नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न सूचना राजमार्ग, तीन वर्षपछि गति लियो

काठमाडौं २७, कात्तिक । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो । दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम ९सासेक० अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० साल भित्र सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो । तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएको छैन् । झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो । चार वर्षमा सूचना राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको परियोजनाका परामर्शदाता रामविक्रम दाहालले बताए । उनका अनुसार परियोजनालाई तीन भागमा बाँडेर निर्माण भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट ।

एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६ अवार्ड’

काठमाडौं, २५ कार्तिक । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसंचार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड एनसेललाई अन्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को एक भव्य समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिएको हो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । “ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विविध संचार सेवाको आवश्यकतालाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हर्षित छौं । यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,” पर्किन्सले भने । कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्ड भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो । “एनसेलको सफलता नेपालको सामाजिक तथा आर्थिक विकासका लागि काम गरिरहेका हाम्रा सम्पुर्ण कर्मचारी तथा साझेदारहरुको कठिन परिश्रम र समर्पणको फल हो । हामी हाम्रा ग्राहकहरुको भरोसा, प्रतिक्रिया तथा संलग्नताको लागि आभारी छौं, जसले गर्दा एनसेलले स्वदेशमा तथा विदेशमा विभिन्न सम्मान पाउन सफल भएको छ,’’ पर्किन्सले भने । एनसेल उत्कृष्ट तथा दिगो सेवा प्रदान गर्न कटिवद्ध रहेको कुरा पर्किन्सले बताए । सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाईल इन एमर्जन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स् विधा अन्र्तगत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाईल अवार्ड र गत महिना सिङ्गापुरमा फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।

टेलिकमको नाममा झुटो ‘लोटरी’ फैलियो, टेलिकमले भन्यो ‘सावधान’!

काठमाडौं, २३ कात्तिक। नेपाल टेलिकमले कुनै पनि प्रकारको लोटरी कार्यक्रम सञ्चालन नगरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । +९२३००५३५८६६४ जस्ता नम्वरबाट कल करी नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको लोटरी कार्यक्रममा ठूलो रकम परेको भन्दै बैंक खाता नम्वर माग्ने गरेको भन्दै त्यसबाट बच्न आग्रह गरेको हो । ‘रकम ट्रान्सफर गर्न भन्दै बैंक खाता,एटिएम पिन मागेर बैंकको रकम ठगि गरिएको पाइएको छ’ टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ । टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर यस्तो कार्यक्रम सञ्चालन नगरेकोले यस्ता ठगीबाट बेलैमा बच्न सतर्क गराएको हो ।