सबै स्वास्थ्यकर्मीलाई टेलिकमले एक महिना नि:शुल्क भ्वाइस कल उपलब्ध गराउने

काठमाडौं । कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । टेलिकमले बिरामीको सेवामा दिनरात खटिरहेका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि उक्त अफर उपलब्ध गराउने भएको हाे । आएतबार टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिङ्ग परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच उक्त अफर सम्बन्धी सम्झाैता भएकाे हाे । यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेकाे आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्न सक्नेछन् । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहनेछ । कम्पनीकाे अनुसार स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरु (नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइने छ । स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिनेछ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने टेलिकमले जनाएकाे छ ।

अवैध भित्रिएका मोबाइल प्रयोगमा रोक लगाउने कार्यक्रम अलपत्र, ८० करोडका उपकरण बेवारिसे

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्षको पुस महिनामा सञ्चालनमा ल्याइसक्नुपर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडानको काम अझै सम्पन्न हुन सकेको छैन । गत वर्षको पुस १६ गतेदेखि नेपालमा अबैध रुपमा भित्रिएका मोवाइल फोनको प्रयोगमा रोक लगाउन एमडीएमएस जडान भइसक्नुपर्नेमा हालसम्म जडान हुन सकेको छैन । एमडीएमएस जडाको तयारी भएको चार वर्ष र सम्झौता भएको २३ महिनासम्म उक्त प्रविधि जहान हुन नसक्दा नेपालमा अवैध फोनको प्रयोेगमा बृद्धि भइरहेको छ । प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आबेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पनिले ६ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । जसमा ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीलाई एमडीएमएस जडान गर्न ८० करोड बराबरको ठेक्का दिईएको थियो । सम्झौता भएको मितिले ६ महिनाभित्र अर्थात गत वर्षको पुस महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नपर्ने हो । तर गत वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञालाई देखाउँनै जडानको काम रोकिएको छ । २०७३ साल बैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको छ । पहिलो चरणमा आईएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने जनाएको थियो । ६ महिनाभित्र आवश्यक सम्पूर्ण उपकरण जडान गर्न सम्झौता भएअनुसार निर्माण कम्पनीले आवश्यक उपकरण ल्याएको लामो समयपछि प्राधिकरणले भवन निर्माणकोे तयारी थालेको थियो । पुस महिनामा उपकरण जडान गरिसक्नुपर्नेमा प्राधिकरणले गत माघ महिनामा चावहिलमा भवन निर्माणको तयारी गरेको थियो । प्राधिकरणले उपकरण राख्नका लागि भवन उपलब्ध गराउन नसक्दा उक्त सिस्टम जडानका लागि ल्याईएको उपकरण लामो समयदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको भवन सिंहदरबारमा राखिएको छ । प्राधिकरणको वेवास्ताका कारण नेपाल भित्रिएको उपकरणहरु ९ महिनासम्म भन्सारमा नै रोकिएको थियो । प्राधिकरणले सम्झौता गरेअनुसार भवन तयारी अवस्थामा नराख्दा भन्सार हुँदै सिंहदरबारमा उपकरण थन्किएका छन् । कोरोना महामारीका कारण सबै तयारी गर्न नसक्दा सिस्टम जडानमा ढिलाइ भएको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्र बताउँछन् । ‘कोरोनाका कारण एमडीएमएस सिस्टमको लागि आवश्यक पर्ने प्रणाली र मेलिसियाबाट आउने विज्ञ उडान बन्दहुँदा उतै रोकिए, उपकरण र प्राविधिक रोकिदा सिस्टम जडान र सञ्चालन गर्न कठिनाई सगैँ सयम थपियो’, उनले भने, ‘पहिलो लटमा आएका उपकरणको सूचना प्रविधि केन्द्रको भवनमा टेस्टिङ भैरहेको छ, चावहिलमा घर बन्नासाथ जडान हन्छ ।’ उनका अनुसार प्राइमरी उपकरणहरु प्राधिकरणको चावहिलमा बन्ने नयाँ भवनमा राखिनेछ भने सेकेण्डरी उपकरण सूचना प्रविधि केन्द्रमा जडान भइसकेको छ । चार वर्षदेखिको तयारी २०७४ साल वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा १३ वटा कम्पनीको आबेदन परेको थियो । आबेदन परेका मध्येबाट प्राधिकरणले न्युमेरा मलेसियासहित ओएसआई डिजिटल भारत र नमस्ते ग्लोबल कम्युनिकेसनको जोइन्ट भेन्चर (जेभी) लाई प्रस्ताव गरको रकम घटाउन लगाई सम्झौता गरेको थियो । मिश्रका अनुसार कोरोना महामारीका कारण तोकिएको समयमा उपकरण जडान हुन सकेन । भवन करिव तयारी अवस्थामा रहेको छ । निषेधाज्ञा खुला भएर अन्तराष्ट्रिय उडान सुचारु भएपछि उपकरण जडानको काम सुरु हुन्छ । सम्झौता अनुसार न्युमेरा मलेसियासहित ओएसआई डिजिटल भारत र नमस्ते ग्लोबल कम्युनिकेसनको जोइन्ट भेन्चर (जेभी) ले धेरै उपकरण ल्याइसकेको छ, उक्त कम्पनीले भवन निर्माण सकिएपछि थप उपकरण र प्राविधिक ल्याएर सिस्टम जडान गर्ने जनाएको उनी बताउँछन् । दिनदिनै मोबाइल फोनको मागमा बृद्धि भएपनि भन्सारको तथ्यांकमा कम देखिनुको प्रत्यक्ष कारण अबैध रुपमा धेरै भित्रिएको बुझिने व्यवसायीहरु बताउँछन् । पछिल्लो समय मोबाइल फोनको माग सगैँ अबैध फोनहरु भित्रने गरेतापनि नियामक निकायको रुपमा रहेको प्राधिकरणका कर्मचारीको मिलोमोतोमा एमडीएमएस जडान नगरिएको व्यवसायीहरुले आरोप लगाउँदै आएका छन् ।

घरबाटै काम गर्नेलाई टेलिकमले यसरी दिँदै छ विभिन्न सेवा

काठमाडाैं । निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम हाेम, अनलाइन क्लासेस्, वेविनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि सेवाहरु रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेका छन् । भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन सकिन्छ । व्यालेन्स ट्रान्सफर नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ । रिचार्ज कार्डको प्रयोग बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ । गिफ्ट प्याकेज नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ । नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ । यसैगरी याे लिंकमा गएर पनि रोजिएका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिंदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट व्यालेन्स रकम काटिन्छ । मोबाइल बैंकिङ हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । अनलाइन रिचार्ज बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ । यसका लागि याे लिंकको प्रयोग गर्नुपर्दछ । यही लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ । विभिन्न डिजिटल वालेटको प्रयोग नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित ई-सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ । एमपोस पिनलेस रिचार्ज नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै: स्टेसनरी पसल)ले ग्राहकको मोबाइलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन् । सेल्फ केयरको प्रयोग नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ । रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ । सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध व्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।