जग्गासम्बन्धि सम्पूर्ण जानकारी एउटै एपमा, सरकारले ल्यायो ‘भूमी सुशासन’ एप
काठमाडौं । सरकारले भूमिसम्बन्धि सम्पूर्ण जानकारी दिने मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई नक्सा नामक कम्पनीले डेभलप गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धि सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुने छ । भूमिसम्बन्धि कानुनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए । मोवाईल एप्समा भूमि नापचाँज सम्बन्धि जानकारी समेटिएको छ । एप्समै मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने ब्यवस्था छ । सामान्य नागरिकले जग्गासम्बन्धि भोग्ने समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको छ । जग्गाबारे सर्बसाधारणमा बारम्बार उठ्ने जिज्ञासालाई समेटेर एकै ठाउँमा उत्तरहरु संकलन गरिएको छ । भूमिसम्बन्धी पदावलीहरुको अर्थ नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको छ । मालपोत र नापी कार्यालयको ठेगानासहितको विवरण त्यसमा समेटिएको छ । भूमिसम्बन्धि सेवा आम नागरिकको लागि अत्यावश्यक छ । यस एपमा भुमिसम्बन्धि कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवाहरु, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरिका र नापी क्यालकुलेटरसमावेश गरिएको छ । ‘यस एपबाट मालपोत, नापी र भूमिसुधार कार्यालयका मुख्य सेवाहरुको विवरण आम नागरिकले सजिलै प्राप्त गर्ने छन्,’ एप डेभपल गर्ने नक्साका संस्थापक उत्तम पुडाशैनीले भने, ‘यस एपमा राखिएको बडापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवाहरु, ती सेवा लिन आवश्यक कागजात, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारीको विवरण राखिएको छ । नागरिकले यस एपबाट आफ्नो प्रदेश, जिल्ला र वडा नम्बर राखेपछि आफूले सेवा लिने कार्यालयको बिवरण उपलब्ध हुने पुडाशैनीले जानकारी दिए । उनका अनुसार यस एपमा रहेको नापी क्याल्कुलेटरले जग्गाको लम्बाई, चौडाइ प्रविष्ट गराएर क्षेत्रफल विभिन्न एकाईमा परिवर्तन गर्न मिल्ने बनाइएको छ । यस एपको अर्को बिशेषता भनेको नेपालको प्रादेशिक र सबै ७ सय ५३ स्थानीय तहको नक्सा हेर्न पाउनु हो । ‘यस एपबाट हरेक नागरिकले सबै स्थानीय तहको नक्सा हेर्न पाउने मात्र हैन, डाउनलोड गर्न समेत सक्नेछन्,’ पुडाशैनीले भने ।
अब वायुसेवा निगमको टिकट ‘आइएमई पे’ बाटै किन्न सकिने
काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट अब ‘आइएमई पे’ बाटै किन्न सकिने भएको छ । आइतबार दुई कम्पनीबीच उक्त हवाई टिकट खरिद गर्न सकिने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट खरिद गर्न सक्नेछन् । आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा: आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
एनसेलद्धारा दुरसञ्चार सेवा शुल्क समायोजन, ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले यहि मंगलबार(अाज)बाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने घोषणा गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ । दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्य कर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा यहि श्रावण १ गते मंगलबार देखि नयाँ सेवा शुल्क लागु हुने जनाएको छ । नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ । साथै, आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले यहि श्रावण १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ । त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् । ‘‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मुल्य प्रदान गर्ने हाम्रो प्रतिवद्तालाई थप उजागर गर्दछ,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने । नयाँ डेटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजि डेटा भल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनि प्याक सुचारु गर्न सकिन्छ । नयाँ दुरसचार सेवा शुल्क लागु हुँदा मुल्यमा पर्ने असरलाई केहि कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिज प्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रति मिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डेटा सेवा अन्तर्गतको पे एज यु गो, सापटि तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन । भ्वाइस, डेटा लगायतका सबै सेवाको नयाँ शुल्क तथा योजनाको बारेमा सबै जानकारी एनसेलको आधिकारीक वेबसाइट www.ncell.axiata.com मा पनि उपलब्ध छ ।