एप्पलमा ‘नवप्रवर्तन’को अभाव र ‘मनपरि नियम’ भएको जुकरबर्गको आरोप

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हालैको एक पोडकास्ट अन्तर्वार्तामा एप्पलको आलोचना गरेका छन् । उनले एप्पलमा नवप्रवर्तनको अभाव भएकाे र मनपरी नियमको आलोचना गरे । ‘एकातिर आइफोन उत्कृष्ट भएको छ, किनकि अब संसारमा लगभग सबैसँग फोन छ र त्यसले धेरै अद्भूत चीजहरूलाई सक्षम बनाउँछ,’ जुकरबर्गले  ‘जो रोगन एक्सपेरियन्स’ को एक एपिसोडमा भनेका छन्, ‘तर अर्कोतर्फ … तिनीहरूले त्यो प्लेटफर्म प्रयोग गरेर धेरै नियम राखेका छन् जुन मलाई मनोमानी लाग्छ ।’ ‘मलाई लाग्छ कि एप्पलले केही समयदेखि केही महान आविष्कार गरेकाे छैन । यो स्टिभ जब्सले आइफोन आविष्कार गरेजस्तै हो र अहिले २० वर्षपछि पनि कम्पनी त्यसैगरी बसिरहेकाे छ,’उनले थपे । जुकरबर्गले आइफोनले बिक्री संघर्ष गरिरहेको आफूले सोचिरहेको बताए । उनका अनुसार उपभोक्ताहरूले आफ्नो फोन अपग्रेड गर्न धेरै समय लिइरहेका छन् किनभने नयाँ मोडलहरू अघिल्ला मोडलभन्दा खासै सुधार भएका छैनन् । जुकरबर्गले एप्पलको ३० प्रतिशत डेभलपर शुल्क र तेस्रो पक्ष उपकरणहरूको सीमित पहुँचको पनि आलोचना गरे । उनले भने, ‘उनीहरूले एयरपड्सजस्ता उत्पादनहरू बनाउँछन्, जुन राम्रो छ तर अरू कसैलाई पनि आइफोनसँग सजिलै जडान गर्नसक्ने उपकरण बनाउन पूर्ण रूपमा रोक लगाएका छन् ।’ एप्पलले उपभोक्ताको गोपनीयता र सुरक्षालाई कारण देखाएर आफ्नो नीति बचाऊ गर्ने गरेकोमा जुकरबर्गले भने, ‘यो असुरक्षित छ किनभने तपाईंहरूले यसमा कुनै सुरक्षा निर्माण गर्नुभएको छैन ।’ उनले एप्पलको ‘मनपरी नियमहरू’ हटाइए मेटाको नाफा दोब्बर हुन सक्ने दाबी पनि गरे । एप्पलको भिजन प्रो हेडसेटको आलोचना गर्दै उनले भने, ‘एप्पलले ३ हजार ५०० डलरमा यस्तो केही पठाए जुन हामीले ३०० वा ४०० मा पठाएको भन्दा खराब छ ।’ भिजन प्रो हेडसेटको बिक्री अमेरिकामा निराशाजनक थियो । मेटाले मेटा क्वेस्ट भनिने आफ्नै भर्चुअल हेडसेटहरू बेच्दै आइरहेको छ। जुकरबर्गको यो टिप्पणीले एप्पल र मेटाबीचको प्रतिस्पर्धालाई थप उजागर गरेको छ ।

एनसेलको ‘सधैं अन’मा अब ‘फ्री अनलिमिटेड नाइट डेटा’

काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् । गत बिहीबार (पुष २५)बाट सुरु भएको यो योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकले यो नाइट डेटा पनि पाउँछन् । सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९, ४९९, ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १ हजार ४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ । २८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् । एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो ।

नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सत्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपियाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् । समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ कम्पनीले सत्रौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको टेलिकमका प्रवक्ता हरि ढकालले उल्लेख गरेका छन् ।