टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब  २२ करोड रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ । ‘एनटिसीको करिब १५ करोड रुपैयाँ र एनसेलको करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण संकलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब साढे सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ’, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण संकलन भइरहेको पनि उनले बताए । बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ । पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए ।

स्मार्टफोनको बजार निराशाजनक, दशैं-तिहारका लागि पनि बढेन किनबेच

काठमाडौं । अहिले मोबाइल फोन अर्थात् स्मार्टफोन नभएका मान्छे भेट्न मुस्किल छ । सूचना प्रविधिले यसरी फड्को मारेको छ कि स्मार्टफोन पनि सोचेभन्दा सस्तोमा उपलब्ध हुन थालेको धेरै भइसक्यो । बटम (कि प्याड) वाला मोबाइल सेट हुँदै स्मार्टफोनसम्म आइपुग्दा यसका फिचर धेरै बढेका छन् भने मूल्यमा पनि धेरै भिन्नता आइसकेको छ । महँगा स्मार्टफोनको भने आफ्नो भिन्नै बजार छ । तर, यसपालि दशैंमा स्मार्टफोन बजारमा खासै रौनक र चहलपहल देखिएको छैन । संघीय राजधानीको व्यस्त बजार न्युरोडमा अहिले स्मार्टफोन विक्रेताहरू ग्राहक कुरेर बसेका छन् । पोहोरजस्तो ग्राहकको भीड देख्न सकिएको छैन । न्युरोड क्षेत्रमा रहेका अधिकांश बिजनेश कम्प्लेक्स, डिपार्टमेन्टल स्टोरदेखि भुइँतलामा रहेका सटरमा स्मार्टफोन पसलमा ग्राहक आवागमन खासै बाक्लो छैन । आफूसँगै भएका स्मार्टफोन मर्मत गर्न वा टेम्पर ग्लास फेर्न वा कभर फेर्न आउने ग्राहक केही देखिए पनि नयाँ स्मार्ट फोन खरिद गर्न आउनेहरू भने एकदमै कम रहेको विकासन्यूजकर्मीको स्थलगत रिपोर्टिङले देखाएको छ । पोहोर यतिखेर स्मार्ट फोन छानिछानी किन्नेको घुइँचो नै लाग्थ्यो । तर, यसपालि दशैं सँघारमै आइसक्दा पनि स्मार्टफोन बजारले खासै गति लिन सकेको देखिँदैन । महँगा स्मार्टफोन किन्ने ग्राहक संख्या कम हुनु स्वाभाविक हो । तर, सस्तो मूल्यका स्मार्टफोन खरिद गर्ने ग्राहकसमेत कम हुँदा पसल सञ्चालकहरू यसपालि चाडबाडको व्यापार खासै गतिलाे नहुने अनुमानमा पुगिसकेका देखिन्छन् । न्युरोड पिपलबोट आडैमा रहेको ताम्राकार कम्प्लेक्समा पनि स्मार्टफोन खरिद गर्ने ग्राहकको संख्या सोचेजति देखिँदैन । ताम्राकार कम्प्लेक्स एकमात्र यस्तो कम्प्लेक्स हो, जहाँ स्मार्टफोन, ल्यापटप, मोबाइल फोनका एसेसरिज बिक्री वितरणका साथै मर्मतसम्भार हुने गर्छ । कोरोना महामारीबाट थिलथिलो बनेको मुलुकको अर्थतन्त्रले बिस्तारै लय समाउन थालेपछि स्मार्टफोन बजारले पनि गति लिइरहेको थियो । गएका वर्षहरूमा स्मार्टफोन बजारले राम्रै अंकमा व्यापार गरेको व्यवसायीहरूले अनुभव सँगालेका थिए । तर, यसपालि स्मार्टफोन बजार निराश देखिएको छ । न रौनक छ, न आशातित चहलपहल । खासमा स्मार्टफोन बजारमा किन चहलपहल नभएको होला ? स्मार्टफोन बजार नै किन निराश देखिएको होला ? व्यवसायी के भन्छन् ? स्मार्टफोनका प्रयोगकर्ता के भन्छन् ? न्युरोडमा २० वर्षदेखि मोबाइल पसल चलाइरहेका पवन रिजालले दशैं-तिहार लक्षित गरेर विभिन्न अफर ल्याए पनि बिक्री उत्साहजनक नभएको बताउँछन् । उनका अनुसार पहिलाजस्तो यसपालि चाडबाडको उत्साह उपभोक्तामा देखिएको छैन । ‘यसपालि स्मार्टफोन किन्ने ग्राहक एकदमै कम छन्,’ उनी भन्छन्, ‘मोबाइल किन्नै आउनेले पनि १५ देखि ३० हजार मूल्यका मात्रै हेर्ने गरेका छन् ।’ उनका अनुसार पहिला पसल पनि कम थिए, प्रतिस्पर्धा पनि कम हुन्थ्यो । अहिले मोबाइल पसल पनि प्रशस्तै भएकाले प्रतिस्पर्धा बढेको छ । ‘अहिले मोबाइलकै ठूला स्टोर खुलेका छन्, खुद्रा पसलमै किन्नुपर्छ भन्ने छैन, ‘रिजाल भन्छन्, ‘पहिले दैनिक ३० देखि ४० सेट बिक्री हुन्थ्यो, अहिले जम्मा १०-१२ सेट पनि मुस्किलले बिक्री हुन्छ । विभिन्न अफरले पनि उपभोक्तालाई छोएको छैन ।’ बुबाका लागि स्मार्टफोन किन्न भन्दै सिन्धुलीका रिवाज खतिवडा पवनकै पसलमा पसे । उनले पवनसँग १५ हजारसम्मको स्मार्टफोन देखाउन आग्रह गरे । ‘बाढी पहिरोले गर्दा घर फर्किने बाटो सबै बिग्रिएको छ, जान पाइयो भने बुबालाई एउटा स्मार्टफोन लगिदिऊँ भनेर,’ पवनले देखाएको स्मार्टफोन हेर्दै उनले सुनाए, ‘तर, एकदमै सस्तो किन्ने सोचमा छु, आवश्यकताका हरेक वस्तु महँगिँदै गएका छन्, खर्च त सीमित छ, मैले तोकेको पैसामा मोबाइल आएन भने नकिनेरै फर्किन्छु ।’ यस्तै, न्युरोडकै अर्का मोबाइल पसल सञ्चालक मनिष श्रेष्ठ पनि यसपालि स्मार्टफोनकाे  बजारमा खासै उत्साह नभएको बताउँछन् । उनका अनुसार ग्राहकले रेडमी, रियलमी, सामसङलगायत ब्रान्डका कम मूल्यका स्मार्टफोन खरिद गरिरहेका छन् । ‘केही दिनअघि देशमा ठूलै प्राकृतिक विपत्ति आइपर्‍याे, चाडबाड मनाउन गाउँ फर्किनेले उपहार लगिदिने भनेर पनि किन्न आउँथे,’ श्रेष्ठ भन्छन्, ‘अहिले त घर जाने पनि कसरी भन्ने छ, बाढी पहिराले बाटो सबै बिग्रेको छ, त्यही भएर पनि उत्साह नभएको हुन सक्छ ।’ उनी पनि पर्ख र हेरकै अवस्थामा छन् । दशैं आउन अब एक साता बाँकी छ । ‘अब १/२ दिनपछि अलिकति चलायमान होला कि,’ उनी भन्छन्, ‘अब दशैं बोनस र तलब आउन पनि बाँकी छ होला, त्यसपछि धेरै नै नभए पनि अलिअलि त बिक्री होला ।’ अन्य समयमा पनि २० हजारदेखि ३० हजारसम्मका स्मार्टफोन किन्नेको संख्या अधिक भएको उनी बताउँछन् । भन्सार विभागको तथ्यांकले चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको सामग्री आयात भएको देखाएको छ । यसमा पनि झन्डै ७ अर्ब रुपैयाँको त स्मार्टफोन आयात भएको देखाएको छ । तथ्यांकअनुसार यो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख ५४ हजार ९ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यो तथ्यांक केलाउँदा साउनमा मात्रै २ लाख २५ हजार थान स्मार्टफोन भित्रिएको छ । बाँकी २ लाख २९ हजार सेट भदौ महिनामा आएको तथ्यांकले देखाएको छ । गत वर्षको साउनमा १ लाख ७९ हजार थान स्मार्टफोन आयात भएको थियो । उक्त वर्षको भदौमा आयात भएको मोबाइलको संख्या १ लाख ८६ हजार थान मात्रै भएको तथ्यांकले देखाएको छ । गत आव २०८०/८१ मा विभिन्न देशबाट कुल २८ अर्ब ६६ करोड रुपैयाँ बराबरको १८ लाख ३९ हजार ३५ थान स्मार्टफोन आयात भएको थियो । अघिल्लो आव २०७९/८० मा भने नेपालमा कुल २४ अर्ब ३९ करोड रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५ सय ९६ थान स्मार्टफोन नेपाल आयात भएको थियो । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराई बाढी पहिरोजन्य प्राकृतिक विपद्का कारण चाडबाडको समयमा मोबाइल बजार सुनसान देखिएको बताउँछन् । ‘केही दिनअघिको वर्षाले विपत्ति निम्त्याउनुअघि नै बजार सुनसान देखिएको थियो, अहिले त झनै सुनसान भयो,’ उनी भन्छन्, ‘पोहोरको दशैंका बेला हामीले ८० प्रतिशत मोबाइल बेचेका थियौं, अहिले २० प्रतिशत पनि पुगेको छैन ।’ दशैं आउन एक साता बाँकी रहे पनि यो एक सातामा पनि सोचेजस्तो व्यापार नहुने उनी बताउँछन् । ‘दशैं तिहारका लागि घर जानेले आफन्तजनलाई मोबाइल उपहार लगिदिन्थे,’ उनी भन्छन्, ‘यसपालि बाटोघाटो बिग्रेकाले काठमाडौंबाट धेरै मानिस बाहिर नजाने खबर छ, यसले गर्दा पनि व्यापार बढेन ।’

एनसेल फाउन्डेशनले गर्यो कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ४ सयभन्दा धेरै लाभान्वित

काठमाडौं । एनसेल फाउन्डेशनले कपिलवस्तु जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका- ९, निग्लिहवामा शिविरकाे आयाेजना गरिएकाे हाे । यस शिविरमा ४०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा शिविरकाे आयोजना गरिएको हाे । शिविरमा स्थानीयले मुटुरोग तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । साथै आवश्यकताअनुसार निःशुल्क औषधी पनि शिविरमा वितरण गरिएकाे थियाे । एनसेल फाउन्डेशनले कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने पनि जनाएकाे छ । एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू योजना बनाएको छ ।