दशैंमा इन्टरनेट जोड्नेले पाउनेछन् कार, यस्ता छन् इन्टरनेट कम्पनीका अफर

काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार तथा छठ पर्वको अवसरमा विभिन्न कम्पनीहरूले धमाधम नयाँ याेजना सार्वजनिक गरिरहेका छन् । हाल सञ्चालनमा रहेका इन्टरनेट कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न दशैंतिहारलाई लक्षित गरी विभिन्न याेजनाहरू सार्वजनिक गरिरहेका छन् । इन्टरनेट कम्पनीहरूले सार्वजनिक गरेका याेजनामा गिफ्ट ह्याम्परदेखि कारसम्म जित्न सकिने व्यवस्था गरेका छन् । इन्टरनेट खरिद गर्दा वा नवीकरण गर्दा कम्पनीले ग्राहकलाई नयाँनयाँ अफर दिएका हुन् । हेरौं कम्पनीकाे अफर : डिशहोम : स्थापनाको छोटो अवधिमै साढे तीन लाखभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा दिइरहेको डिशहोमले दशैं योजना सार्वजनिक गरेको छ । यो वर्षको चाडमा डिशहोमको इन्टरनेट जोड्ने ग्राहकहरूका लागि ‘खुसीको सेलिब्रेसन’ योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिशहोमले २ सय र ३ सय एमबीपीएसको वार्षिक रिचार्ज र नयाँ कनेक्सन गर्दा ग्राहकहरूलाई थप ३ महिना बोनस दिनेछ । अर्थात् १२ महिनाको इन्टरनेट जडान गर्दा १५ महिनासम्म उपलब्ध हुनेछ । कम्पनीको उक्त योजना खरिद गर्नका लागि डिशहोम डिलरमा सम्पर्क गर्नुपर्नेछ । वर्ल्डलिंक : वर्ल्डलिंकले डिजिटल वालेट ‘खल्ती’सँग सहकार्य गरेकाे छ । सहकार्यअन्तर्गत खल्ती प्रयोग गरी ग्राहकहरूले वर्ल्डलिंकको बिल भुक्तानी गर्दा इलेक्ट्रिकल भेइकल (ईभी) कार जित्न सक्नेछन् । गत वर्षको दशैंमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गरेर दुबई घुमौं रमेर अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यसपटक ‘गाडी चढौं सरर’ अफरमा इभी जित्ने मौका ल्याएको हो । कम्पनीका अनुसार असोज ३० गतेदेखि पुष १० गतेसम्म लागू हुने यसु योजनामा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरेमा नामी ०१ ई ३ इभी कार जित्न सक्ने कम्पनीको भनाइ छ । सोही अफरमा हरेक हप्ता सामसुङको प्रडक्ट पनि जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, बोटका प्रडक्टहरूमा ५३ प्रतिशत र सामसुङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्म छुट भौचरहरू प्राप्त गर्न सकिनेछ । यो अफर नयाँ वर्ल्डलिंक सब्सक्रिप्सन साथै नवीकरण दुबैका लागि लागु हुनेछ । यस योजनाअन्तर्गत १ महिनादेखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था छ । सोही कुपनमार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् । क्लासिक टेक : क्लासिक टेकले दशैंका लागि ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ । क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफरमार्फत इन्टरनेट आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने भएको हो । अर्थात दुवैको एकाउन्टमा बोनस थपिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट आइपी टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट आइपी टिभी बोनस पाउनेछन् । साथै वाइफाइ ६ भएको डुवल ब्याड राउटरसमेत निःशुल्क पाउने कम्पनीले बताएको छ । रिफर अफर १२५ एमबीपीएसदेखि ३ सय एमबीपीएससम्मको १ वर्षको इन्टरनेट आइपी टिभी जडान गर्दा लागू हुनेछ । १२५ एमबीपीएस जडान गर्दा प्रतिमहिना ३०३ रूपैयाँ र २ सय एमबीपीएस जडानमा प्रति महिना ५९१ रूपैयाँ लाग्नेछ । आफन्त र छिमेकी साथीभाइहरूलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ । सुविसु : केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटले ग्राहकहरूका लागि रिफर योजना ल्याएको छ । रिफर अफर अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । साथै एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ । वेबसर्फर नेपाल कम्युनिकेसन्स : वेबसर्फर नेपाल कम्युनिकेसन्सले दशैं तिहारका फाइबर नेट र आईपीटीभी विशेष अफर ल्याएको छ । अफरअन्तर्गत कम्पनीले मासिक ५३० रुपैयाँमा ७० एमबीपीएस फाइबर नेट उपलब्ध गराउनेछ । साथै यस अफरमा २ वर्ष सब्क्रिसन र आईपीटीभी फ्री रहेको छ । यस्तै, ५५५ रुपैयाँमा ७० एमबीपीएस फाइबर नेट खरिद गर्दा एक वर्ष सब्क्रिसन र आईपीटीभी फ्री रहेको छ । यस्तै, मासिक ६२० रुपैयाँमा ८० एमबीपीएस, मासिक ७७७ रुपैयाँमा १ सय एमबीपीएस, ८८८ रुपैयाँमा २ सय एमबीपीएस र ९९९ रुपैयाँमा ३ सय एमबीपीएस फाइबर नेट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । सीजी नेट : सीजी नेटले ‘ल है आयो दशैं, हातै खाली नरहने अफरको बहार’ योजना ल्याएको छ । यस योजनामा सीजी नेटले स्कुटर, हरेक महिना वासिङ मेसिन र माइक्रो वेभ र हरेक हप्ता हजारौं उपहार उपलब्ध गराउनेछ । साथै असीमित छुटका भौचर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ जडान र नवीकरणमा ३ महिना बोनस, १ हजार ५ सय रुपैयाँसम्म छुट र क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै इन्टरनेट जडान गर्दा कम्पनीले निशुल्क सीसीटीभी क्यामेरा दिनेछ । यो अफर १५०, २५०, ३५० र ६५० एमबीपीएसमा लागू हुनेछ । वाईफाइ नेपाल : दशैंका लागि खल्तीबाट वाइफाइ नेपालको इन्टरनेट शुल्क भुक्तानी गर्दा १ जना भाग्यशालीले सुजुकी स्कुटर जित्न सक्ने अफर ल्याएको छ । साथै हरेक हप्ता १ जनाले स्मार्ट टीभी पाउनेछ भने गिफ्ट ह्याम्परमा फिल्म टिकेट, खल्ती सुरक्षा, खल्ती प्रो, एक महिनाको इन्टरनेट बोनस र थप अरु गिफुट रहेका छन् । यो अफर असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचारमा सत्यता छैन : एनसेल

काठमाडौं । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार कपाेलकल्पति भएकाे जनाएकाे छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको उल्लेख गरेकाे छ । एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको एनसेलले जनाएकाे छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णयमात्र गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै एनसेलले आफूसम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि आधिकारिक धारणा बुझिदिन पनि सम्पूर्ण सञ्चारकामाध्यमलाई अनुरोध गरेकाे छ । केही सञ्चारमाध्यममा एनसेलले क्लासिक टेककाे सेयर खरिद गरेकाे समाचार प्रकाशित भएकाे थियाे । साेही विषयलाई लिएर एनसेलले स्पष्टिकरण दिएकाे हाे । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ ।

एनसेल फाउन्डेसनले गर्‍यो पलेशा र अन्य पारा खेलाडीहरूलाई सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशालाई सम्मान गरेकाे हाे । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो । पलेशासँगै अन्य ४ सदस्यीय टोलीलाई पनि सम्मान गरिएकाे छ । पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख रुपैयाँ, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पारा खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए । सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्‍याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरुलाई उच्च मनोबल र हौसला प्रदान गरकोमा एनसेललाई पनि सम्मान गरेको छ । पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनलाई र अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस सहकार्य अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहयोग गर्दै आएको छ ।