नेपालले सटही सुविधा नदिँदा ६ दर्जन भारतीय टीभी च्यानल बन्द

काठमाडौं । नेपालले रोयल्टी भुक्तानीका लागि सटही सुविधा नदिँदा करिब ६ दर्जन भारतीय टीभी च्यानल बन्द भएका छन् । बुधबार रातिदेखि नेपालमा प्रसारण हुँदै आएका ७० वटा भारतीय च्यानल बन्द भएका हुन् । केबुल टेलिभिजन महासंघका अनुसार सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट) लागु गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका कारण टेलिभिजनहरूले पैसा पठाउन नसकेका कारण यी ७० वटै भारतीय च्यानल काटिएको जनाएको छ । नेपालले सेवा प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क तिर्न नसकेका कारण भारतका मुख्य चार टिभी च्यानल प्रसारण कम्पनीहरू स्टार, सोनी, जी र कलर्सबाट आउने सबै च्यालन काटिएको महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । यी काटिएका ४ वटा भारतीय च्यानलमा कलर्सको ८ वटा, जीको १२ वटा, सोनीको १८ वटा र स्टारको ३२ वटा च्यानल  नेपालमा प्रसारण हुन्थ्यो । डिस्ट्रिब्युटरले सटही सुविधा नपाउँदा पैसा बाहिर लैजान नपाएको कारण भारतीय टेलिभिजन च्यानल बन्द भएको संघले जनाएको छ । सरकारले २०७९ चैत १५ बाट अलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरे पनि वितरकहरूले विदेशी टीभी च्यानललाई रकम भुक्तानी गर्नका लागि हालसम्म सटही सुविधा भने पाएका छैनन् । हाल वितरक, सेवा प्रदायक केबुल कम्पनी र सरकारबीच अलाकार्ट कार्यान्वयनबारे विवाद जारी छ ।

खल्तीबाट अर्को खल्ती अकाउन्टमा १०० रुपैयाँमाथि पैसा पठाउँदा सेवाशुल्क लाग्ने

काठमाडौं । डिजिटल वालेट खल्तीले दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँमाथिका कारोबार गर्दा शुल्क लिने भएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी यस्तो व्यवस्था सुरु गरिएको जानकारी दिएको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआरमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’लाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ट्यारिफ र सेवाशुल्क परिवर्तन गरेको कम्पनीले उल्लेख गरेको छ । ‘यही मिति २०८१ साउन १७ बाट लागु हुने गरी एक खल्ती प्रयोगकर्ताले अर्को खल्ती प्रयोगकर्तालाई गर्ने १०० रुपैयाँसम्मको फन्ड ट्रान्सफर सेवा निःशुल्क रहने, साथै एक दिनमा अधिकतम तीन पटक र महिनाको ३० पटकसम्म गरिने फन्ड ट्रान्सफर सेवा पनि निःशुल्क रहने जानकारी गराउन चाहन्छौं,’ कम्पनीले जारी गरेको सूचनामा छ । यसअन्तर्गत १०० रुपैयाँसम्मका सबै कारोबार निःशुल्क हुनेछन् । एक दिनमा १०० रुपैयाँ बढीका तीन ओटा कारोबारमा कुनै शुल्क लाग्ने छैन । तर, त्यसभन्दा माथिका कारोबारमा प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा अवुरुद्ध हुने भएको छ । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले सेवा अवरुद्ध हुने भएको हो । टेलिकमका अनुसरा बिलिङ्ग प्रणाली स्तरोन्नति गरिने भएकाले आज (साउन १७ गते) राति ११ बजेदेखि ४ घण्टासम्म सेवा अवरुद्ध हुनेछ । सो अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेइरी सेवाहरू प्रभावित हुने टेलिकमले जनाएको छ । ११ बजे अगाडि नै ब्यालेन्स रिचार्ज र प्याकेज खरिद गर्न कम्पनीले आग्रह गरेको छ । तर, उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस र पीएसटीएन तथा एफटीटीएच, भ्वाइस, डाटा, आईपीटीभी सेवा भने यथावत रूपमा सञ्चालन हुनेछन् । रिचार्ज तथा प्याकेज सब्स्क्रिप्सन वा अन्य सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।