६ महिनाभित्र फाइभजी सञ्चालनमा आउने, गण्डकी र लुम्बिनीमा ब्रोडब्यान्ड विस्तार गर्न टेलिकमलाई जिम्मा

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा ब्रोडब्यान्ड विस्तार गर्ने महत्त्वपूर्ण परियोजनाको जिम्मेवारी नेपाल टेलिकमलाई दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच उक्त परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   प्राधिकरणले टेलिकमलाई यो परियोजना निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यसअघि यूटीएललाई यो परियोजना दुई अर्ब एक करोड रुपैयाँमा दिइएको थियो । १० वर्षअघि परियोजनाको कुल दूरी २ हजार १ सय १७ किलोमिटर रहेकोमा यसबिचमा टेलिकमले आफ्नो नेटवर्क विस्तार गरेकाले अब १ हजार ९ सय १५ किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्ने छ । दूरी घटेसँगै परियोजनाको लागत पनि कम भएको प्राधिकरणले जनाएको छ । समझदारी अनुसार टेलिकमले यो वर्षबाट काम थालेर आगामी तीन वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत दुई प्रदेशका २३ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं र पोखरामा फाइभजी सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा ८ प्रतिशतबाट ३० प्रतिशत पु¥याउने र पारदर्शिता तथा जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्ने बताए । यस्तै, मन्त्री गुरुङका अनुसार लागत घटाउन तराईको सट्टा प्राकृतिक रूपमा चिसो र जलविद्युत नजिक रहेका पहाडी क्षेत्रमा डाटा सेन्टरहरू निर्माण गरिनेछ ।  साइबर अपराध, दुर्व्यवहार र गलत सूचना नियन्त्रण गरी सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जालको नियमन आवश्यक रहेको तर यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारको रूपमा बुझ्न नहुने उनको भनाइ छ। विगतमा हुने गरेका ‘कोठे सम्झौता’ को परम्परा तोड्दै यो कार्यक्रमलाई सार्वजनिक रूपमा आयोजना गर्नुको मुख्य उद्देश्य पारदर्शिता सुनिश्चित गर्नु र सम्बन्धित निकायलाई जनताप्रति प्रत्यक्ष जवाफदेही बनाउनु रहेको उनको भनाइ छ ।  मन्त्री गुरुङले भने, ‘यो कुनै नाटक होइन । ठेकेदार, इन्जिनियर र सरकारी अधिकारीलाई जनताको अगाडि उभ्याउँदा उनीहरूमा नैतिक दबाब सिर्जना हुन्छ र जिम्मेवारी बोध बढ्छ । साँचो लोकतन्त्र भनेको यही हो । ’ विगतमा निजी कम्पनीहरू (यूटीएल र स्मार्ट) ले यी प्रदेशमा काम अलपत्र पारेर भागेको तितो अनुभवका कारण यसपटक सरकारी स्वामित्वको नेपाल टेलिकमलाई नै विश्वास गरिएको मन्त्री गुरुङको भनाइ थियो ।   ‘टेलिकमले काममा ढिलाइ गरे पनि जिम्मेवारीबाट भागेको छैन । त्यसैले लामो प्रक्रियामा अल्झिनुभन्दा उसैलाई कमजोरी सुधार्ने अवसर दिएका हौं,’ उनले भने ।  यो ब्रोडब्यान्ड विस्तार परियोजनालाई ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनको एक महत्त्वपूर्ण कडीको रूपमा लिइएको छ । यसले घर–घरमा इन्टरनेट पुर्‍याएर ई–गभर्नेन्स लागू गर्न, राजस्व वृद्धि गर्न, सेवा प्रवाह छिटो बनाउन र भ्रष्टाचार न्यूनीकरणमा सघाउने विश्वास व्यक्त गरिएको छ ।  संयुक्त राष्ट्रसंघले समेत इन्टरनेट पहुँचलाई मौलिक अधिकार मानेकाले सबै नागरिकसम्म यो सुविधा पु¥याउनु सरकारको दायित्व भएकोमा जोड दिइएको छ । 

माघभित्रै फाइभजी लञ्च हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्रै फाइभजी लञ्ज हुने बताएका छन् । उनले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।  गुरुङका अनुसार काठमाडौं र पोखरामा पहिलो चरणमा फाइभजी सार्वजनिक हुनेछ । २ हजार ६०० मेगाहर्ज स्पेक्ट्रममा फाइभजी लञ्च हुन लागेको हो ।

स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न, दुई नवीनतम सेवा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २४औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे । विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी- युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ सेवा (स्मार्ट बैंकिङ, अन्तर बैंक भुक्तानी सेवा (स्मार्ट पे), क्युआर भुक्तानी सेवा (स्मार्ट क्यूआर) र मर्चेन्ट व्यवस्थापन सेवा (स्मार्ट एमएमएस) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे ।  वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीतम सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे ।  स्मार्ट क्यूआर साउन्डबक् स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा हो जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन् ।  स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डमार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्। साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसनलगायतका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।