एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात
काठमाडौं । एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको हो । कम्पनीका अनुसार यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङ्का बेसमेन्टहरु र दुर्गम स्थानहरुमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको छ । यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरुले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्ने कम्पनीले जनाएको छ । ‘भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरुबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरुका लागि धेरै फाइदा पुर्याउँदछ ।’ भोवाईफाई सेवाका साथ ग्राहकहरुलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ । यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ । भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन् । सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्क भित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नु पर्दछ । यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको कम्पनीको भनाई छ ।
गुगलले प्रयोगकर्ताहरूको ‘उमेर निर्धारण’ गर्न ‘एआई’को प्रयोग गर्ने
काठमाडौं । गुगलले आफ्ना उत्पादनहरू प्रयोग गर्न प्रयोगकर्ताहरू उमेरअनुसार उपयुक्त छन् कि छैनन् भन्ने निर्धारण गर्न कृत्रिम बौद्धिकता (एआई) प्रयोग गर्ने घोषणा गरेको छ । कम्पनीले बुधवार यो जानकारी दिएको हो । गुगलले प्रयोगकर्ताहरूको उमेर निर्धारण गर्ने नयाँ प्रविधिको घोषणा ‘बच्चाहरू, किशोरहरू र अभिभावकहरूका लागि नयाँ डिजिटल सुरक्षा’ केन्द्रित ब्लगको एक भागको रूपमा गरेको हो । गुगलका प्रवक्ताले यो स्वचालित प्रणाली युट्युब सहित गुगलका विभिन्न उत्पादनहरूमा प्रयोग गरिने पुष्टि गरेका छन् । गुगलका अरबौं प्रयोगकर्ताहरूमध्ये १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई केही गुगल सेवाहरूमा प्रतिबन्ध लागू गरिएको छ । गुगलको ’कोर’ प्रविधि टोलीकी वरिष्ठ उपाध्यक्ष जेन फिट्जप्याट्रिकले ब्लग पोष्टमा लेखेकी छिन्, ‘यस वर्ष हामी संयुक्त राज्य अमेरिकामा मेसिन लर्निङ-आधारित उमेर अनुमान मोडेल परीक्षण गर्नेछौं ।’ कोर युनिटले कम्पनीका प्रमुख उत्पादनहरूको प्राविधिक आधार तयार पार्ने र प्रयोगकर्ताहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिन्छ । फिट्जप्याट्रिकले लेखेकी छिन्, ‘यो मोडेलले हामीलाई प्रयोगकर्ता १८ वर्षभन्दा माथि छन् कि तल छन् भन्ने अनुमान गर्न मद्दत गर्छ, जसले हामीलाई उमेर-उपयुक्त अनुभव प्रदान गर्न सुरक्षा उपायहरू लागू गर्न सहयोग गर्छ ।’ यो नवीनतम एआई पहल कानुन निर्माताहरूले बाल सुरक्षाको लागि अनलाइन प्लेटफर्महरूलाई थप प्रावधानहरू सिर्जना गर्न दबाब दिँदै गरेको बेलामा आएको हो । कम्पनीले भनेको छ कि यसले आफ्नो एआई आधारित उमेर अनुमानलाई समयको साथ अरू देशहरूमा पनि ल्याउनेछ । मेटाले सेप्टेम्बरमा यस्तै फिचरको सुरुवात गरेको थियो । गुगल र प्रविधि उद्योगका अन्य कम्पनीहरूले विभिन्न कार्यहरू र उत्पादनहरूका लागि एआई माथिको निर्भरता बढाउँदै छन् । उमेर-सम्बन्धित सामग्रीका लागि एआई प्रयोग गर्ने गुगलको नवीनतम एआई पहल हो । गुगलको ‘कोर’ टोलीको यो नयाँ पहल कम्पनीले गत वर्ष यो युनिटको पुनर्गठन गरेपछि आएको हो ।
नेपाल टेलिकमको नाफा २.६३ अर्ब रुपैयाँ, ८.४० प्रतिशत घट्यो कुल आम्दानी
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३२.९७ प्रतिशत घटेर २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको वित्तीय आम्दानी ३६.३० प्रतिशत ३६.३० प्रतिशत घटेर २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीको वित्तीय खर्च ०.१९ प्रतिशत घटेर ७ करोड ६७ लाख रुपैयाँ गरेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.४० रुपैयाँ घटेर २९.३८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ ।