पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आव २०८१/८२ मा मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा सोमबार आयोजित गत आव २०८०/८१ का कार्य प्रगतिबारे समिक्षा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले विषयगत मन्त्रालयको खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेकाले त्यसतर्फ जिम्मेवार हामी सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गरे । उनले विकासका अवरोधका रूपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गर्दै बाधक देखिएका त्यस्ता ऐन, कानुनलाई समसामयिक, व्यावहारिक एवं कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिए । आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नाले पनि कार्यप्रगतिमा वाधा अवरोध सिर्जना भएको उनको भनाइ थियो । सेवामा इमानदारीपूर्वक खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालय अन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग सञ्चारमन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए । राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियोे नेपाल, गोरखापत्रलगायतका संस्थानका आफ्नै चलअचल सम्पतिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए । ‘हामीले हाम्रै सम्पतिको संरक्षण र परिचालन गर्न नसकिरहेको अवस्था छ,’ उनले भने, ‘अल अचल सम्पतिको भरपुर सदुपयोग गरेर राजस्व बढाउनेतर्फ ध्यान दिउँ ।’ उनले राष्ट्रिय गौरवका योजनाहरुमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटेलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गरे । मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ को रूपमा लिएको जानकारी दिए । मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटेलाईट र सुरक्षण मुद्रण केन्द्र (प्रिन्टीङ प्रेस) आफ्नै बनाउने उनले बताए । ‘अबको विकास सूचना प्रविधिको हो,’ उनले भने, ‘हामीले यी विषयलाई ‘हिरो मिसन’ का रूपमा लिई अघि बढ्नुपर्दछ ।’ राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठले समस्यामा अल्झिएर नभइ समाधानसहितको बैठक बस्न आवश्यक रहेको बताए । उनले प्रविधिको विकास एवं विस्तारसहित रोजगारी सिर्जनाका सन्दर्भमा मन्त्रालयसँग आयोगले सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबीच सहकार्यको अपेक्षा गरेको बताइन् । कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभाग र निकायका प्रमुख र सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।
एनसेलको कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं । एनसेलको सेवामा सोमबार दिउँसो साढे ३ बजेदेखि समस्या देखिएको छ । एनसेलको सिम प्रयोगकर्ताहरूले फोन नलाग्ने, डेटा नचल्ने र टावर नदेखाउने समस्याहरूको सामना गरिरहेका छन् । एनसेलले यो विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै प्राविधिक समस्याका कारण सेवाहरू अवरुद्ध भएको जनाएको छ । तर, समस्या के हो भन्नेबारे स्पष्ट खुलाएको छैन् । एनसेलले समस्या समाधानका लागि तदारुकताका साथ काम भइरहेको र सेवा यथाशीघ्र पुनः सुचारु गरिने बताएको छ ।
गाउँमा ‘हिट’ भएर काठमाडौं छिरेको टेक्नो मोबाइल
काठमाडौं । नेपाली बजारमा आएका जुनसुकै सामान वा वस्तु होस्, त्यो सुरुमा काठमाडौंमा बढी चल्छ र बिस्तारै गाउँघरतिर जान थाल्छ । तर, यसको ठिक विपरीत नेपालमा यस्तो एउटा वस्तु छ जुन पहिला हिमाल र पहाडतिरका मानिसका हात-हातमा पुगेर ‘हिट’ भएपछि बल्ल संघीय राजधानी काठमाडौं प्रवेश गर्दैछ । त्यो के होला ? त्यो हो- ‘टेक्नो मोबाइल’ । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारी टेक्नोलाई मानिसहरूले पहाडको ‘आइफोन’ भन्ने गरेको बताउँछन् । ‘हामी सबैभन्दा सुरुमा हिमाल, पहाडका हरेक मानिसको हात-हातमा पुग्यौं, त्यसपछि बिस्तारै सहर छिर्यौं र अहिले मात्रै हामी काठमाडौं पस्दैछौं,’ उनी भन्छन्, ‘जो कुनै ब्रान्ड सहरमा छाएर त्यसपछि गाउँघरसम्म पुग्छन्, तर हामी मात्रै यस्तो ब्रान्ड हौं जो पहिलै नै गाउँघरमा हरेकको रोजाइ बनिसकेर अहिले मात्रै काठमाडौं प्रवेश गर्दैछौं ।’ सुरुको दिनमा सहरबाट प्रतिस्पर्धा गर्न एकदमै गाह्रो पनि थियो त्यसैले गाउँघरमा छाएर मात्रै सहर पस्ने निर्णय गरेको उनी सुनाउँछन् । गाउँघरमा हरेकले आफ्नो ब्रान्ड प्रयोग गरिसकेपछि उनीहरूको प्रतिक्रिया राम्रो आएको उनको भनाइ छ । ‘पहिले धरातल राम्रो बनाएर त्यसपछि चलेका ब्रान्डसँग प्रतिस्पर्धा गरौं भन्ने हाम्रो सोच भयो र साेहीअनुसार हामीले काम गर्यौं,’ उनी भन्छन् । अहिले टेक्नोलाई ‘पहाडको हिरो’, ‘पहाडको आइफोन’ लगायत उपनाम दिने गरेको उनी बताउँछन् । ‘सबैभन्दा कम मूल्यमा पर्फमेन्स राम्रो दिने, फोरजी राम्रोसँग चल्ने यदि कुनै पनि फोन छ भने त्यो टेक्नो मोबाइल मात्रै हो,’ उनी दाबीका साथ भन्छन्, ‘हामीले सधैं ‘बिलो द लाइन’ बसेर काम गर्यौं जसको प्रतिफल अहिले टेक्नो मोबाइल नेपालको टप पाँच ब्रान्डभित्र परेको छ ।’ मोबाइल भन्नेबित्तिकै जो कोहीले मनमा आइफोन सम्झिनु स्वभाविक हो । तर, नेपालको भौगोलिक अवस्थाका कारण यहाँको हरेक क्षेत्रमा आइफोन सम्भव छैन । जसको फाइदा उठाउँदै टेक्नो माेबाइल पहाडको आइफोन बनेकाे उनी बताउँछन् । अन्य मोबाइलको तुलानामा टेक्नो मोबाइल सस्तो रहेको उनी दाबी गर्छन् । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले पनि आफूहरू पहाडको हिरो भएर चिनिन पाउँदा खुसी लागेको भनाइ राखे । ‘जब म सबैभन्दा सुरुमा टेक्नो मोबाइलको ब्राण्डिङका लागि काठमाडौं आएँ, त्यतिबेला मलाई धेरै मानिसहरूले न्यूरोडको २,४ वटा पसल लैजानुभयो र भन्नुभयो कि यो न्यूरोडमा जति पसल छ त्यसमा आफ्नो उपस्थिति देखाउन सकियाे भने मोबाइलको बजार खाइन्छ,’ उनले विगतलाई सम्झिँदै सुनाए, ‘तर, मलाई त बजार खानु मात्रै थिएन त्यसैले मैले भने कि म पहिले गाउँघरमा टेक्नो मोबाइल बेच्छु र मात्रै सहर पस्छु, त्यसपछि सबैको आवश्यकता भइसकेपछि अनि मात्रै काठमाडौंको न्यूरोडका पसलमा मोबाइल बेच्छु, मेरो यो चाहना पूरा भएको छ, आज त्यो दिन आएको छ ।’ छोटो समयमा नै नेपालको टप ५ ब्राण्ड बन्न सकेको उनी बताउँछन् । ‘टेक्नाे माेबाइल यति छोटो समयमा नै नेपालको टप ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ,’ उनी भन्छन्, ‘ग्रहकहरूको चाहना अनुसारको उत्पादन र ग्रहकको सन्तुष्टि हाम्रो पहिलो रोजाइ हो ।’ मोबाइल ब्राण्ड टेक्नोले बिहीबार मात्रै नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताएका छन् । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी भण्डारीले गरेका छन् । साथै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको उनको दाबी छ । कम्पनीले ग्रहकहरूको सन्तुष्टिलाई पहिलो नम्बरमा राख्दै १०० दिने रिप्लेसमेन्ट वारेन्टी समेत प्रदान गरेको छ । यसरी सय दिनसम्म कुनै समस्या आए तुरुन्तै फिर्ता गरिदिने टेक्नो मात्रै पहिलो मोबाइल रहेको पनि उनी दाबी गर्छन् । टेक्नो ७० भन्दाबढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो । टेक्नोले स्मार्टफोन, स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट एचआईओएस अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत शृंखलामार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ । ब्रान्डको नेपालमा अधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको उनले बताएका छन् । कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्ने कम्पनीले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजे र खोजेअनुसार मोबाइल पाउने र सर्भिस तथा पार्टसहरू सहजै पाउने पनि कम्पनीले बताएको छ ।