उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी कम्पनीले भोइस तथा डेटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको हो । जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विही, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टुजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोरजी सेवासमेत सञ्चालन गरेको जनाएको छ । ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरूमा VSAT प्रविधिलाई Microwave Transmission Link ले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा फाेरजी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फाेरजी मोबाइल सेवा सञ्चालन गरिएको छ कम्पनीले जनाएको छ । भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ ।

सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा दिँदै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ । कम्पनीले आजदेखि लागु हुने गरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु हुने व्यवस्था मिलाएकाे बताएको छ । यसअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (एक्टिभ) गराउनुपर्ने अवस्था रहेकामा अब भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले *1415*7# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि*1415*7# डायल गर्न या  NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि [email protected] मा इमेल मार्फत अनुरोध गर्न सकिनेछ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।

आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको आईटी इकोसिस्टको विकास र प्रवर्द्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुवै संस्थाबीच सहकार्य गरिएको छ । नास आईटीका अध्यक्ष श्रेष्ठले नेपालको आईटी उद्योगलाई बलियो बनाउन र सशक्तिकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए । यस्तै प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले आईटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आईटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिँदै डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।