कर्मचारीहरूले ३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने, यस्तो छ साइबर सुरक्षासम्बन्धी एडभाइजरी

काठमाडौँ । कर्मचारीहरूले ३/३ महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने भएको छ । सञ्चार मन्त्रालय मातहत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गर्दै यस्तो बताएको हो । पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने गरी सुरक्षित राख्ने र ३÷३ महिनामा परिवर्तन गर्ने गरी प्रणालीमा व्यवस्था गर्न सुझाव दिएको हो । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी गरेको हो । पछिल्लो समय सरकारी वेवसाइटहरूमा अनाधिकृत रुपमा प्रवेश गर्ने गरेका घटना बाहिरिने गरेका छन् । जसले गर्दा सरकारको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना समेत हुँदै आएको छ । सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षा, कार्यालयमा रहेका डेस्कटप तथा ल्यापटप र प्रिन्टर सुरक्षा, पासवर्ड व्यवस्थापन तथा सुरक्षा, इन्टरनेट ब्राउजिङ सुरक्षा, इमेल तथा फिजिङ अट्याक, रिमुबेल मिडिया, मोबाइल सुरक्षा र सामाजिक सञ्जाल सुरक्षा सम्बन्धी एडभाइजरी दिएको छ । [pdf id=536319]

आईटी उद्योग प्रवर्धनमा सरकारको दूरगामी कदमले उद्योगलाई अझै सशक्त बनाउने नासआईटीको विश्वास

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानुन संशोधन तथा सहजीकरणप्रति आभार व्यक्त गरेको छ । नासआईटीले आफ्नो पहल र नीतिगत वकालतको परिणामस्वरूप हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानुनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरूको सुरुवात गरेको जनाएको छ । यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने विश्वास नासआईटीले लिएको छ । नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरूद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ । यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जाने नासआईटीले जनाएकाे छ । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने विश्वास नासआईटीको छ । नासआईटीले सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि जनाएकाे छ । नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानुन संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षासमेत गरेको छ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरूसँग सम्बन्धित कानुनी, नीतिगत र अन्य सामूहिक सवालहरूमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधि उद्योगको विकास र यसका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन निरन्तर प्रयासरत रहँदै आएको छ ।

चीन र एआई संघर्षको रिपोर्टपश्चात एप्पलको स्टक घट्यो

काठमाडौं । एप्पलको स्टक बिहीबार ४ प्रतिशतले घटेको छ । सन् २०२४ को अगस्ट ५ पछिको यो सबैभन्दा खराब दिन हो । चीनमा आईफोन बिक्रीमा कमी आएसँगै स्टक घटेको हो । बजार अनुसन्धान फर्म क्यानालिसको बिहीबारको रिपोर्टपछि स्टक घटेको हो । रिपोर्ट अनुसार एप्पलले चीनमा आईफोन बिक्रीमा गिरावटको सामना गरिरहेको छ । सन् २०२४ मा यसको वार्षिक बिक्री १७ प्रतिशतले घटेर कम्पनीलाई तेस्रो स्थानमा झार्‍यो । चीनमा भीभो र हुवावे पहिलो र दोस्रो स्थानमा छन् । विशेष गरी, डिसेम्बरमा चीनमा आईफोन बिक्रीमा १०-१२ प्रतिशत कमी आएको थियो । यस गिरावटको कारणहरूमा हुवावेजस्ता स्थानीय प्रतिस्पर्धीहरूको वृद्धि र आईफोन सिक्स्टीनमा कृत्रिम बाैद्धिकता (एआई) जस्ता सुविधाहरूको अभाव समावेश छन् । हुवावेले मेट सिक्सिज सिरिजको सफलतासँगै बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ । यसको परिणामस्वरूप एप्पलको सेयर मूल्यमा पनि असर पर्‍यो । एप्पलले चीनमा बिक्री बढाउन विभिन्न छुटहरू प्रदान गरिरहेको छ, जस्तै आईफोन सिक्सटिन मोडलहरूमा ५०० युआनसम्मको छुट। तर, विश्लेषकहरूका अनुसार एआई सुविधाहरूको अभावले आईफोनकाे मागमा वृद्धि गर्न सकेको छैन ।