टेलिकमबाट ६ रुपैयाँमा ६० मिनेट कुरा गर्न सकिने, ६०० मा भ्वाइस र एसएमएस अनलिमिटेड
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा फोन र इन्टरनेट सेवामा विभिन्न छुट योजना ल्याएको छ । कम्पनीले भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । तर भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । डाटा प्याक अन्तर्गत प्रत्येक दिन ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । कम्पनीका अनुसार ६०० रुपैयाँमा १५ दिनसम्म जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । प्रत्येक दिन २ जीबी प्याक गरी १५ दिन समयावधिको ३० जीबी उपलब्ध गराउने भएको छ । सोही प्याक ७ दिन समयावधिका लागि ३०० मा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ । कम्पनीले आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान जनाएको छ । १००, २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत, ५००, १०००, को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जनाइन ।
छक्कापञ्जा टिमद्धारा मोबाइल सम्बन्धी पोर्टल ‘ग्याजेट फ्रेम’ सार्वजनिक
काठमाडैं । ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक भएको छ । सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’सहितको टिमले सार्वजनिक गरेको हो । ग्याजेट फ्रेम डटकममा हाल विश्वबजारमा उपलब्ध सबैजसो मोबाइल ब्रान्ड र तिनका प्रडक्टको पुरा विवरण समावेश गरिएको जानकारी कम्पनीका अध्यक्ष रामकृष्ण दाहालले दिए । ‘यी प्रडक्टबीच एक आपसमा तुलना गर्न मिल्ने, नेपालमा कति मूल्यमा उपलब्ध छन्, नजिकको कुन स्टोरमा पाइन्छ आदि जानकारी केही क्लिकको भरमै जानकारी प्राप्त गर्न सकिन्छ,’ उनले भने । यतिमात्रै होइन ग्राहकहरुले ग्याजेट फ्रेममार्फत् आफूलाई कति मूल्यसम्मका र कस्ता विशेषता भएका मोबाइल आवश्यक परेको छ, सोहीअनूरुप फोन छान्ने सुविधासमेत पाउने छन् । साथै पछिल्ला प्रडक्टको रिभ्यु, स्मार्टफोन र यससम्बन्धी समाचार र ब्लग, अन्तवार्ता, ग्याजेट टिप्स आदि पोर्टलमा समावेश गरिएको छ । ग्याजेट फ्रेममा स्टोरहरुलाई आफ्नो युजर आइडी खोल्ने सुविधा दिइएको छ, जसमार्फत् उनीहरुले आफ्नो पसलमा पाइने सम्पूर्ण सामानलाई सूचीकृत गर्न सक्नेछन् । उपभोक्ताले कुन स्टोरमा के के प्रडक्ट उपलब्ध छन्, यसका फिचर र अफर के के छन्, मूल्य कति छ, प्रडक्टको रेटिङ कस्तो छ आदि जानकारी एउटै प्लाटफर्मबाट लिन सक्दछन् । आगामी दिनमा अन्य इलेक्ट्रोनिक प्रडक्टहरुको जानकारीसमेत ग्याजेट फ्रेममार्फत् उपलब्ध गराई सम्पूर्ण ग्याजेटहरुको कप्लिट सोलुसन गाइडको रुपमा ग्याजेट फ्रेमलाई स्थापित गर्ने योजना कम्पनीको रहेको छ । वेब पोर्टल सार्वजनिक गर्दै छक्का पञ्जा चलचित्रकी निर्देशकसमेत रहेकी दीपाश्री निराैलाले प्रविधिको बजार बढेसँगै उपभोक्ताले अनलाइनबाटै सामान रोज्न र सही सूचना प्रदान गर्न ग्याजेट फ्रेम सफल हुनेमा विश्वास लिईन् । ‘अहिले मोबाइलबिना हाम्रो सास नै अगाडि बढ्दैन । फेसबुक, युट्युब र गुगल सर्चबिना खाएकै पच्दैन । यसलाई यति सजिलो बनाएको मोबाइल प्रविधिले नै हो,’ उनले थपिन्, ‘मोबाइल कस्तो बोक्ने र ठगिनबाट कसरी बच्ने जस्ता कुराको जानकारी पोर्टलले दिए मोबाइल बजारसमेत व्यवस्थित हुने छ ।’ उनीसहित कलाकार दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ले ग्याजेट फ्रेमको सफलताको शुभकामना दिनुका साथै आगामी २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र छक्कापञ्जा ३ हेर्न सम्पूर्ण दर्शकलााई आग्रह गरे । कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुना पाण्डे घिमिरे, टेक्सास कलेजका सिइओ भेषराज पोखरेल, आइसिटी एन्ड लेगल रिसर्चर हेमपाल श्रेष्ठ, एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीलगायतको समेत उपस्थिति रहेको थियो ।
सरकारी भुत्तानी विद्युतीय प्रणालीबाट मात्र गर्न अर्थ समितिको निर्देशन
काठमाडौं । बैंकको पंहुच भएका ठाउँमा विद्युतीय प्रणालीबाट भुत्तानीको व्यवस्था मिलाउन संसदीय समितिले अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ । अर्थ समितिको आइतबार बसेको बैठकले सरकारले गर्ने भुत्तानी चेकबाट नभई विद्युतीय प्रणालीबाट हुने गरी व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले बैंकको पंहुच भएको क्षेत्रमा तुरुन्त विद्युतीय भुत्तानी प्रणाली लागु गर्न भनेको छ । समितिले असारको अन्तिम साता मात्र आएर पुँजीगत खर्च हुने गरेको भन्दै मंसिरसम्म कुल बजेटको ६० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएको छ । यस्तै समितिले जेठसम्म ९० र असारमा १० प्रतिशत मात्र खर्च गर्न सरकारलाई भनेको छ । वित्तीय अनुसाशन कायम राख्न वित्तीय जवाफदेहिता विद्येयक तत्काल संसदमा पेश गर्न समितिको निर्देशन दिएको छ । समितिले चालु आर्थिक वर्षको विकास खर्चको प्रभावकारी कार्यान्वयनको योजना १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । बैंठकमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय भुत्तानी प्रणाली लागु गर्न र असार १५ पछि चेक काटे पनि भुत्तानी नहुने व्यवस्था मिलाउन माग गरेका थिए । पुँजीगत खर्च असारमा आएर बढी हुदा भ्रष्टचार मौलाएको भन्दै समितिले खर्च गर्न सरकारलाई नयाँ कार्यतालिका दिएको छ ।