सात वर्ष अघिदेखिको पहलमा बल्ल ल्यान्डलाइन टेलिफोन जडान

काठमाडौं। छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा  गरिएको हो । गाउँवासीको सुविधालाई लक्षित गरी उक्त टेलिफोन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएसएल इन्टरनेट सेवा जडान गरी टेलिकमले सेवा शुरु गरेको छ । अहिले १५ वटा लाइन जडानको प्रक्रियमा रहेको नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताउनुभयो । वर्षांदेखिको जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएपछि बजारमा खुलेका सरकारी तथा गैसरकारी कार्यालयलाई समेत सहज भएको छ। मोवाइलको सेवा भरपर्दो नहुने र ल्याण्डलाइन फोन समेत नभएका कारण कठिनाइ भोग्दै आएका यहाँका बासिन्दालाई उक्त फोन सेवाले सहज बनाएकोे स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए । फोनसँगै एडिएसएलको इन्टरनेट सेवा समेत पाइने भएपछि बजारवासी हर्षित छन् । रासस

६ महिनामा एप्पलको नाफा ११ अर्ब ५० करोड डलर, सेयर मूल्य ४ प्रतिशत बढ्यो

एजेन्सी । आईफोन निर्माता एप्पल इंकको नाफा ३० प्रतिशत बढेको छ । एप्पलको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । यो हालसम्मको सर्वाधिक नाफा हो । प्रक्षेपण भन्दा आईफोनको बिक्रीमा केही कमी आएपनि कम्पनीले नाफा बढाएको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ । “नाफाबाट हामी अति उत्साहित भएका छौ । चौथो त्रैमाशमा आम्दानी दोहोर अंकमा पुग्ने छ” एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिमी कुकले भने । एप्पले गत जुनको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ । नाफामा वृद्धि भएपछि अमेरिकाको सिलिकन भ्यालीमा रहेको प्रविधि कम्पनी एप्पलको सेयर मूल्य ४ प्रतिशत बढेर १९८ डलर पुगेको छ । एप्पलको नाफा बढेपछि सेयर लगानीकर्ता खुसी भएका छन् । यसले अर्बौ डलर बजार मूल्य बढाएको छ । अमेरिका र चीनबीचको जारी व्यापार युद्धले एप्पलका उत्पादन बिक्रीमा खासै फरक नपर्ने सीईओ कुकको भनाई छ । चीनको स्मार्टफोन उत्पादकले हुवावेले पनि एप्पलसंग टक्कर गरिरहेको छ । दक्षिण कोरियाको टिटान सामसुङ अझै पनि धेरै स्मार्टफोन बिक्री गर्नेमा परेको छ । उसले ७१ करोड ७५ थान सेट बिक्रीका लागि बजारमा गइसकेका छन् । हुवावे दोस्रो ५४ करोड २० लाख थान बिक्रीका लागि सिपमेन्ट भएको मोवाइल ट्रयाकर आईडीसीले जनाएको छ । विश्व मोवाइल बजारमा सामसुङको २०.९, हुवावेको १५.८ र १२.१ प्रतिशत आईफोनको बजार हिस्सा रहेको छ ।

अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीले ५०, १००, २००, ५०० र १००० रुपैयाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिन्छ । जीएसएम मोबाइलका ग्राहकहरुले *412*PIN Code# डायल गरेर पनि रिचार्ज गर्न सक्नेछन् । साथै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइट (http://webrecharge.ntc.net.np) मार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ । टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरहरु मार्फत यी सेवा प्रयोग गर्न सकिन्छ ।