरे। नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्: अध्यक्ष: नारायणकुमार घले उपाध्यक्ष: तारा रिमाल नेपाल सचिव: सुनिल श्रेष्ठ कोषाध्यक्ष: अजय नगरकोटी सहसचिव: विशाल सापकोटा सदस्यहरू: रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो । आईसीटी क्षेत्रमा संलग्न विज्ञ, जनशक्ति, र व्यवसायीहरूको छाता संगठनको रूपमा क्यानले डिजिटल परिवर्तन र प्रविधि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नयाँ कार्यसमितिले नुवाकोट जिल्लामा डिजिटल परिवर्तनलाई तीव्रता दिनका लागि विभिन्न नवीन कार्यक्रम र परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ । क्यान महासङ्घले आफ्नो उद्देश्यअनुसार आईसीटी क्षेत्रमा नयाँ आयाम थप्दै राष्ट्रिय स्तरमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

ओपन एआई भर्सेस मस्क : अदालतमा मुद्दा दर्ता, एआई कोल्ड वारको सुरुवात

काठमाडौं । अर्बपति एलन मस्कले संघीय अदालतमा निवेदन दर्ता गर्दै ओपन एआईलाई पूर्ण रूपमा नाफामूलक व्यवसायमा रूपान्तरण हुनबाट रोक्न आग्रह गरेका छन् । मस्क, उनको एआई स्टार्टअप एक्सएआई र पूर्व ओपन एआईका बोर्ड सदस्य शिवोन जिलिसको प्रतिनिधित्व गर्ने वकिलहरूले शुक्रबार ओपन एआई विरुद्ध प्रारम्भिक आदेशको लागि निवेदन दर्ता गरेका हुन् । यो नयाँ मुद्दाले मस्क, ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानबीचको कानुनी विवादलाई थप बढाएको छ । यस मुद्दामा टेक लगानीकर्ता रिड हफम्यान र माइक्रोसफ्ट पनि समावेश भएका छन् । मस्कले २०२४ को मार्चमा सान फ्रान्सिस्को राज्य अदालतमा पहिलो पटक ओपनएआईविरुद्ध मुद्दा दर्ता गरेका थिए । पछि उनले यो मुद्दा फिर्ता लिएर संघीय अदालतमा पुनः दर्ता गरे । संघीय मुद्दामा मस्कका वकिलहरूले ओपनएआईले कानुन उल्लङ्घन गरेको दाबी गरेका छन् । मस्कका वकिलहरूले आफ्नो उजुरीमा ओपनएआई र माइक्रोसफ्टले प्रतिस्पर्धाविरोधी कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन् । साथै च्याटजीपीटी निर्माणकर्ताले लगानीकर्ताहरूलाई प्रतिस्पर्धी कम्पनीहरूमा लगानी नगर्न सहमत गराएको पनि आरोप लगाइएको छ । माइक्रोसफ्टले भने यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । ओपनएआई हालैका वर्षहरूमा सबैभन्दा ठूलो स्टार्टअपहरूमध्ये एकको रूपमा उभिएको छ । च्याटजीपीटी निकै प्रसिद्ध भएको छ र यसले एआई र सम्बन्धित ठूला भाषा मोडलहरूमा निकै उत्साह ल्याएको छ । मस्कले २०२३ को जुलाईमा एक्सएआईको डेब्यू घोषणा गरेदेखि उनको नयाँ एआई व्यवसायले आफ्नो ग्रोकबाट च्याटबोट जारी गरेको छ । वकिलहरूले ओपनएआईले लगानीकर्ताहरूलाई ‘समूह बहिष्कार’ मा सहमत हुन आग्रह गरेको सर्तहरू ‘एक्सएआईको आवश्यक लगानी पुँजीमा पहुँच रोक्ने बताउँछन्। ओपनएआईका प्रवक्ताले एलनको यो चौथो प्रयास एउटै आधारहीन आरोपमाथि आधारित भएको र बेतुकको भएको बताए । ओपनएआई २०१५ मा गैर-नाफामूलक संस्था रूपमा स्थापना भएको थियो र २०१९ मा सीमित नाफामूलक मोडलमा रूपान्तरण भयो । अहिले ओपनएआईले पूर्ण रूपमा नाफामूलक सार्वजनिक लाभकारी संस्थामा रूपान्तरणको प्रक्रिया अघि बढाइरहेको छ । माइक्रोसफ्टले ओपनएआईमा लगभग १४ बिलियन डलर लगानी गरिसकेको छ, तर हालैको वित्तीय विवरणअनुसार यसले १.५ बिलियन घाटा बेहोर्नुपरेको छ । जनरेटिभ एआई बजार, जसले आगामी दशकभित्र १ ट्रिलियन आम्दानी पार गर्ने अनुमान गरिएको छ । मस्कका वकिलहरूले दायर मुद्दामा भनेका छन् कि ओपनएआईले माइक्रोसफ्टसँगको साझेदारीको माध्यमबाट अवैध रूपमा प्रतिस्पर्धात्मक जानकारीको फाइदा उठाएको छ। एन्थ्रोपिक, एक्सएआई र गुगलजस्ता जस्ता कम्पनीहरूले ओपनएआईलाई चुनौती दिइरहेका छन् अक्टोबरमा, ओपनएआईले स्टार्टअपको मूल्य १५७ बिलियन डलर रहेको प्रमुख फन्डिङ बन्द गरेको थियो । थ्राइभ क्यापिटलले फाइनान्सिङको नेतृत्व गरेको थियो भने माइक्रोसफ्ट र एनभीडीयालगायतका लगानीकर्ताहरूले पनि सहभागिता जनाएका थिए । (एजेन्सीहरूको सहयोगमा)

लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्यो एनसेल

काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल बनेको छ । आइतबार लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीई‌‌ओ) जब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरे । अध्यक्ष जीसीले यो सम्झौता क्रिकेटको विकासका लागि भएको बताए । उनले भने, ‘यो सम्झौता क्रिकेटको विकासको लागि हो । यो एउटा लुम्बिनी रोयल्स मात्रै नभएर, समग्र देशको लागि हो ।’ अध्यक्ष जीसीले एनसेलसँगको सहकार्यले थप हौसला दिने पनि बताए । उनले भने, ‘जति सबल टिम छ, त्यति नै अब्बल स्पोन्सर रहेको छ । एनसेलसँगको सहकार्यले थप हौसला मिल्नेछ ।’ एनसेलका सीईओ कायमुले लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्दा खुसी लागेको विचार व्यक्त गर्दै एनपीएलले नेपाली क्रिकेटमा थप विकास गर्ने बताए । मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । एनपीएलमा आठ टिम समावेश छन् । यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालैमात्र एनपीएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तिकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्‍याउने विश्वास लिइएको छ । यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजोदेखि सुरु भएको यस एनपीएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।‍