एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं- एनसेलले आफ्नो एनसेल एपमा नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । साउन २९ गतेबाट लागू हुनेगरी एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्नेगरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरू लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा लाग्ने छैन । ‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।  

आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल’ सम्पन्न

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । काठमाडौंको होटल ले हिमालयमा सञ्चालित क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडलबारे स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरलाई बृहत् जानकारी दिइएको क्यान महासंघले जनाएको छ । आईक्यान र कोरिया इन्टरनेट एन्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलो पटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेससम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेम, मक आईक्यान कन्फ्रेन्सजस्ता विभिन्न अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएका थिए । उक्त अवसरमा आयोजक क्यान महासंघ अध्यक्ष रणजीतकुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगाजस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्तालाई महत्त्वपूर्ण प्रशिक्षण प्राप्त हुने विश्वास व्यक्त गरे । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीति निर्माण प्रक्रियामा युवा सहभागिता र सक्रियतामा जोड दिँदै आईजीएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा यसलाई कार्यान्वयन गर्ने उपायबारे प्रकाश पारिन् । कार्यक्रमका की–नोट स्पिकर ‍ई–गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य–सचिव ई. दीपेश विष्टले डिजिटलाइजेसन प्रक्रियासँग सरकारी प्रक्रियाको समन्वय आवश्यकता र एकल डाटा आदान–प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिए । त्यसैगरी अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सरोकारवालाको भूमिकालाई स्थान दिइनुपर्ने आवश्यकता औंल्याए ।

सफ्टवेरिकाको नयाँ अभ्यास : रोबोट फाइटमा भिड्दै नेपाली विद्यार्थी

काठमाडौं । हातहातमा रोबाेट । समूहअनुसार फरक-फरक ड्रेस, प्रतियोगिता जसरी हुन्छ जित्नैपर्छ भन्ने मनासय । कोही रोबाेट फाइट गराउँदै त कोही हेर्दै । जब रोबाेट, रोबाेटको टक्कर पथ्र्यो, विद्यार्थीको तालीकाे गडगडाहट र हुटिङ चल्थ्यो । सधैं ल्यापटप बोकेर जाने विद्यार्थी आइतबार रोबाेट बोकेर गएका थिए । अरु दिनभन्दा अलि फरक र राेमाञ्चक माहोल । यो दृश्य थियो काठमाडौं डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजको । जहाँ सुरु भएको थियो ‘रोवो लिग वारियर्स’ कार्यक्रम । अर्थात विद्यार्थी आफैंले बनाएका रोबाेटहरूको फाइट । आइतबारदेखि सुरु भएको यो कार्यक्रममा विभिन्न २४ वटा विद्यार्थी समूहले बनाएका रोबाेट प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन आइतबार १२ समूहका विद्यार्थीले बनाएका रोबाेटबीच प्रतिस्पर्धा भएको थियाे । यो क्रम ६ महिनासम्म चल्ने कलेजले जनाएको छ । प्रत्येक आइतबार हुने ‘रोवो लिग वारियर्स’ कार्यक्रममा एक रोबाेटले सबै रोबाेटसँग प्रतिसपर्धा गर्नुपर्छ । प्रतिस्पर्धाका आधारमा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुरष्कार प्रदान गरिने छ । हिमालयन ग्रुप, अनलाइन ल्यापटप लेख, चाँगुनारायण नगरपालिका, श्रेय कन्सलटेन्सी, ब्रन्डवे इन्फोसिस् लगायतका संघसस्थाले विद्यार्थीलाई आर्थिक सहयोग गरिरहेका छन् । सिकाइमा थप टेवा पुग्ने आशा यो कलेजमा यस्ता एक्सपो, वारियर्स जस्ता विभिन्न कार्यक्रम हुँदै आइरहेका छन् । जहाँ विद्यार्थी आफैं आयोजक र आफैं प्रतिसपर्धी बन्ने गर्छन । चाँगुनारायणकी प्रविसा खड्काले सफ्टवेरिका कलेजबाट भर्खरै थेसिस सकिन् । पढाइ सकेपछि उनी कलेजमा हुने विभिन्न कार्यक्रममा भाग लिरहन्छिन् । अहिले उनी टीम अस्वस्तमाबाट रोवर्ट प्रतिस्पर्धा गरिरहेकी छिन् । आइतबार भएको पहिलो खेलमा उनको समूहको रोबाेटले श्रेया ग्रुपकाे रोबाेटलाई टक्कर दियो । आफ्नो समूहले बनाएको रोबाेटले जितपेपछि उनीलगायत उनको समूहकाे खुसीकाे सीमा नै रहेन । प्रविसा खड्का, विद्यार्थी त्यही खुसीको मौकामा विकासन्युजसँग कुरा गर्दै प्रविसाले भनिन्, ‘पढेर मात्रै हाेइन काम नै गरेर पो सिकिँदो रहेछ ।’ प्रविसाले रोबाेट कसरी बन्छ, उसले के काम गर्छ भन्नेबारे सामान्य जानकार थिइन् । तर, जब उनले रोबाेट बनाउने र प्रतिसपर्धा गर्ने कार्यक्रममा भाग लिइन् उनलाई सुनेको भन्दा धेरै कुरा बुझ्न सजिलो भयो । ‘हामीले कक्षामा पढेका कुरालाई व्यवहारमा कसरी ल्याउने भन्ने कुरा यस्ता कार्यक्रमबाट थाहा हुने रहेछ,’ भन्छिन्,‘मैले किताबमा मोटरलाई कसरी कन्ट्राेल गर्ने, ब्याट्रीकाे माध्यमबाट कसरी दायाँ र वायाँ र अगाडि पछाडि लाने भन्ने कुरा कितावमा पढेकी थिएँँ, तर कसरी जोडिन्छ त भन्ने कुरा आफैं जोडेपछि मात्र थाहा पाएँ, पढ्नु र गर्नुमा फरक हुने रहेछ, यस्ता कार्यक्रमबाट धेरै कुरा सिक्न पाइन्छ । ’ प्रविसा व्यवहारिक ज्ञानसँगै यो कार्यक्रमले व्यक्तित्व विकासमा पनि ठूलो भूमिका खेल्ने बताउँछिन् । उनले यस्ता कार्यक्रमबाट विद्यार्थीले कुन संस्थासँग कसरी सहकार्य गर्ने, कुराकानी कसरी गर्ने भन्नेबारेमा पनि सहज भएको बताइन् । रोवर्ट बनाउने विद्यार्थीका सबै समूहले आफैं प्रायोजक खोजेर रोबाेट बनाएका छन् । ‘मलाई कसरी कम्पनीसँग कुरा गर्ने भन्ने आइडिया नै थाहा थिएन, जब म आफ्नो योजना लिएँ त्यसपछि ममा आत्मविश्वास बढ्यो,’ उनी थप्छिन,‘मैले पालिकालाई आफ्नो योजना सुनाएँ, मेरो कुरामा पालिकाले सकरात्मक धारणा बनायो, मैले पहिलो पटक कामका लागि कुनै संस्थालाई मनाउन सके यो नै मेरो सफलताको खुड्किलो हो, यस्ता कार्यक्रमले हामीलाई यसरी नै सफल हुने विश्वास दिलाउँछ ।’ सुयोग मानन्धर,विद्यार्थी काठमाडौं बालाजुका सुयोग मानन्धर सफ्टवेरिका कलेज अन्तिम समेस्टरमा अध्ययनरत छन् । उनी पनि यस्ता कार्यक्रमले विद्यार्थीको अध्ययन क्षमता फराकिलो बनाउने बताउँछन् । उनी नेपालका लागि रोबाेटीकक नयाँ कुरा रहेको बताउँदै देख्नु र आफैं बनाउनुमा फरक हुने बताउँछन् । सुयोगले रोवर्टको बारेमा पहिलो पटक अनलाइनमा देखेका र सुनेका थिए । विदेशमा हुने रोबाेट वार हेर्थे पनि । उनलाई आफू पढिरहेकै कलेजले रोबाेटकै कार्यक्रम गर्छ भन्ने सुन्दा पहिलो पटक निकै कौतुहुलता जाग्यो । उनले विकासन्युजसँग भने,‘जस्तो मैले देखेको थिएँ त्यस्तो नभए पनि आफैं कार्यक्रममा सहभागी हुँदा निकै खुसी छुँ ।’ कक्षामा भन्न नसकिने र नसिकेका कुरा कार्यक्रमबाट सिक्न पाएको सुयोगको अनुभव छ । ‘पहिले कक्षामा सर र साथीहरूसँग मात्र बोलिन्थ्यो, बाहिर मासमा बोलिँदैनथियो, यस्तो नेटवर्किङ पनि थिएन,’ उनी भन्छन्,‘अब धेरै व्यक्ति कम्पनीलाई चिन्ने अवसर पाएँ यो मेरा लागि खुसीको कुरा हो अब म पढाइपछि आफूलाई आफै काम खोज्न सक्छु ।’ प्रायोजकको खोजी आफैं विद्यार्थी पढेर हातमा मास्टर्सकाे सर्टिफिकेट मात्र भएर पुग्दैन । कितावी कुरा सबै घोकेको तर व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने सिप नभएको व्यक्तिलाई काम पाएर पनि गर्न मुस्किल पर्छ । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीलाई बोल्ने, कुरा गर्नेदेखि लिएर हरेक कुराको क्षमता बढ्दै जान्छ । कलेजले हरेक महिना गर्ने रोबाेट वार, एक्सपो लगायतका कार्यक्रमलले आफूहरूमा आत्मविश्वास आएको विद्यार्थी बताउँछन् । अहिले आफैं रोबाेट बनाइ प्रतिस्पर्धामा उत्रेका २५ वटै समूहले रोवर्टका लागि स्पोन्सर आफैं खोजेका हुन् । सफ्टवेरिका कलेज अफ आइटी र ई-कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेल आइटी कम्पनी, होटेल, पालिका लगायतका विभिन्न संघसंस्थाको सहयोगले विद्यार्थीले कार्यक्रम गरिरहेको सफ्टवेरिका कलेज अफ आइटी र ई–कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए । यो कार्यक्रमभन्दा पहिले गरेका कार्यक्रममा विद्यार्थी र विभिन्न संघसंस्थाको आकर्षण बढेकाले त्यसैलाई निरन्तरता दिन कार्यक्रम गरिएको उनको भनाइ छ । उनले भने, ‘अहिलेका विद्यार्थीलाई शिक्षा सधै बोरिङ हुन्छ भन्ने अनुभव छ, यसलाई चिर्दै अलि रोचक बनाउन सकिन्छ र रमाएरै पनि सिक्न सकिन्छ भनेर कार्यक्रम गरिएको हो । र, सफल पनि भइरहेको छ ।’ प्रमुख पौडेलका अनुसार यो कार्यक्रममा सफ्टवेरिकासँगै काठमाडौं उपत्यका रहेको विभिन्न आइटी र रोवर्टीक कलेजका विद्याहरूले सहभागीता जनाएका छन् । रमाइलोसँगै शिक्षा नेपालमा अझै पनि पाठ्क्रममा सीमित घोकन्ते शिक्षा छ । व्यवहारिक शिक्षाका नारा लगाए पनि त्यो व्यवहारमा लागु भने भएको छैन । सफ्टवेरिका यस्तो कलेज हो, जुन विश्वका विभिन्न देशमा दिरहेको आइटी शिक्षा नेपालमै नेपाली विद्यार्थीलाई दिरहेको छ । प्रमुख पौडेल अब विद्यार्थीलाई घोकाएर नभइ रमाइलो तरिकाले शिक्षा दिनुपर्ने बताउँछन् । ‘विद्यार्थीलाई यस्तो शिक्षा दिनुपर्छ जहाँ उनीहरूलाई पढेको होइन रमाइरहेको महसुस् होस्’ भन्छन्,‘हामीले यसको सुरुवात गरेका छौँ, यहाँ विद्यार्थीहरू रोबाेट बनाइरहेका छन्,सँगै रमाइ रहेका छन् ।’ विद्यार्थीले बनाएका रोबाेटमा विभिन्न किसिमका प्रविधि प्रयोग भएको छ । जसरी अभ्यास गरेर विद्यार्थी आफ्नो हातले रोवर्ट बनाउँछन्, त्यसलाई आफैंले कार्यक्रम गरेर सार्वजनिक गर्छन । त्यसमा आएका कमीकमजोरीलाई विद्यार्थी आफैंले सच्याउने र आफैं कसरी प्रयोमा ल्याउने भनेर सिक्न कलेजले यस्ता कार्यक्रम गर्दै आएको उनले बताए । आइटी, इलेक्ट्राेिनिक्स र रोबाेटीक्सको उपकरणसँग खेल्ने, त्यसको प्रयोग गर्ने, त्यसका विभिन्न कमी कमजाेरी पत्ता लगाउने र आफ्नैं रोबाेट बनाउने अवसर विद्यार्थीलाई दिएको हो ।