एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरू सातै प्रदेशमा कार्यान्वयनमा

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा रहेका छन् । कम्पनीले गतवर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यन्वयन भइरहेका छन् । देशव्यापी रूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आवहान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मुल्यांकन गरी छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरू छनौट गरी कार्यन्वयनमा ल्याइएका हुन् । छानिएका परियोजनाहरुमा बागमती प्रदेशको लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रर्द्धनका कार्यक्रम तथा शिक्षा सम्बन्धि कार्यक्रमहरू रहेको छ । गण्डकी प्रदेशमा शिक्षा क्षेत्र अन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कुलबाट बाहिररहेका बच्चाहरुलाई पुनः स्कुल पठाउनको लागि स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धि न्यूट्रिसन, वास सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रर्वर्द्धनका लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् । त्यसैगरी कोशी प्रदेशको लागि ६,००० महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणको लागि आउने पर्यटकहरूको सुरक्षाको लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरूमा ग्रिन स्कुलको अवधारणा विकासको लागि परियोजना सञ्चालन भइरहेको छ । मधेश प्रदेशमा युवाहरूको क्षमता विकास तथा जिवकिोपार्जनका लागि सिप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नविकरणीय उर्जा प्रवर्द्धन सम्बन्धी परियोजनाहरू सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा बास सम्बन्धि व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धि कार्यक्रमहरू रहेका छन् । आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यान्वयन क्षेत्र, प्रस्ताव पेस गर्ने संस्थाको अनुभव लगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय उर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू कार्यन्वयनमा लगिएका छन् । एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखालक्ष्मी खड्काले भनिन्, ‘सातै प्रदेशमा कार्यन्वयन हुँदै गरेका हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं ।’ दिगो विकास लक्ष्यहासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकता अनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्चप्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना संचालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्वावित आयोजनाको महत्व र प्रभावका आधारमा कुनै प्रदेशहरूमा दुईभन्दा बढी परियोजनाहरू छानिन सफल भएका छन् । एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । तत्कालीन सरकार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले टिकटकमाथि प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी गरिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिबद्धतासहित टिकटकले पहल थालेपछि सरकार पनि प्रतिबन्ध हटाउन लचिलो भएको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि मात्रै इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक देखिएका छन् । उनले प्रतिबन्ध फुकुवाको तयारी गर्न निर्देशन दिएको बताइएको छ । सोहीअनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन् । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको बताइएकाे छ । सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?

काठमाडौं । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘डिस्कोभरी इजुकेसन, एडुटेक कोडिङ कम्पिटिसन २०२४’ हुने भएको छ । कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिंकिङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ । नेपालमा यो कार्यक्रमलाई सफल पार्न एनपीसर्ट, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन, रोर्टरी क्लब अफ याला, वनकभर प्रालि, आईसीटी फ्रेम डटकम, टेक एन्टरप्रेनियर्स एसोसिएसन नेपाल, टेक ब्लगर्स लगायतका संस्थाले सहयोग गर्नेछन् । कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबीनारमार्फत नि:शुल्क सिकाउनेछन् । योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ । अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ । यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन नि:शुल्क पाउनेछन् । साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँसहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् । आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ । ‘कोडिङले बालबालिकालाई प्रविधिको संसार अन्वेषण गर्ने अवसर प्रदान गर्छ र भविष्यका करियरहरूमा उपयोगी हुन सक्ने सीपहरू सिक्न मद्दत पुर्‍याउँछ । यसकारण यस्ता सीपहरूको विकास प्रारम्भिक उमेरदेखि नै गरिनुपर्छ,’ दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले भने । उनका अनुसार डिस्कभरी एजुकेसन कोडिङ प्लेटफर्मको माध्यमबाट सहभागीहरूले एल्गोरिदम, सिक्वेन्स, भेरिएबल्स जस्ता कोडिङ अवधारणाहरूमा गहिरो ज्ञान प्राप्त गर्नुका साथै कम्प्युटेशनल सोचाइ, तार्किक विचार र समस्या समाधानको सीप विकास गर्नेछन् । कम्पिटिसन क्याटेगोरी कक्षा २ – ५ का लागि कोडिङ प्रतियोगिता (ब्लक-आधारित कोडिङ) कक्षा ६ – ९ का लागि कोडिङ प्रतियोगिता (पाइथन कोडिङ) इच्छुक विद्यार्थी एकल वा समूह (दुईदेखि तीन जनासम्म) रूपमा प्रतिस्पर्धाका लागि आवेदन दिनसक्ने छन् । आयोजकका अनुसार विद्यार्थीले ६ सेप्टेम्बरअघि अनलाइन रजिस्ट्रेसन गर्नुपर्छ । दूरशिक्षा आफ्नो स्थापना कालदेखि नै सूचना प्रविधिको उच्चतम प्रयोग र त्यसका लागि चाहिने दक्ष जनशक्ति देशमै उत्पादन गर्न कटिबद्ध संस्था हो । यस प्रकारको प्रतियोगिताको आयोजनाले नेपालमा पनि विश्वस्तरीय सीप र त्यसलाई चाहिने जनशक्ति विकास गर्ने संयन्त्र र संस्थाहरू छन् भन्ने सन्देश दिने दूरशिक्षाका अध्यक्ष यलम वैद्यले बताए । त्यस्तै, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का अध्यक्ष प्राडा. सुवर्ण शाक्यले यस प्रतिस्पर्धाले बालबालिकालाई कोडिङ सीपमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने भनाइ राखे । नेपाल प्रहरीका पूर्वडीआईजी एव एनपीसर्टका सल्लाहकार डाक्टर राजीव सुब्बाले प्राविधिक सीपले मात्र विद्यार्थीलाई सशक्त बनाउने बताउँदै यस्ता प्रतिस्पर्धाले युवाहरूको सोच र व्यवहारलाई पनि आकार दिने बताएका छन् । वनकभर प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले यस्तो विश्वस्तरीय कोडिङ प्रतियोगिताले नेपाली विद्यार्थी, विद्यालय, समाज तथा समग्र देशलाई नै प्रविधिसँग नजिक्याउने तथा डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउने धारणा राखेका छन् । अनलाइन रजिस्ट्रेसन गर्न https://shorturl.at/zihay मा क्लिक गर्नुहोस् ।