कहाँ अड्कियो मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने महत्वकांक्षी योजना
काठमाडौं २४, भदौ । गत असार १३ गते नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने महत्वकांक्षी योजनामा हस्ताक्षर गरे । पाँचथरदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउने योजनाको प्रारम्भिक सम्झौता पत्रमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका थिए । साउन १५ गते दुबै निकायबिच व्यवसायीक सम्झौतामा हस्ताक्षर गर्ने सहमति समेत गरिएको थियो । तर भदौको अन्त्यतिर आईपुग्दा पनि यी दुई निकायबिच व्यवसायीक सम्झौता सम्पन्न हुन सकेको छैन् । अझै पछिल्लो समय त प्राधिकरण र टेलिकमबिच अप्टिकल फाइबर बिछ्याउने सम्झौताबारे छलफल समेत भैरहेको छैन् । आखिर कहाँ अड्कियो हलो ? भन्ने प्रश्न गर्दा नेपाल दुर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने ‘प्राधिकरणले सबै काम सम्पन्न गरिसकेको छ, बोर्डका कारण सम्झौता रोकिएको होइन, अब बल टेलिकमको कोर्टमा छ ।’ उता, नेपाल टेलिककमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकमका कारण सम्झौता नरोकिएको दावी गरिन । ‘हाम्रो कारण सम्झौता अघि नबढेको होइन, हामी तयारी गरिरहेका छौं’, वैद्यले भनिन् । तयारी कहाँ पुग्यो भन्ने प्रश्नको जवाफ थियो–‘अहिलेका लागि तयारी भैरहेको छ भन्ने मान्नुस् ।’ श्रोतका अनुसार नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको पदावधी र नयाँ सरकार गठनको कारण सम्झौता रोकिएको हो । वुद्धिप्रसाद आचार्यको कार्यकाल सकिनै लाग्दा सम्झौताको प्रक्रिया अघि बढेको थियो । सोही अवधीमा सरकार पनि परिवर्तन भयो । शेरधन राईका ठाउँमा राम कार्की सञ्चार मन्त्रालयको जिम्मेवारीमा आए । ‘एमडीको कार्यकाल सकिएको छ, नयाँ मन्त्री आएका छन् उनलाई ब्रिफिङ गर्नु पर्छ त्यसैले रोकिएको हो’,श्रोतले भन्यो । गाउँ गाउँसम्म आधुनिक सूचना प्रबिधीको पहुँच विस्तार गर्ने सरकारी योजना अनुसार ग्रामिण दुर सञ्चार कोषको रकम प्रयोग गर्नेगरि टेलिकमसँग प्रारम्भिक सम्झौता गरिएको थियो । मध्यपहाडी लोकमार्गको पुर्वी खण्ड अन्तर्गत पर्ने सो क्षेत्रमा सडक निर्माण भएका ठाउँमा अप्टिकल फाइबर बिछ्याइने र सडक निर्माण नभएका क्षेत्रमा माइक्रो वेभका माध्यमबाट इन्टरनेट सेवा विस्तार गर्ने योजना त्यसमा समावेश गरिएको थियो । टेलिकमसँग गरिएको सम्झौता अनुसार प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउन लाग्ने उपकरण खरिदको रकम, कामदार तथा जडान शुल्क टेलिकमलाई उपलब्ध गराउनु पर्ने थियो । परामर्श दाता लगायतको खर्च भने टेलिकम आफैंले व्यहोर्नु पर्नेछ । कति क्षमताको फाइबर बिछ्याउने ? मध्य पहाडी लोकमार्गमा बिछ्याइने अप्टिकल फाइबर ९६ कोर क्षमताका हुनेछन् भने जिल्ला सदरमुकाममा बिछ्याइने फाइबरको क्षमता ४८ कोर हुनेछ । नगरपालिका क्षेत्रमा बिछ्याउने अप्टिकल फाइबर भने २४ कोर क्षमताका हुनेछन् ।
भाइबरको ५२ देशमा नि:शुल्क फोनको अफर, राति ८ देखि १० बजेसम्म फोन गर्न मिल्ने
काठमाडौँ । भाइबरले ५२ वटा मुलुकमा नि:शुल्क फोनको अफर ल्याएको छ। मंगलबारदेखि आउँदो असोज ३ गते सम्मका लागि भाइबरले राति ८ बजे देखि १० बजेको बीचमा निःशुल्क फोन गर्ने अफर ल्याएको हो। यसअघि भाइबरले भूकम्पका बेला पनि नेपालीहरुलाइ निःशुल्क फोन सुविधा दिएको थियो। भाइबरले मोबाइलबाट ल्याण्डलाइनमा फोन गर्दासमेत निःशुल्क हुने जनाएको छ। उसले भनेको छ – ‘भाइबरबाट कल गर्दा तपाइँको मोबाइलमा इन्टरनेट कनेक्सन हुन भने जरुरी छ। डाटाको अथवा वाइफाइको शुल्क लाग्न सक्छ।’ फोन कल १० मिनेटभन्दा लामो भने गर्न पाइने छैन। यी देशमा नि:शुल्क अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्रुनइ, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यानमार, नेपाल र नेदरल्याण्डमा निशुल्क कुरा गर्न पाइने छ। त्यस्तै न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, ताजकिस्तान, थाइल्याण्ड, टर्की, दुबई, बेलायत, अमेरिका र भियतनाममा नि:शुल्क फोन गर्न सकिने भाइबरले जनाएको छ।
मोबाइल हब बन्दै सीटीसी मल, सीटीसीको आयोजनामा भदौ ३१ देखी मोबाईल एक्स्पो
काठमाडौं २२, भदौ । काठमाडौंको सुन्धारास्थित सीटीसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आएको छ । सीटीसी मोबाइल बजार बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तलामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गर्न सफल भएको हो । सीटीसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध रहेको ब्यबस्थापकले जानकारी दिएको छ । सीटीसी मलको पाँचौ र छैठौं तल्लामा २० भन्दा बढी मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । जसमध्ये हुवावे, माइक्रोम्याक्स, जियोनी, लाभा, एम आई, पानासोनिक, कार्वन, स्पाइस, ओविआई, रेज, केन्ट, सेलकन, टचकन, फ्लाई, विनकम, किवी लगायत ब्राण्डका मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । यस्तै सामसुङ्ग, लेनेभो, जोप्पो, सिजी र लक्ष्मी गु्रपबाट प्रबद्र्वित नयाँ मोबाइलको सर्भिस सेन्टर पनि छिट्टै सञ्चालनमा आउने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मलको तेस्रो र चौथो तल्लामा सबै ब्राण्डका मोबाइल पसलहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारका रुपमा चिनाउन र सबै मोबाइल प्रयोगकर्ताको सहजताका लागि मोबाइल बजार सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । नेपालमा प्रविधिको विकाससँगै बढ्दो मोबाइलको प्रयोग गर्ने आम नेपालीको अधिकार सुरक्षित गर्दै छिटपुट रुपमा रहेका मोबाइल बजारको विकल्पको रुपमा सीटीसी मोबाइल बजार सञ्चालनमा ल्याइएको पनि मोबाइल बजारका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार मोबाईल बजारले नेपालमा सञ्चालित सबै कम्पनीले विक्री गर्ने मोबाइलहरु सर्भिसका लागि विभिन्न तालिमहरु समेत दिने योजना रहेको छ । यसैबीच सीटीसी मोबाइल बजारको आयोजनामा आगामी भदौ ३१ गते मोबाईल एक्स्पो हुने भएको छ ।