केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातो हाब्रे) संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्डा ट्रफी तथा चौथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उनले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताए । मन्त्री गुरुङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गरे । वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुने गरी काम भइरहेको उनको भनाइ छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उनले भने, ‘सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ ।’ मन्त्री गुरुङले स्याफ्रु बेँसी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाए । रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे । केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घर घरमा टेलिफोन सेवा पुर्याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पुर्‍याई इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्याभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्ने लगायत योजना सरकारले बनाएको मन्त्री गुरुङले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो ।
मेटाले सरकारलाई टेर्दैन भने हामी पनि उम्किन दिँदैनौँ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाललाई समाजप्रति उत्तरदायी बनाउन मन्त्रालयले मेटा नामक कम्पनीलाई सम्पर्क केन्द्र तोक्न जोड दिइरहेको बताएका छन् । सञ्चारिका समूहको नवौँ महाधिवेशनमा मन्त्री गुरुङले देशको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र समुदायको हितका लागि सामाजिक सञ्जालको नियमन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि हालसम्म मन्त्रालयमा भाइबर, टिकटक, विच्याटलगायत केही सामाजिक सञ्जालले सम्पर्क केन्द्र सूचीकृत गराइसकेको उनले जानकारी दिए । मेटासँग मन्त्रालयले सरकारको सम्पर्कमा आउनुपर्ने विषयमा बारम्बार दबाब दिइरहँदा अटेरी गरेको मन्त्री गुरुङले बताए । उनले भने, ‘मेटाले सरकारलाई टेर्दैन, यति भन्दैमा हामीले उम्किन भने दिँदैनौँ । जसरी पनि नेपाल सरकारप्रति जवाफदेही बनाउँछौँ र सम्पर्क केन्द्र सूचीकृत गराउँछौँ ।’ उनले राष्ट्रिय सभाबाट पास भएको मिडिया काउन्सिल विधेयक हाल प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको बताए । आमसञ्चार प्राधिकरण बनाउने विषय भने अर्थ मन्त्रालयमा सहमतिका लागि छलफल भइरहेको मन्त्री गुरुङले जानकारी दिए। साथै सञ्चार माध्यमका पुरानो नीति र ऐन संशोधन गर्ने प्रक्रियामा मन्त्रालयले सक्रियता जनाउँदै आएको उनको भनाइ छ । ‘पुराना नीति परिमार्जन गरेर समय सापेक्ष बनाउन लागेको छु,’ उनले भने । उनले सरकारी आमसञ्चार माध्यम कुनै नेता वा पार्टीप्रति उत्तरदायी नभई जनताप्रति जवाफदेही हुनुपर्ने धारणाका साथ सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) बनाएको बताए । गोरखापत्र र राइजिङ नेपाललाई गाभेर सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँचामा रुपान्तरण गर्ने प्रक्रिया मन्त्रालयले सुरु गरिसकेको जानकारी उनले जानकारी दिए ।
एनसेल एपको नयाँ अफर, १०० रुपैयाँ रिचार्जमै बोनस डेटा पाइने
काठमाडौं। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । डिजिटल माध्यममार्फत सेवाको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले एनसेलले यो नयाँ योजना ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत, १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म अनलाइन रिचार्ज गर्दा १ दिनको लागि २०० एमबी डेटा बोनस स्वरूप प्राप्त हुनेछ । त्यसैगरी, २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा पाइनेछ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने यो बोनस लागू हुनेछैन । एनसेलले ग्राहकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका साथ एनसेल एपलाई एक आधुनिक सेल्फ–केयर टुल को रूपमा विकास गरेको हो । यस एपमार्फत ग्राहकहरूले सजिलै डेटा, भ्वाइस प्याक, सधैं अन प्याकहरू, प्याक उपहार दिने सुविधा, सेवा प्रयोग विवरण हेर्ने, र रोमिङ सेवाहरू प्रयोग गर्न सक्छन् । एनसेल एपले ग्राहकलाई डेटा र भ्वाइस बीचमा परिवर्तन गर्ने सुविधा पनि दिन्छ, जसले सेवा उपयोगलाई अझ लचिलो बनाउँछ । एनसेल एपमा अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचार, मासिक बिल विवरण, सेवा सक्रिय वा निष्क्रिय गर्ने विकल्प, र विदेशमा रहेका ग्राहकका लागि सजिलो रिचार्ज तथा सम्पर्क सुविधा उपलब्ध छ । यसले छोटो वा लामो अवधिको लागि विदेश जाने प्रयोगकर्तालाई पनि प्रभावकारी समाधान प्रदान गर्छ । एनसेल एप गुगल प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ । यो एप प्रयोग गरेर ग्राहकहरूले बोनस डेटासहित अन्य विविध डिजिटल सेवाको सहज लाभ लिन सक्नेछन् ।