जिएमई रेमिट र जीसीसी एक्स्चेञ्जबीच विप्रेषण सम्झौता
काठमाडौं । विदेशस्थित रेमिटान्स कम्पनी जीसीसी एक्स्चेञ्ज र जिएमई रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जीसीसी एक्स्चेञ्जको तर्फबाट संचालक यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । यससँगै अब युएईमा रहेको जीसीसी एक्स्चेञ्जको ५ ओटा शाखाहरुका साथै बेलायत, यूरोप र अन्य देशहरुमा रहेका नेपालीले जीसीसी एक्स्चेञ्जको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउन सकिनेछ । नेपालमा जिएमइ रेमिटसँग आबद्ध १५ हजार भन्दा बढी एजेन्टहरुबाट जीसीसी एक्स्चेञ्ज मार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले व्यवस्था रहेकोछ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ । जिएमइ रेमिटले आफ्ना ग्राहकलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।
सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अब अनलाइनबाटै, कसरी लिने सेवा ?
काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर/राजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था शुरु गर्न लागेको हो । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले शुत्रबार बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् । कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने जनाइएको छ । उद्घाटन पश्चात उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुनेछ । विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) समेत तयार पारिसकेको छ । सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तर बैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर आनलाईमार्फत भुक्तानी गर्दा लाइनमा बस्नुपर्ने बाध्यता हटेको बताउँछन् । पहिलो चरणमा बाग्मती प्रदेशमा उक्त सिष्टम लागु भएतापनि विस्तारै अन्य प्रदेशका यातायात कार्यालयमा लागू गरीने जनाइएको छ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको थियो । नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको थियो । पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् ।
ह्याकरले धम्की दिए जस्तै बैंकको सिस्टम ह्याक गरेर पैसा निकाल्न कत्तिको सहज छ ?
काठमाडौं । ह्याकरको एक समुहले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल र सहप्रवक्ता नारायण प्रसाद पोखरेललाई म्यासेज गरी नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरेको जानकारी गरायो । ढकाल नेपाल राष्ट्र बैंकका प्रवक्ता पनि हुन् । ढकाल र पोखरेलले प्राप्त गरेको म्यासेजमा ह्याकरले ‘राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरेको र यो सन्देशलाई मजाकको रुपमा नलिन’ चेतावनी पनि दिइएको छ । भाइरमा म्यासेज र फोनसमेत आएपछि राष्ट्र बैंकका अधिकारीहरु आत्तिए । आफ्नो आईटी टीमलाई तत्काल खबर गरेर सिस्टम हेर्न भनियो । र, सँगै बैंक तथा वित्तीय संस्थाहरुलाई सजग रहन भनियो । त्योभन्दा अघि नै बैंकरहरुबीच सोही म्यासेज ‘भाइरल’ भइसकेको थियो । उनीहरु सतर्क भइसकेका थिए । तर, प्रारम्भिक अध्ययनले राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम अहिलेसम्म सुरक्षित रहेको देखाएको छ । यसरी धम्की दिने समुह वा व्यक्तिको पहिचान भने भएको छैन । कति सहज छ सिस्टम ह्याक गर्न ? नेपालका अधिकांश बैंकहरुले कोर बैंकिङ कार्यको लागि भारतीय कम्पनीले बनाएको फिनाकल सफ्टवयर प्रयोग गर्ने गरेका छन् । केही बैंकहरुले पुमरी सफ्टवयर पनि प्रयोग गर्ने गरेका छन् । बैंकहरुले बैंकिङ कार्यको लागि प्रयोग गर्ने मुख्य सफ्टवरलाई ‘कोर बैंकिङ सिस्टम’ (सीबीएस) भनिन्छ । नेपालका बैंकहरुमा कार्यरत आईटी विज्ञहरु सीबीएसमा कुनै पनि प्रकारको ह्याकिङ सम्भव नभएको बताउँछन् । तर, बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक बैंकिङका लागि प्रवाह गर्ने थप सेवा र शाखा संजाल संचालनको लागि प्रयोग गरिएको ‘पब्लिक डोमन’का कारण साइबर सुरक्षा चुनौति थपिदै गएको छ । ‘सीबीएसमा ह्याक सम्भव छैन तर, हामीले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा क्युआर कोड जस्ता थप सुविधाको माध्यमबाट ह्याकरले सीबीएसमा पहुँच पुर्याउन सक्छन्, बैंकिङ सेवा जति प्रविधिमैत्री र सेवाग्राहीमैत्री बन्दैछ, साइबर सुरक्षा चुनौति पनि त्यति नै बढ्दो क्रममा छ,’ एक बाणिज्य बैंकको आइटी विज्ञले विकासन्युजसँग भने । शाखा संजालमा पब्लिक डोमेन प्रयोग गर्नु पर्दा साइबर सुरक्षा चुनौति थप हुँदै गएको उनको भनाई छ । ‘बैंकहरुले आफ्ना सबै सुचना तथा जानकारीहरु आफ्ना डेटा सेन्टरमा राखेका हुन्छन्, कुनै पनि ग्राहक पैसा राख्न वा झिक्न बैंकमा आउनु भयो भने उहाँलाई सेवा दिनको लागि पहिला राखिएका सुचना तथा जानकारी पब्लिक डोमेन (वल्डलिंक, मर्कन्टायल अफिस सिस्टम, सुविसु जस्ता इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेटको माध्यम) प्रयोग गरेर ल्याउनु पर्छ, यो भनेको सार्वजनिक सडकमा हिड्दाको जस्तै जोखिम हो, जस्तो कि तपाईं सडकमा हिडिरहनु भएको छ भने तपाईंमाथि भौतिक आक्रमणको सम्भावना हुन्छ भने जस्तै हो,’ ती आईटी विज्ञले थपे । ह्याकरको धम्की कत्तिको विश्वासिलो ? नेपाल राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम चोरी गर्ने धम्कीले नडराउन नेपाल राष्ट्र बैंकले भनेको छ । आफ्नो सिस्टममा कुनै पनि चुनौति नभएको र नेपालका बैंकहरुको सिस्टम ह्याकरले दाबी गरे जस्तो कमजोर नभएको राष्ट्र बैंकको भनाई छ । तर, बैंकरहरु भने यो धम्कीलाई कमजोर आँक्न नहुने बताउँछन् । ‘बच्चाहरु एकापसमा खेल्दा ‘तँलाई मारिदिन्छु नि’ भनिरहेका हुन्छन्, बच्चाले यस्तो भनेको हामीले सुन्यौं भने त्यसो भन्नु हुँदैन भनेर उनीहरुलाई सम्झाउँछौं तर, कुनै अपरिचित वा परिचित व्यक्तिले फोन गरेर वा भेटेर हतियार देखाउँदै तँलाई मारिदिन्छु भन्यो भने हामीले राज्यसँग सुरक्षाको अपेक्षा गर्छाैं, अहिले आएको धम्की बच्चाहरुले मारिदिन्छु भने जस्तो पनि हुन सक्छ, वा गुण्डा तथा आतंककारीहरुले मारिदिन्छु भनेर दिएको धम्की जस्तै पनि हुन सक्छ, त्यसैले सतर्क हुनुको विकल्प छैन, हलुका रुपमा लिनु हुँदैन,’ अर्काे एक वाणिज्य बैंकका आईटीविज्ञले भने । स्वीफ्टदेखि एटीएम ह्याकसम्मको नजिर नेपालको बैंकिङ प्रणालीमा ह्याकरले पैसा चोरेको अनुभव नौलो छैन । विगतमा ह्याकरले स्वीफ्ट र एटिएम ह्याक गरेर पैसा चोरेको नजिर नेपालमै छ । २०७४ कात्तिक दोस्रो साता एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक गरी ४१ लाख अमेरिकी डलर चोरी भएको थियो । सो वर्षको कुकुर तिहार र लक्ष्मी पुजाको दिन पारेर ह्याकरले एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक गरी अमेरिका, जापान, जर्मनी, सिंगापुर, मलेशिया लगायतका देशका बैंक खातामा रकम पठाएका थिए । यसरी ह्याक गरिएको अधिकांश रकम पछि फिर्ता भएको थियो । रकम फिर्ता गर्नको लागि नेपाल राष्ट्र बैंकले ती देशका केन्द्रीय बैंकहरुलाई पत्राचार गरी सहजीकरण गरेको थियो । स्वीफ्ट ह्याक गरेर रकम चोरी भएको नेपालमा यो नै पहिलो पटक थियो भने त्यसपछि यसरी रकम चोरी भएको सार्वजनिक भएको छैन । २०७६ भदौ दोस्रो साता यस्तै अनौठो घटना भएको थियो । सो समयमा चिनियाँ नागरिकको एक समुहले भिसा कार्ड ह्याक गरी रकम नक्कली एटीएम कार्डबाट रकम झिकेका थिए । ती ह्याकरले प्रभु, एनआईसी एसिया लगायतका बैंकको एटीएम कार्डको विवरण प्राप्त गरी नक्कली कार्ड बनाएर नविल लगायतका बैंकको एटीएम बुथबाट रकम निकालेका थिए । उनीहरुले १ करोड ७० लाख रुपैयाँको हाराहारीमा रकम चोरी गरेका भएपनि अधिकांश रकम प्रहरीले बरामद गरेको थियो । केही ह्याकर भने हेलिकोप्टर चार्टर गरी रसुवा पुगेर त्यहीबाट चीन प्रवेश गरेका थिए । यसरी भागेका ह्याकरले भने नेपाली बैंकबाट चोरेको रकमबाट ठमेल लगायत क्षेत्रबाट अमेरिकी डलर तथा चिनियाँ मुद्रा साटेको र केहीले नेपाली बजारमै सुन खरिद गरेर भागेको तथ्य फेला परेको थियो । यसरी रकम चोरी गर्ने कार्यमा संलग्न धेरैलाई प्रहरीले पक्राउ गरेको थियो ।