टेलिग्रामका संस्थापक तथा सिइओ पावेल डुरोव पक्राउ
काठमाडौं । टेलिग्राम मेसेजिङ एपका अर्बपति संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) पावेल डुरोवलाई शनिबार साँझ पेरिस बाहिर बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको छ । निजी जहाजबाट फ्रान्सको बुर्जेट एयरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको हो । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको बताइएको छ । प्रहरीको अनुसन्धान टेलिग्राममा मध्यस्थकर्ताहरूको कमीमा केन्द्रित थियो । मध्यस्थकर्ताको अभावले मेसेजिङ एपमा आपराधिक गतिविधिलाई निरन्तरता दिएको उनीमाथि आरोप छ । डुरोव रुसी-फ्रान्सेली अर्बपति हुन् । पक्राउ परेका डुरोवमाथि आइतबारदेखि अनुसन्धान सुरु गरिने बताइएको छ । एजेन्सी
एक महिनामा साढे ३ अर्बको स्मार्टफोन आयात
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । चालु आवको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको हो । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर छ । गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ । चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ । नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, साउनमा ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।
एआई प्रविधिको दुरुपयोगप्रति उदाय् समाजद्वारा ध्यानाकर्षण
काठमाडौं । उदाय् समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा चिन्ता व्यक्त गरेको छ । समाजले आज एक विज्ञप्ती जारी गरी त्यस्ता गतिविधि सञ्चालन गर्ने समूह वा व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गर्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो । समाजले विज्ञप्ति प्रकाशित गरी कसैको वैयक्तिक गोप्यता भङ्ग हुने, मानमर्दन हुने वा प्रतिष्ठामा धक्का पुग्ने गलत प्रचारबाजी रोक्न प्रबुद्ध वर्ग, नागरिक समाज र नियमनकारी निकायको निगरानी र सहकार्यका लागि अपिल पनि गरेको छ ।