क्यान इन्फोटेक २०२५ को तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम रहेको छ  । त्यस्तै, क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् । प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा. लि., म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाइ-टेक इन्जिनियरिङ प्रालि (डिजिकम), पाइन ओबरसिज प्रालि, सुबिसु केबलनेट प्रालि लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा विट्सा, असोसियो, टीओए सफ्टवेयर कर्पलगायतको सहयोग रहेको छ । नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताइन् । क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रूपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरू, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायत प्रदर्शन गर्नेछ । यसपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शूल्क प्रवेश व्यवस्था छ । क्यान महासंघका उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक केवल ब्रान्ड एक्स्पो मात्र नभई आइडिया, स्टार्टअप, र इनोभेशन एक्स्पो पनि रहेको बताए । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले बताए । क्यान इन्फोटेकलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए । प्रर्दशनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् । क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ । साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ । राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ । सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो । सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रूपान्तरित यो संस्था गैर-राजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ ।

एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य

काठमाडौं । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुऱ्याउन याउने विश्वास लिइएको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो । यो सिरिज अन्तर्गतको खेल बिहीबार (माघ १७) गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा सुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ । सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् । आजको पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्यो । अन्य खेलहरूमा, नेपालले माघ १९ मा थाइल्याण्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्सविरुद्ध, माघ २२ मा थाइल्याण्डविरुद्ध, माघ २३ मा नेदरल्यान्ड्सविरुद्ध, र माघ २५ मा फेरि थाइल्याण्डविरुद्ध खेल्नेछ । नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दैछ । कप्तान इन्दुसँगै टिममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ । यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धको उदाहरण हो । यो सहकार्य वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ । कम्पनीले खेलकुदको विकास, युवा सशक्तिकरण र सामाजिक एकताको प्रवर्द्धनमा योगदान दिँदै नयाँ उचाइ हासिल गर्ने लक्ष्य रहेको बताएको छ । एनसेलले आफ्नो स्थापना कालदेखि नै एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, नेपालमा खेलकुद र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । उदाहरणका लागि एनसेलले यो वर्षको नेपाल प्रिमियर लिगमा पावर्ड बाई पार्टनरको रुपमा आवद्ध भएको थियो । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ । यसै गरि एनसेलले पाँचौ टाईगर कप, त्रिकोणत्मक टी ट्वान्टी आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत, राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई रु १० लाख रुपैयाँ पुरस्कार बाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

सामसङ नेपालले लन्च गर्‍यो आजसम्मकै शक्तिशाली ग्यालेक्सी एस २५ सिरिज, मूल्य २ लाख

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ स्मार्टफोन लन्च गरेको छ। समारोहमा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ की अश्मी श्रेष्ठले ग्यालेक्सी एस २५ सिरिजको अनावरण गरे । ग्यालेक्सी एस २५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई फर्स्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । ग्यालेक्सी एस २५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभ गर्न सकिन्छ । गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्ड अनुभव ग्यालेक्सी एस २५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट व्यक्तिगत डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ । नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ । क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस २५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ । ग्यालेक्सी एस २५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी ग्यालेक्सी एस २५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४० प्रतिशत, सीपीयूमा ३७ प्रतिशत र जीपीयूमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ । मजबुत र टिकाउ डिजाइन ग्यालेक्सी एस २५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ । ग्यालेक्सी एस २५+ र एस २५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ । सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस २५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ । प्रि–अर्डर अफरहरू ग्यालेक्सी एस २५ सिरिजको प्रि–अर्डर अफर बिहीबारदेखि सुरु भएको छ । १ फाल्गुनसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबीबाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स ३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् । ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् । ग्यालेक्सी एस २५ १२/२५६ जीबीकाे मूल्य १ लाख १५ हजार र १२/१२८ जीबीकाे मूल्य १ लाख ५ हजार रुपैयाँ रहेकाे छ । ग्यालेक्सी एस २५ प्लस १२/२५६ जीबीकाे मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकाे ५ । ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जीबीकाे मूल्य २ लाख रुपैयाँ रहेकाे छ भने १२/२५६ जीबीकाे मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेकाे छ ।