एनटीसीको बिलिङ ठेक्कामा नयाँ ‘ट्वीष्ट’, ह्वेल क्लाउडको पुर्नमूल्यांकन गर्न मन्त्री खरेलको निर्देशन

काठमाडौं । नेपाल टेलिकमको बहुप्रतीक्षित बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवादमा परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रक्रियागत ढिलाइ र विवादबीच टेण्डर पुन:मूल्यांकन गर्न निर्देशन दिँदा टेलिकमको आन्तरिक निर्णय प्रक्रियामा नयाँ ट्वीस्ट आएको हो । नयाँ सरकार गठन भएपछि असोज ८ गते मूल्य प्रस्ताव खोल्ने प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो । तर, प्रक्रिया रद्द भने गरिएको थिएन । पछिल्लो पटक मन्त्रालयको निर्देशनमा विवादास्पद ठहरिसकेको कम्पनी ह्वेल क्लाउडलाई पुनःप्राविधिक मूल्यांकन गर्न भनिएको छ । यो कदमले प्रक्रिया झन गिजोलिएको टेलिकम स्रोतले बतायो ।  पूर्वाग्रही टेण्डर आह्वानको आरोप नेपाल टेलिकमले प्रारम्भदेखि नै हुवावे कम्पनीलाई बिलिङको ठेक्का दिने उद्देश्य राखेर टेण्डर आह्वान गरेको आरोप लागेको छ । यसमा प्रतिस्पर्धा सीमित गरिएको, प्राविधिक शर्तहरू हुवावेलाई अनुकूल बनाइएको र प्रतिस्पर्धीलाई बहिर्गमन गराउने खालका प्रावधान समावेश गरिएको आरोप लागेको छ । यसैबीच ह्वेल क्लाउडलाई एक पटक प्राविधिक मूल्यांकनमा अयोग्य ठहर गरिसकेको टेलिकमले पुनः मूल्यांकन गरेर योग्य बनाउन मन्त्रालयको दबाबमा काम अघि बढाएको स्रोतको दाबी छ ।  ह्वेल क्लाउड एनसेलमा बिलिङ सेवा दिइरहेको कम्पनी हो । टेलिकमको टेण्डर कागजातले प्रतिस्पर्धी टेलिकम सेवा प्रदायकमा संलग्न कम्पनीलाई अयोग्य ठहर गर्ने व्यवस्था राखेको थियो । एउटै कम्पनीले दुई सेवा प्रदायकको प्रणाली चलाउँदा सम्भावित जोखिम र स्वार्थको द्वन्द्व हुने दाबी गरिएको थियो ।  तर, सञ्चार मन्त्रालयले हुवावे पनि स्वयं एनसेलमा संलग्न रहेकाले त्यही मापदण्ड ह्वेल क्लाउडमा पनि लागू हुन नहुने बताएको छ । यसमा मन्त्रालयको स्वार्थको द्वन्द्व देखिएको टेलिकमको उच्च स्रोतको धारणा छ ।  टेलिकम स्रोतका अनुसार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेर आएपछि उनको चाहनामा नयाँ बखेडा निकालिएको हो । मन्त्री खरेल र मन्त्रालयकी सचिव राधिका अर्यालको निर्देशनमा टेलिकमकी निमित्त प्रबन्ध सञ्चालक सबिना मास्के प्रधानले टेण्डर पुनःमूल्यांकनको जिम्मेवारी विज्ञ सुरेश प्रधानलाई दिएका छन् ।  सचिव अर्याल हुवावे पक्षधर रहेको आरोप लागिरहेको छ । उनी हालै सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेर हुवावेको ठेक्का टुंग्याउन दबाब दिएको बुझिएको छ । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाई लोकेन्द्र कार्की ह्वेल क्लाउडका प्रतिनिधि भएको तथ्य सार्वजनिक भएपछि राजनीतिक संलग्नता झन् तीव्र भएको छ । अहिले अयोग्य ह्वेल क्लाउडको पुन: मूल्यांकन गर्न निर्देशन दिने मन्त्री खरेल पनि यस कम्पनीप्रति नरम बनेको बुझाइ एनटीसीका कर्मचारीको छ । ह्वेल क्लाउड अघिल्लो मूल्यांकनमा अयोग्य ठहरिएपछि अदालत समेत गएको थियो । सर्वाेच्च अदालतले नेटवर्किङ र बिलिङको काम एउटै कम्पनीलाई दिन नपाइने आदेश दिएको थियो । तर, मन्त्री खरेलले ह्वेल क्लाउडको पक्षपोषण गरेर पुनः प्राविधिक मूल्यांकन गर्न आदेश दिएका हुन् ।  मन्त्रालय स्रोतले टेलिकमले फोरजी नेटवर्कको काम गरिसकेको हुवावेलाई नै बिलिङको ठेक्का दिन अघि बढ्दा सो आदेशको उल्लंघन हुने देखिएकोले ठेक्का तोड्न भनिएको बताएको छ । फाइभजी सपोर्टको अभाव पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री भएर आएपछि मन्त्रालयकै एक युनिटले भविष्यमा फाइभजी सेवा सुरु भएपछि समेत परिवर्तन गर्न नपर्ने बिलिङ सिस्टम खरिद गर्न सिफारिस गरेको थियो । तर, अहिले अघि बढाइएको प्रणालीले फाइभजी समर्थन नगर्ने देखिएको छ । जसले दीर्घकालीन असर पार्न सक्ने मन्त्रालय स्रोतको भनाइ छ ।   बिलिङ टेण्डर प्रक्रिया विगत १६ महिनादेखि अनिर्णित अवस्थामा छ । स्वार्थ समूहको चलखेल, राजनीतिक हस्तक्षेप, र प्रक्रिया गिजोलिने कारणले टेलिकमको विश्वसनीयता र सेवा सुधारको लक्ष्यमा असर परेको देखिन्छ । नयाँ मन्त्री आएपछि निष्पक्ष टेण्डर प्रक्रिया हुने अपेक्षा गरिएको थियो । तर, अहिले फेरि पुरानै शैली दोहोरिने संकेत देखिएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली सम्बन्धी टेण्डर विवादले सार्वजनिक संस्थाहरूमा पारदर्शिता र प्राविधिक दक्षता भन्दा पनि राजनीतिक र आर्थिक स्वार्थ हावी भइरहेको देखाएका छन् । यदि वर्तमान सरकार र मन्त्रालयले निष्पक्षता कायम गर्न सकेन भने यो केवल एक ठेक्काको विवाद मात्र नभई दूरसञ्चारको भविष्यमै असर पार्ने खतरा देखिएको छ । 

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको संख्या ५० करोड नाघ्यो

बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, पछिल्ला ६ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका थिए भने अहिले यो सङ्ख्या बढेर ५१ करोड ५० लाख पुगेको हो। यो वृद्धिसँगै चीनमा जेनेरेटिभ एआई प्रविधिको प्रयोग दर ३६.५ प्रतिशत पुगेको जनाइएको छ। यसले प्रविधिप्रति जनताको चासो र पहुँच द्रुत रूपमा फैलिएको संकेत गर्छ । विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिले शिक्षा, व्यापार, सञ्चार तथा मनोरञ्जनका क्षेत्रहरूमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ ।  

डिशहोम र ‘डल्ले’ बीच साझेदारी, उपत्यकाका सबै आउटलेटमा ग्राहकलाई छुट

काठमाडौं । डिशहोमले रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा छुट पाउनेछन् । यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने बताइएको छ । कम्पनीकाअनुसार, भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एपबाट डाउनलोड गर्न सकिनेछ । यसपछि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् । होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस र डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् । यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डाइरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।