नेसनल आईसीटी अवार्डबाट पराजुली सम्मानित
काठमाडौं । नेसनल आईसीटी एक्सिलेनस अवार्डबाट सुधिर पराजुली सम्मानित भएका छन् । चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले पराजुलीलाई सो अवार्ड प्रदान गरेका हुन् । पराजुलीले सम्मानस्वरूप प्रमाणपत्र सहित लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवाप्रदायक सुबिसुका तथा इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष समेत हुन् । यस्तैगरी, सरकारले प्राइभेट (निजी) क्षेत्रबाट ह्वावे टेक्नोलोजी नेपाल कम्पनी प्रालि नेसनल आइसिटी अवार्डले सम्मानित गरेको छ । सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट कार्य गरी सहयोग पु¥याएको भन्दै ह्वावेलाई यस्तो सम्मान प्रदान गरिएको हो । कुशुम लामा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित भएकी छिन् । सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तार अभियानमा विशिष्ट योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । त्यस्तै महालेखा नियन्त्रक कार्यालय पब्लिक सेक्टरतर्फबाट सम्मानित भएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगबाट अधिकतम रुपमा सार्वजनिक सेवा प्रवाह गरेको भन्दै कार्यालयलाई यस्तो सम्मान दिइएको हो ।
प्रधानमन्त्री ओलीले अनलाइनबाटै खोले नेपाल र सिद्धार्थ बैंकमा खाता, सवारी कर पनि अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले चौथो सूचना प्रविधि दिवस मनाएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै मन्त्रालयले अनलाइनमार्फत नै साे दिवस मनाएको हो । सूचना प्रविधि दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रमहरुको सुभारम्भ गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनमार्फत नेपाल र सिद्धार्थ बैंकमा खाता खोलेका छन् । अब सर्वसाधारणले पनि अनलाइनमार्फत नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सक्नेछन् । यस्तै, प्रविधि दिवसको अवसरमा नागरिक एपको पनि आज औपचारिक रुपमा शुरुवात गरिएको छ । यस्तै, सरकारले आजैदेखि फाइभ जीको परीक्षण शुरुवात गरेको छ । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री अनलाइनबाटै अब सवारी साधनवापतको कर बुझाउन सकिने गरी सेवा शुरुवात गरिने जानकारी दिए । यो सेवा कानून पारित भएसँगै त्यसको पनि शुरुवात गरिने जानकारी दिए । यस्तै, नेपाल टेलिकमको डिजिटल पेमेन्ट ‘नमस्ते पे’को पनि परीक्षण शुरुवात गरिएको मन्त्री गुरुङले बताए । उनले अब अब पत्रकारहरुले पनि अनलाइनमार्फत नै सूचना तथा प्रसारण विभागको पास नवीकरण गर्न सकिने बताएका छन् ।
कर्मचारीमा कोरोना देखिएपछि दूरसञ्चार प्राधिकरणको सबै सेवा अनलाइनमार्फत सुरु
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो । प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताउँछन् । ‘हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं । यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छ । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ’, उनले भने । ‘प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ । अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै आजदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको हो’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए । यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ । रासस