टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा ७५ वटै जिल्लामा, सेवामा डाटा प्याकेज पनि
काठमाडौं, ११ कात्तिक । नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्टिरोपरयाबिलिटि फर माइक्रोवेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो । टेलिकमले २०७३ कात्तिक ७ गते देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको हो । नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशःबाँकि अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो । वाइम्याक्स सेवामा हाल निम्न अनुसारको डाटा प्याकेजः वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि सिपिइ (कस्टोमर प्रिमिसेस इक्विप्मेन्ट) खरिद गर्नुपर्छ । यो उपकरण आउटडोर, इनडोर र युएसवि डोनग्लि गरी तीन किसिमको हुन्छ । आउटडोर सर्भिसले टावर (बेस इस्टेसन) देखि १५ किलोमिटर, इन्डोर डिभाइसले ५ किलोमिटर र युएसवि डोनग्लिले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिन्छ ।
एनसेलले ल्यायो मोबाईल टिभी प्याक, अब मोवाईलबाटै अनलाइन टिभी हेर्न सकिने
काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित दुरसञ्चार क्षेत्रमा एउटा कोसेढुङ्गा स्थापना गरेको छ ।’ चाडपर्वको अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ । यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क ३५ रुपैयाँ तोकिएको छ । १ घण्टाको प्याकको ६० रुपैयाँ, २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः १०० रु १५० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएको कम्पनीले जनाएको छ । यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ । प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । ‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकितृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”
नेपाल टेलिकमको नयाँ एक्सचेन्ज रुपन्देहीको नहरपुरमा
काठमाडौं, १० कात्तिक । नेपाल टेलिकमले रुपन्देही जिल्लाको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने बताएका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताइन् । साथै थ्रिजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्याउन र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् । बुधबार उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन् । लामो समयदेखि प्रतिक्षारत ग्राहकले समेत सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले विभिन्न स्थानमा यस्ता एक्सचेन्ज स्थापना तथा सञ्चालन गर्दै आएको बताएको छ ।